Comments Add Comment

अब ओलीसँग कानेखुसी गरेर पार्टी चल्दैन : प्रचण्ड

२६ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब कानेखुसी गरेर पार्टी नचल्ने बताएका छन् ।

बागमती प्रदेशका प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट जिल्ला इञ्चार्ज, अध्यक्ष र सचिवहरुको भर्चुअल भेला भएको थियो । बिहीबार भएको गरिएको भर्चुअल भेलालाई सम्बोधन गर्दै प्रचण्डले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमा कानेखुसी गर्न रुचाउने प्रवृत्ति देखिएको बताएका थिए ।

भेलामा सहभागी एक नेताका अनुसार प्रचण्डले अब ओलीसँग एक्लाएक्लै बस्ने र कानेखुसी गरेर अगाडि नबढ्ने बताएका छन् । ‘पार्टी कमिटीको बैठक राखेर निर्णय लिनेभन्दा पनि कानेखुसी गरेर अगाडि जाऔं भन्नेमा केपी ओली कमरेडको धेरै जोड देखिन्छ । तर त्यसरी नहुने रहेछ’, प्रचण्डले भनेका छन् ।

सचिवालयकै नेताहरु कानेखुसीको नीति अवलम्बन गर्ने र धोका दिने प्रवृत्ति ओलीमा रहेको उनले बताए ।

‘अब कानेखुसी गरेर होइन, पार्टीका नेताहरुसँग छलफल गरेर सहमति निकालेर अगाडि बढ्नुपर्छ । बैठकले निर्णय गर्ने र नेतृत्वले कार्यान्वयन गर्नेतिर जानुपर्छ’, प्रचण्डले बताए । ओलीको व्यवहारले आफू दिक्क भइसकेको उनले बताए ।

प्रचण्डसँगै नेता नेपालले पनि सम्बोधन गरेका थिए । पहिले दुई अध्यक्ष मिलेर आफूलाई अल्पमतमा पारेको सम्झदै नेता नेपालले ‘दुई अध्यक्षको चोचोमोचो’ले संकट आएको बताए । ‘पहिले पनि भनेको थिए । दुई अध्यक्षले गरेपछि भइहाल्यो भनेर हुन्न । पार्टी कमिटीले पार्टी चलाउने हो’, नेपालको भनाइ थियो ।

नेता नेपालले प्रचण्डलाई पहिले पनि ओलीबाट धोका पाउनु हुन्छ भनेर जानकारी दिएको बताए ।

मंसिर २१ मा सुरु भएको स्थायी कमिटी बैठक आइतबारसम्म स्थगित भएको छ । त्यो बीचमा आन्तरिक कलह सुल्झाउन अनौपचारिक पहल गर्ने भनिएपनि ओली र प्रचण्डबीच एक पटकमात्रै भेटवार्ता भएको छ ।

ओली र नेपालबीच भने सम्वाद नै हुन सकेको छैन । बरु ओली र नेपाल पक्षका विद्यार्थीहरुले देशभर भेला गरिरहेका छन् भने पार्टी नेताहरुको पनि गुटगत छलफल चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment