 
																			काठमाडौं । सहरीकरणले पेल्दै र पेसागत असुरक्षाले झक्झक्याउन नथाल्दासम्म ललितपुरले सयौं वर्ष पुरानो संस्कृतिलाई निर्धक्क रुपमा निरन्तरता दिँदै आयो । सबैको आ-आफ्नै पेसा व्यवसाय थियो, साँझमा एकअर्कासँग भेेटेर दुःख भुल्न धिमे र बाँसुरीको सुर ताल कस्ने गर्थे बुढाबुढी हुन् या युवापिढी । जात्रा, उत्सव बस् यस्तै मनोरञ्जनका साधन थिए ।
एकातर्फ सांस्कृतीकरणको चेपुवाका कारण हाम्रो आँखाले पराया संस्कृतिलाई सुकिलो र सभ्य देख्न थाल्यो । र्याप संस्कृतिको काठमाडौंको यात्रासँगै यहाँका युवाहरुले भुछ्या, सिछ्या र धिमाको धुनलाई पुरातनसम्झिन थाले, जसका कारण लामो इतिहास बोकेको परम्परा समेत जोखिममा पर्न थाल्यो ।
युवापुस्ताको बदलिँदो सोचलाई सम्बोधन गर्नेगरी ललितपुर च्यासलका मोहन व्यञ्जनकारले शास्त्रीय र आधुनिक संगीतको फ्युजनबाट नयाँ संगीतको धुन निकाल्ने गरेका छन् । धिमे बाजा होस् या बाँसुरीमा, उनको फ्युजन संगीतले युवापुस्तादेखि वृद्धवृद्धालाई आकर्षित गरेको छ ।
‘यो हाम्रा युवापुस्ता पूरै आधुनिक संगीतमा नहराऊन् भनेर यसो गरिएको हो’ ज्यापु समाजका उपाध्यक्ष समेत रहेका व्यञ्जनकार भन्छन् ‘यसले पुरानो शास्त्रीय संगीतमा सामान्य बदलाव ल्याउला तर त्यति ठूलो भिन्नता आउँदैन ।’
पछिल्ला केही दशकमा ललितपुरले ठूलो सांस्कृतिक विचलन भोग्यो । परम्परालेमौलिकता गुमाउनु पर्यो । गुठीको सम्पत्ति संकुचित हुँदै गयो, पारिवारिक सुखको लागि आवश्यकताको सूचीहरु थपिँदै गए । जिविकोपार्जनकै लागि नयाँ विकल्प खोज्नुपर्ने बाध्यात्मक अवस्थाले गर्दा पछिल्ला केही दशकमा प्राचीनकालदेखिको सांस्कृतिक निरन्तरतामा संकटको बादल मडारिएको छ ।
उदाहरणको रुपमा मुहाली बाजालाई लिन सकिन्छ । कात्तिक नाचको एउटा मुख्य बाजा हो, मुहाली । परम्परा अनुसार पाटनको कपाली समुदायले बजाउनुपर्ने हो यो बाजा । तर सो समुदायका कसैले पनि यसमा चासो नराख्दा गत वर्षदेखि कात्तिक नाचमा मुहाली बज्न छोड्यो । अरु समुदायका व्यक्तिले सिकौं भने परम्परा बिगि्रन्छ, त्यो समुदायका व्यक्तिले चासो राख्दैनन् ।यही समस्यामा छ कात्तिक नाच व्यवस्थापन समिति ।
‘उनीहरुले पेसागत सुरक्षामहसुस गरेनन्, जसका कारण कपालीसमुदायका कोही पनि यो बाजा बजाउन आकषिर्त छैनन्’ कात्तिक नाच व्यवस्थापन समितिका सदस्य समेत रहेका सञ्जय राजोपाध्याय भन्छन् ‘यो समस्या हटाउन हामीसांस्कृतिक आत्मनिर्भरताको खोजी गर्न थालेका छौं, जसमा हाम्रा परम्परागत जात्रापर्वमा संलग्नलाई यसैबाट जिविकोपार्जनको स्रोत खोजी गरिने छ ।’

सांस्कृतिक पुनर्जागरणको बाटोमा ललितपुर
यावत समस्याका बाबजुद ललितपुरवासीको सांस्कृतिक चेतनामा विस्तारै पुनर्जागरण आउँदैछ । परम्परा अनुसार एक महिनासम्म निरन्तर नाचिने पाटनको कात्तिक नाच २००७ सालदेखि २०३६ सालसम्म २ दिनमा सीमित भयो । त्यसपछि १२ दिन नाच्न थालियो । हरेक वर्ष कम्तीमा एक महिना त पूरै तयारीमा खर्चिनुपर्ने यो नाचलाई पूर्ववत् एक महिना नै सञ्चालन गर्नुपर्छ भन्ने बहस चलेपछि यो वर्षदेखि निरन्तर एक महिना नाच सञ्चालन गर्ने तयारी व्यवस्थापन समितिको थियो । तर कोरोना भाइरसको महामारीका कारण सम्भव भएन । यसलाई आगामी वर्षदेखि एक महिना सञ्चालन गर्ने तयारी गरिएको राजोपाध्याय बताउँछन् ।
साढे दुईदशकसम्म बन्द भएको पाया जात्राले दुईवर्षअघिपुनर्जीवन पायो । यो वर्ष कोरोनाका कारण फेरि औपचारिकतामा मात्रै सीमित भए पनि अवस्था सामान्य भएपछि पहिलेजस्तै मनाउन थालिने ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन बताउँछन् ।
‘लोप भइसकेका र लोपोन्मुख अवस्थामा रहेका मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाको खोजी गर्ने क्रममा हामीले साढे दुईदशकबन्द रहेको पाया जात्रालाई पुनर्जीवित गराउन सक्यौं’ महर्जन भन्छन्, ‘यसमा १९ वटा सरोकारवाला निकाय लागेका छन् ।’
सांस्कृतिक गतिविधिसँगै आर्थिकोपार्जनको खोजी
झट्ट सुन्दा सांंस्कृतिक गतिविधिमा फाइदा खोज्नु उचित होइन भन्ने मत पनि आउन सक्छ । तर आफ्नो गुजाराको लागि चौतर्फी भौतारिनु पर्ने अवस्था आयो भने त्यसले सांस्कृतिक गतिविधिलाई दिगो बनाउन सक्दैन । लिच्छविकालदेखि गुठी व्यवस्था पनि यही अवधारणामा सुरु भएको बताउँछन् ललितपुरका मेयर महर्जन् । त्यसैले महानगरपालिकाले नगरवासीलाई सांस्कृतिक गतिविधिबाटै जिविकोपार्जन गर्न प्रोत्साहन गरेको उनले बताए ।
नेवारसमुदायमा कुनै व्यक्ति ७७ वर्ष ७ महिना ७ दिन पुगेपछि जंको गर्ने संस्कृति छ । यसमा बाजा बजाउने युवाको छुट्टै टोली हुन्छ । उनीहरुले आफ्नो समूहमा रहेकाबाहेक अरुको जंकोमा जाँदा शुल्क लिन्छन् । यसरी बाजा बजाउनेहरुको पेसागत सुरक्षा भएको बताउँदै मेयर महर्जन भन्छन् ‘सांस्कृतिक गतिविधिबाटै जिविकोपार्जनको बाटो खोज्नु सकारात्मक कुरा हो ।’
यसले बाजागाजा बजाउन नेवार समुदायका सदस्यहरुलाई उत्प्रेरित गर्ने उनको विश्वास छ ।
आर्थोेपार्जनको अर्काे उदाहरण तिहारको म्हः पूजा र किजा पूजामा पनि देख्न सकिन्छ । पछिल्ला केही वर्षदेखि भाइटीकाको अघिल्लो दिन म्हः पूजा गर्ने र भाइटीकाको दिन गरिने किजा पूजामा नेवार समुदाय इतरका व्यक्तिलाई समेत संलग्न गराउन थालिएको छ । यसमा पनि धेरै हदसम्म व्यावसायिकताको खोजी गरिएको महर्जन बताउँछन् ।
यसरी सांस्कृतिक क्षेत्रबाटै अर्थोपार्जनको खोजी गरिएका अन्य क्षेत्रहरू पनि छन् । कात्तिक नाच व्यवस्थापन समितिका राजोपाध्याय कात्तिक नाचलाई एक महिनासम्म चलाएपछि यसबाट आर्थिकोपार्जनको स्रोत खोजी गर्ने तयारी समेत रहेको उनी बताउँछन् ।
त्यस्तै, ज्यापु समाजका दि्वतीय उपाध्यक्ष समेत रहेका व्यञ्जनकार ज्यापु समाजले विभिन्न सांस्कृतिक कार्यमा संलग्न कलाकारहरूलाई यसैबाट जिविकोपार्जन गर्नसक्ने आधार खोजीरहेको बताउँछन् । ‘हामी अहिले सांस्कृतिक परम्परालाई यथावत राखेर त्यसैमार्फत् जिविका चलाउने आधार बनाउँदैछौं’ व्यञ्जनकार भन्छन् ‘महोत्सवमा लैजाने, सांस्कृतिक प्रदर्शनीको लागि विभिन्न अन्तर्राष्टि्रय कार्यक्रमहरुमा लैजाने कामले पनि संस्था र यसमा संलग्न कलाकारको आर्थिक उत्थानमा सहयोग गरेको छ ।’
उनका अनुसार अहिले ललितपुरमा सञ्चालन हुने विभिन्न जात्रा पर्वमा सहभागी कलाकारमध्ये झण्डै आधा यही क्षेत्रबाट हुने उपार्जनमा निर्भर छन् ।

नयाँ जनप्रतिधिको सम्पदाप्रतिको चासो
नयाँ जनप्रतिनिधि आएपछि ललितपुर महानगरपालिकाले मूर्त तथा अमूर्त सम्पदालाई संरक्षण गर्ने र लोपोन्मुख संस्कृतिलाई पुनर्जीवन दिने नीति लियो ।
जसअनुसार गोदावरी नगरपालिकामा पर्ने ठेचोको अष्टमात्रिका नाच र नवदूर्गा नाच संरक्षणको लागि महानगरले २ लाख रुपैयाँ दिने प्रस्ताव बजेटमा नै राख्यो । ठेचोको नवदूर्गा नाचका पात्रहरु पाटनको मूलचोकमा आएर एक रात बस्नुपर्ने चलन छ ।
त्यस्तै, कात्तिक नाचलाई युनेस्कोको विश्व सम्पदा सूचीमा राख्नपहल थालिएको छ । यसको तयारीको लागि आवश्यक सम्पूर्ण खर्च ललितपुर महानगरपालिकाले व्यहोर्ने निर्णय भएको मेयर महर्जन बताउँछन् । ‘हामीले संकटापन्न सबै मूर्त तथा अमूर्त सम्पदाको पुनःउद्धारको लागि बजेट विनियोजन गरेका छौं’ उनी भन्छन् ‘कतिपयलाई पुनर्जीवन दिइसक्यौं भने कतिपय प्रकि्रयामा छन् ।’
कात्तिक नाच, खोकनाको रुद्रायणी वा सिकाली नाच र हरिसिद्धी नाच ललितपुरका चर्चित नाचहरु हुन् । यसवर्षदेखि एक महिनासम्म नचाउने भनिएको कात्तिक नाचको लागि आवश्यकसबै खर्च ललितपुर महानगरले नै व्यहोर्ने प्रतिबद्धता जनाइसकेको छ । यी जात्रापर्वहरुमा प्रयोग हुने बासुरी, धिमे जस्ता बाजा बजाउने तालिम निःशुल्क दिने र सिकेकालाई व्यावसायिक बनाउन सहयोग गर्ने तयारी महानगरको छ ।
यसबाहेक महानगरले कात्तिक नाचको लागि ५० लाख र रुद्रायणी एवं हरिसिद्धि नाचको लागि २५-२५ लाख रुपैयाँको अक्षय कोष खडा गरेरसञ्चालनको दीर्घकालीन आधार तयार पार्न खोजिएको छ । ‘यो आधुनिक गुठी हो’ महानगर प्रमुख महर्जन भन्छन् ‘भोलि मेरो ठाउँमा संस्कृति एवं सम्पदालाई वास्ता नगर्ने मान्छे नै जननिर्वाचित भएर आए पनि यही अक्षयकोषमा राखिएको रकमको ब्याजबाट परम्परा धान्न सकियोस् भनेर अक्षय कोष राखेका हौं ।’
प्राचीन ढुंगेधारामा पानी झार्ने प्रयास
पाटनको अर्काे एउटा अमूर्त सम्पदाको रुपमा ढुंगेधारालाई समेत लिन सकिन्छ । गोदावरी नगरपालिकाको टीकाभैरवको राजकुलोलाई स्रोत मानिएको पाटनका अधिकांश ढुंगेधारामा अहिले पानी आउँदैन । टीकाभैरवको राजकुलोमा पानी आउन थाले पनि खुमलटारबाट यता पानी आउन सकेको छैन ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन खुमलटारको अवरोधलाई व्यवस्थापन गरेपछि पाटनको धारामा पानी र्झने दाबी गर्छन् । लगनखेल नजिकै रहेको पोखरीमा टीकाभैरवको राजकुलोबाट आएको पानी सञ्जय गरेपछि सोही पोखरीबाट पाटनका अधिकांश धारामा पानी आउने उनी बताउँछन् ।
यता ललितपुर महानगरपालिकाभित्र पर्ने विभिन्न ढुुंगेधाराको सम्बन्ध कुनै न कुनै अमूर्त सम्पदासँग जोडिएको छ । जस्तो, पाटनको मंगहिटीको सम्बन्ध कात्तिक नाच अन्तर्गत् नृसिंह नाचसँग जोडिएको छ । सो नाचको दिन नृसिंहले छोएपछि मूर्छा परेको हिरण्यकशिपुलाई होसमा ल्याउनमंगहिटीकै पानी खुवाउनुपर्छ भन्ने मान्यता छ । त्यो धारो सुक्यो भने एउटा प्राचीन संस्कृतिको महत्वपूर्ण पक्ष लोप हुन्छ । त्यसैले ललितपुर महानगरले पनि ललितपुरमा रहेका सबै ढुंगेधारामा पानी झार्ने महत्वाकांक्षी योजना बनाएको छ ।
महानगरपालिको तथ्यांक अनुसार अहिले महानगर क्षेत्रभित्र ६७ वटा ढुंगेधारा छन् । यसमध्ये २० प्रतिशतमा मात्रै पानी आउँछ ।बाँकी ढुंगेधारामा पानी झार्नमहानगरले यो आर्थिक वर्षमा ७२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । ढुंगेधारामा पानी झरेसँगै धेरै अमूर्त सांस्कृतिक सम्पदाले पूर्णता पाउने महानगरपालिकाको विश्वास छ ।
अहिले ढुंगेधारा सम्बन्धि विशेषज्ञ प्रयागलाल जोशीले चालु आर्थिक वर्षभित्र पहिलो चरणमा तीन वटा र दोस्रो चरणमा आठ गरी कुल ११ वटा ढुंगेधारामा पानी ल्याउने लक्ष्य सहित काम गरिरहेको ललितपुर महानगर पालिकाले जनाएको छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4