Comments Add Comment

कांग्रेस नेतृ साह नेकपामा प्रवेश

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ कौसर साह नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेकी छन् ।

दोस्रो संविधानसभामा कांग्रेसका तर्फबाट सभासद रहेकी साह कांग्रेसको काठमाडौं महानगर समितिमा थिइन् । उनलाई शनिबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव नेपालले दोसल्ला ओढाएर पार्टीमा प्रवेश गराए । उनसँगै राजनकुमार झा लगायत १०९ जना नेकपामा प्रवेश गरेका छन् ।

कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले पार्टीमा भइरहेको विवाद कस्तो राजनीतिक मान्यता बनाउने भन्ने भएको बताए । समाजवादतर्फ प्रवेश गर्न कस्तो विधि, विधान र राजनीतिक मान्यता पालना गर्ने भन्ने बहस भइरहेको बताए ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई फुलाउने, फलाउने र समृद्धिको नयाँ यात्रातिर बढ्दैछौं । यस्तो यात्रामा बेलाबेला चुनौती आउँछन् । तर, ती समस्या र चुनौतीको सामना गर्ने तागत कम्युनिष्ट पार्टीले पैदा गरेर अगाडि बढ्छ’, प्रचण्डले भने ।

कोरोना महामारीको कारणले अप्ठ्यारो परिस्थिति सिर्जना भएको र पार्टीको बैठकहरुमा व्यस्त हुनुपरेको बताएपनि प्रचण्डले नेकपाभित्र संघर्षबारे बोलेनन् ।

प्रचण्डसँगै मञ्चमा रहेका बरिष्ठ नेता माधवकुमार नेपालले पनि नेकपाको कलहबारे बोलेनन् । उनले पनि अहिले राजनीतिक परिवर्तनमा कम्युनिष्ट पार्टीको भूमिका रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment