Comments Add Comment

प्रचण्डसँग नेम्वाङको आग्रह– प्रधानमन्त्री चिन्तित हुनुहुन्छ, तपाईं सकारात्मक हुनुपर्‍यो

२८ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेट्न स्थायी कमिटी सदस्य सुवास नेम्वाङ खुमलटार पुगेका छन् । संसदीय दलका उपनेता समेत रहेका नेम्वाङ आइतबार विहानै खुमलटार पुगेका हुन् ।

भेटवार्तापछि नेम्वाङले प्रचण्डसँग एकता पार्टी जोगाउनेबारे कुराकानी भएको बताए । उनले भने, ‘पार्टी एकता कायमै राख्न प्रचण्ड कमरेड सकारात्मक रहेको पाएँ । उहाँले यसबारे चिन्तत छु भन्नुभयो ।’

नेम्वाङले पार्टीको विवादबारे अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको धारणा पनि सुनाएका थिए । ‘प्रधानमन्त्री चिन्तित हुनुहुन्छ, तपाईं पनि विभाजन रोक्न सकारात्मक हुनु पर्छ भनेँ’, नेम्वाङले अनलाइनखबरसँग भने ।

आज दिउँसो एक बजे स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । बैठक बस्नुअगाडि नेम्वाङले प्रचण्डलाई भेटेका हुन् ।

हिजो मात्रै प्रधानमन्त्री निकट नेता शंकर पोखरेलले प्रचण्डलाई भेटेका थिए । प्रचण्डलाई भेट्न पोखरेल खुमलटार पुगेका थिए । स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल शुक्रबार काठमाडौं आएपछि लगातार भेटवार्तामा छन् । विशेषगरी पोखरेलले प्रधानमन्त्री ओलीको सन्देश लिएर नेताहरुलाई भेटिरहेका छन् ।

गएको २१ मंसिरमा शुरु भएको स्थायी कमिटी बैठक एक साता स्थगित गरेर आज बस्दैछ । तर, आजको बैठकमा केन्द्रीय सदस्य कमानसिं लामाको निधनप्रति शोक प्रस्ताव पारित गरेर स्थगित गर्ने तयारी भएको छ । ‘उहाँप्रति सम्मान गर्न पनि आजको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित हुनु राम्रो हो’, नेम्वाङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment