Comments Add Comment

बासमती विवाद : यस्ता छन् नेपालले ईयूमा पेश गरेका १३ तर्क

२५ मंसिर, काठमाडौं । बासमती धान र चामलको भौगोलिक एकाधिकारमा भारतको दावीबिरुद्ध नेपालले पठाएको विरोधपत्र यूरोपियन यूनियन (इयू) को मूख्यालयमा पेश भएको छ ।

बुधबार साँझ इमेलमार्फत पठाइएको सो पत्र प्राप्त गरेको जानकारी इमेलमार्फत इयूले गराएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जनाएको हो ।

‘नेपालको दाबी–बिराधको पत्रलाई नोटिस गरेको इमेल प्राप्त भएको छ,’ नार्कका कार्यकारी निर्देशक डा. दीपक भण्डारीले भने । नेपाल सरकारको तर्फबाट डा. भण्डारीले दावी विरोध पठाएका थिए ।

भारतीय दावी खारेज गर्न नेपालले पत्रमा १३ वटा तर्कहरु पेश गरेको नार्कका वरिष्ठ वैज्ञानिक डा.बालकृष्ण जोशीले बताए । ती कारणहरुलाई इयूले जानकारीमा लिएसँगै अबको दुई महिनाभित्र १३ वटै तर्कहरु प्रमाणित हुने तथ्य इयूमा बुझाउने गरी तयारी भइरहेको जोशीको भनाइ छ ।

के छ पत्रमा ?

नार्कले नेपालमा सदियौंदेखि बासमती धान उत्पादन र उपभोग हुने गरेको जनाएको छ । नेपालसँगै तराई क्षेत्रमा बासमती धान उत्पत्ति भएको र निश्चित भूभागमा बर्षौंदेखि खेती भएको पुष्टि गर्ने यथेस्ट प्रमाणहरु रहेको नार्कका कार्यकारी निर्देशक भण्डारीले बताए ।

‘बासमती धानको उत्पत्तिको एक प्रमुख क्षेत्र नेपालको दक्षिणमा अवस्थित तराई क्षेत्र पनि हो भनि उल्लेखित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको अनुसन्धानपत्र प्रकाशित छ,’ डा. भण्डारीले भने । नेपालको सामाजिक र सांस्कृतिक पक्षसँग बासमती धान जोडिएको प्रमाण पनि नेपालसँग भएको पत्रमा उल्लेख छ ।

सो पत्रका अनुसार बासमती धानका चारवटा जातहरु नेपाल सरकारको राजपत्रमा नै प्रकाशित छन् । नार्क अन्तर्गतको राष्ट्रिय जिन बैंकले करिब २५ वटा रैथाने बासमती धानका जातहरु बिगतदेखि नेपालका विभिन्न क्षेत्रबाट संकलन गरेर सुरक्षित राखेको छ्र । नेपालका विभिन्न स्थानबाट सन् १९७० देखि संकलन गरिएका ४७ वटा रैथाने बासमती धानका जातहरु नार्कले अन्तराष्ट्रिय जिन बैंकमा सुरक्षितसँग राख्ने व्यवस्था गरेको प्रमाण पनि नेपालसंग रहेको नार्कले जनाएको छ ।

यी हुन् नेपालका १३ तर्क

१. नेपालको सामाजिक र सांस्कृतीक पक्षसंग बासमती धान जोडिएको छ ।

2. नेपालमा सदीयौंदेखि बासमती धान उत्पादन र उपभोग हुने गरेको या त्यस्ता प्रमाणहरु पाइन्छ्रन् ।

३. बासमती धान नेपालमा उत्पति भएको र निश्चित भूभागमा बषौंदेखि खेति भएको पनि यथेस्ट प्रमाणहरु छन् । यो धानको उत्पतिको एक प्रमुख क्षेत्र नेपालको दक्षिणमा अवस्थित तराई क्षेत्र पनि हो भनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वैज्ञानिकहरुले अनुसन्धान पत्र प्रकाशित गरेका छन् ।

४. नेपालका लोकल बासमती धानका विभिन्न जातहरुको नार्कले मर्फोलोजी, डीएनए तथा आइसोजाइम टुल्सको मद्दतले चरित्र चित्रण गरिसकेको छ ।

५. बासमतीको अर्थ बासना दिने धान र चामल हो । नेपालमा विभिन्न थरिका बासना आउने धान र चामलका रैथाने जातहरु पाइन्छ ।

६. बासमती धानको सम्बन्धमा सन् १९६० मा र त्यसअघि पनि अध्ययन भएको प्रमाण नेपालसंग छ ।

७. बासमती धानका चार वटा जातहरु नेपाल सरकारको राजपत्रमा नै प्रकाशित छन्

८. बासमती धान र यसको प्रजातिबारे धेरै जर्नल, बुक तथा बुकलेटहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रकाशित भएका छन् ।

९. सामुदायिक बिउ बैंकहरुले बागमति धान र चामललाई नेपालका विभिन्न ठाउँमा प्रवर्द्धन गरेका छन् ।

१०. नेपालका थुप्रै स्थानीय मिलहरुले बासमती धान र चामलको ब्राण्ड नै बनाएर लामो समयदेखि बिक्री–वितरण गरिरहेका छन् ।

११. नेपालका विभिन्न स्थानबाट सन् १९७० देखि संकलन गरिएका ४७ वटा रैथाने बासमती धानका जातहरु नार्कले अन्तर्राष्ट्रिय जिन बैंकमा सुरक्षितसँग राख्ने व्यवस्था गरेको छ्र ।

१२. नार्क अन्तर्गतको राष्ट्रिय जिन बैंकले करिब २५ वटा रैथाने बासमती धानका जातहरुको बिगत कैयौं वर्षदेखि नेपालका विभिन्न क्षेत्रबाट संकलन गरेर लामो अवधिको लागि सुरक्षित गरेर राखेको छ ।

१३. नेपालको निश्चित भौगोलिक क्षेत्रको गुण बासमतीको गुणस्तरसंग जोडिएको छ । जस्तो की पोखरामा फलेको जेठो बुढो बासमती धान र काठमाडौंमा फलेको जेठो बुढो बासमती धानको स्वाद अलग अलग हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment