+
+

माननीयहरुको द्रव्य मोह : अर्बपति नै लिन्छन् मासिक नौ हजार घर मर्मत खर्च

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७७ मंसिर २७ गते २०:४०

२७ मंसिर, काठमाडौं । संघीय साँसद समेत रहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको ठमेल, चाक्सीबारीस्थित घरलाई दरबार वा महल भन्दा फरक पर्दैन । त्यस ‘सिंह महल’मा नेपाल इनभेष्टमेन्ट बैंक र विदेशी पर्यटक लक्षित पसलहरु भाडामा संचालित छन् ।

तिनै नेता सिंहले आवास मर्मत सुविधा वापत सरकारबाट मासिक ९ हजार रुपैंया लिइरहेका छन् । उनले यो सुविधा प्रचलित ऐनकानुन अनुसारै लिएका हुन् । संघीय संसदका पदाधिकारीको सुविधा सम्बन्धी ऐन, २०७३ को दफा ६ को उपदफा १ मा संघीय संसद सदस्यलाई आवासको निमित्त सरकारका तर्फबाट सरकारी घरको बन्दोबस्त गरिने भनिएको छ । सरकारी घरको बन्दोबस्त नहुँदासम्म काठमाडौं उपत्यकामा घर नभएका सांसदलाई मासिक १८ हजार आवास सुविधा बापत दिने उल्लेख छ ।

पदाधिकारी (सभामुख र राष्ट्रिय सभा अध्यक्ष, प्रतिनिधि सभामा विपक्षी दलको नेता, सत्ता पक्षको नेता, उपसभामुख र राष्ट्रिय सभाको उपाध्यक्ष, दलको प्रमुख सचेतक, सत्तापक्षको सचेतक, विपक्षी दलको सचेतक) ले भने १८ हजारभन्दा बढी पाउने व्यवस्था छ ।

सोही दफाको उपदफा २ मा भनिएको छ– उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि काठमाडौं उपत्यकामा घर हुने पदाधिकारी वा सदस्यलाई आवास मर्मत र सम्भार बापत सो उपदफा बमोजिमको रकमको आधा (सांसदलाई ९ हजार) रकम दिइनेछ । नेता सिंहले यही ऐन अनुसार आवास मर्मत र सम्भार लिएका हुन् ।

पाएसम्म कुनै सुविधा नछाड्ने प्रवृतिको एक दृष्टान्त पनि हुन्, नेता सिंह । संघीय संसदमा रहेका करोडपति नेतादेखि उद्योगी–व्यापारीसम्म यस्तो सुविधा त्याग्ने हिम्मत देखाएका छैनन् ।

बुढानिलकण्ठस्थित विशाल कम्पाउण्ड भएको घरमा बस्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि घर मर्मत बापत्त मासिक १२ हजार ८०४ रुपैयाँ लिइरहेका छन् । देउवा प्रतिनिधि सभामा विपक्षी दलको नेता समेत भएका कारण नेता संहले भन्दा बढी रकम पाएका हुन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपालले पनि घर मर्मत खर्च लिइरहेका छन् । नेपालले कोटेश्वर र खनालले डल्लुस्थित घर मर्मत गर्न खर्च लिइरहेको देखिन्छ । देशका जानेमानेका ठेकेदार रहेका सांसद जिप छिरिङ लामाले पनि मासिक ९ हजार घर लिइरहेका छन् ।

अरु त अरु, धनाढ्यहरुको विश्व सूचीमा रहेका सांसद बिनोद चौधरीले समेत नियम अनुसार पाइने मासिक नेरु. ९ हजार घर मर्मत खर्चको लोभ संवरण गर्न सकेको देखिएन ।

अनलाइनखबरलाई प्राप्त विवरण अनुसार २७५ सदस्यीय प्रतिनिधिसभाका ९५ जना र ५९ सदस्यीय राष्ट्रिय सभाका १५ जना गरी ११० सांसदको काठमाडौंमा आफ्नै घर छ । घर भएका कारण उनीहरुले मर्मत खर्चको नाममा घर भाडाको आधा रकम लिइरहेका छन् ।

संघीय संसदमा रहेका ३३४ सांसदको घर भाडा र घर मर्मतका लागि राज्यकोषमा वार्षिक ५० लाखभन्दा बढी व्ययभार पर्ने गरेको छ

घर मर्मत खर्च लिने प्रतिनिधि सभा सदस्यमा सुवास चन्द्र नेम्वाङ, विष्णु प्रसाद पौडेल, शशांक कोइराला, बालकृष्ण खाँण, राजेन्द्र महत्तो, अनिल कुमार झा, देव प्रसाद गुरुङ, पम्फा भुसाल, नारायण खड्का, भीमबहादुर रावल, रामकुमारी झाक्री, चित्रलेखा यादव, लक्ष्मणलाल कर्ण, ज्ञानेन्द्र बहादुर कार्की, महेश बस्नेत, सुजाता कोइराला, गगनकुमार थापा, पुष्पा भुषाल गौत्तम, नविना लामा, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ, गोकर्णराज बिष्ट, गोकुलप्रसाद बास्कोटा, उमेश श्रेष्ठ, मिनेन्द्र रिजाल, कृष्णभक्त पोखरेल, विन्दा पाण्डे, विरोध खतिवडा, विद्या भट्टराई, नवराज सिलवाल, देवेन्द्रराज कंडेल, भरतकुमार शाह, प्रेमप्रसाद तुलाचन, भिमसेनदास प्रधान, सुरेन्दप्रसाद पाण्डे, सोमप्रसाद पाण्डे, खगराज अधिकारी, रेनुका गुरुङ छन् ।

काठमाडौंमा घर भएका सांसदहरु अमरेश कुमार सिंह, अमृता थापा, उमाकान्त चौधरी, कर्मा घले, तुल्सि थापा, कृष्णबहादुर राई, कृष्णलाल श्रेष्ठ, गणेशकुमार पहाडी, गोमा देवकोटा, छक्कबहादुर लामा, जीवनराम श्रेष्ठ, जुलीकुमारी महत्तो, तिर्था गौत्तम, तेजुलाल चौधरी, दलबहादुर राना, दिलेन्द्रप्रसाद बडू, दिव्यमणि राजभण्डारी, दीपक प्रकाश भट्ट, धनबहादुर बुढा, नमिता कुमारी चौधरी, नारायणप्रसाद मरासिनी, निर्जला राउत, पोल्देन छेपाङ गुरुङ, प्रदिप गिरी, प्रेम सुवाल, भुमिप्रसाद त्रिपाठी, मानबहादुर विश्वकर्मा, मायादेवी न्यौपाने, मीना पाण्डे, मोहन आचार्य, यज्ञराज सुनुवार, यशोदा सुवेदी, राजेन्द्र कुमार केसी, राजेन्द्रप्रसाद श्रेष्ठ, रानी मण्डल, रामबहादुर बिष्ट, रेनु कुमारी यादव, लालप्रसाद (एलपी) सावा लिम्बु, लिलादेवी सिटौला, लेख राज भट्ट, बहादुरसिंह लामा, विना कुमारी श्रेष्ठ, शरतसिंह भण्डारी, शशी श्रेष्ठ, शेरबहादुर तामाङ, सरला कुमारी यादव, सरीता न्यौपाने, सुजिता शाक्य, सुरेन्द्र कुमार कार्की, सूर्य नारायण यादव, सूर्यप्रसाद पाठक, संजय कुमार गौत्तमले पनि मर्मत खर्च लिइरहेका छन् ।

काठमाडौैंमा घर भएका राष्ट्रियसभाका सांसदहरु वेदुराम भुसाल, दीनानाथ शर्मा, परशुराम मेघी गुरुङ, राधेश्याम अधिकारी, रामनारायण बिडारी, रमेशजंग रायमाझी, विमला राई पौड्याल, शारदा देवी भट्ट, शेखर कुमार सिंह, सुमनराज प्याकुरेल, सुमित्रा बिसी, उदय शर्मा पौड्याल, कोमल वली, जितेन्द्र नारायण देव, तारा देवी भट्टले पनि सरकारी मर्मत खर्च लिइरहेका छन् ।

सांसदहरुलाई काठमाडौं उपत्यकामा घर छ या छैन ? भनेर फर्म भराएर सोही आधारमा आवास खर्च र मर्मत खर्च उपलब्ध गराउने गरिएको संसद सचिवालयले जनाएको छ । कसैले लिन्न भनेर सूचना दिए सोही अनुसार हुने सचिवालयका कर्मचारी बताउँछन् ।

उनीहरुका अनुसार सत्तारुढ नेकपाका सचिवालय सदस्य समेत रहेका राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले सांसद भए वापत पाउने तलब लगायत सबै सुविधा नलिने भनेर जानकारी गराएकाले सोही अनुसार गरिएको छ । श्रेष्ठले कोरोना महामारी नियन्त्रण नभएसम्म सबैखाले सुविधा बन्द गरिदिन संसद सचिवालयलाई पत्र लेखेका थिए ।

हरेक महिना घर मर्मत हुन्छ ?

संघीय संसदमा रहेका ३३४ सांसदको घर भाडा र घर मर्मतका लागि राज्यकोषमा वार्षिक ५० लाखभन्दा बढी व्ययभार पर्ने गरेको छ ।

उपत्यकामा घर नभएका २२४ सांसदले भाडा तिर्न १८ हजारका दरले ४० लाख ३२ र घर भएका ११० सांसदले मर्मतका लागि ९ हजारका दरले ९ लाख ९० हजार लिइरहेका छन् ।

काठमाडौंमा घर नभए सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभामा विपक्षी दलका नेता, उपसभामुख र राष्ट्रिय सभाको उपाध्यक्षले घरभाडा बापत्त २५ हजार ६०८ तथा सत्तारुढ दलको प्रमुख सचेतक, सचेतक र विपक्षी दलको सचेतकले आवास सुविधा वापत्त २४ हजार २६८ पाउने पाउने कानुनी व्यवस्था छ । घर भएकाले मर्मतका नाममा आधा रकम पाउछन् । सरकारी अवास पाएका सभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षले अवास खर्च र मर्मत खर्च नलिएको संसद सचिवालयले जनाएको छ । मन्त्रीहरुलाई त सरकारले आवासको व्यवस्था गरेकै छ ।

घर भएका सांसदलाई मर्मत खर्च दिने कानुनी व्यवस्थाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको प्रश्न छ, ‘हरेक महिना घर मर्मत हुन्छ र मासिक पैसा लिनलाई ?’

उनका अनुसार यो नैतिक प्रश्न हो । सामान्यजनलाई समेत थाह छ– हरेक महिना गरिबको पनि घर मर्मत गर्न पर्दैन, काठमाडौमा पक्की घर बनाउनेको त कुरै अर्को हुन्छ । ‘काठमाडौंमा घर बनाउन सक्नेले मर्मत गर्न पनि सक्छन्’, उपाध्याय भन्छन्, ‘सुविधा दिने यो कानुन नै त्रुटीपुर्ण छ । यसमा पुनरावलोकन हुनपर्छ ।’

उपाध्यायको भनाइ उनकै शब्दमाः

जनप्रतिनिधिहरुले कुनै सुविधा लिँदा जनताको अवस्था कस्तो छ भनेर हेर्नुपर्छ । सांसद पद जागीर होइन जागीर खान जनप्रतिनिधि भएको पनि होइन । आफ्नै मनग्गे आम्दानी भएका जनप्रतिनिधि त नैतिकता देखाउन पर्यो नि । हाम्रो संसदमा उद्योगीपति बिनोद चौधरी, मोतीलाल दुगडहरु पनि सांसद हुनुहुन्छ । उहाँहरु सुविधा लिनै आउनभएको त होइन नि । उहाँहरुले नलिएर देखाउन पर्दैन ?

काठमाडौंमा आफ्नै घर भएका अन्य साँसदले महिनैपिच्छे मर्मत गरिरेको पनि पक्कै होइन होला । उहाँहरुले एक महिनामै बिग्रने घर पक्कै बनाउनभएको छैन होला । त्यसैले यो नैतिक प्रश्न हो । जसले घर मर्मत खर्च लिइरहनुभएको छ, त्यो नैतिक हो जस्तो लाग्दैन । सांसदलाई अनेक शिर्षकमा सुविधा दिने व्यवस्थालाई नै पुनरावलोकन गर्नुप¥यो ।

अझ कोभिडले आक्रान्त पारेको अवस्थामा सोही अनुसारको मापदण्ड बनाएर सांसद सुविधा निर्धारण गरिनुपर्छ ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्युरोमा आबद्ध बजगाईं मुलतः संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?