Comments Add Comment

आपसी झगडामा घाइते भएका युवकको उपचारको क्रममा मृत्यु, अभियुक्त पक्राउ

२८ मंसिर, वीरगञ्ज । पर्सामा लेनदेनको विषयमा झगडा हुँदा घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा पर्टेवासुगौली गाउँपालिका–१ सिरहीका २४ वर्षीय उमेश ठाकुर रहेका छन् । लेनदेनको विषयमा मंसिर २४ गते बिहान पर्टेवासुगौली गाउँपालिका–१ रंगपुर टाँडीका ३० वर्षीय आनन्दप्रसाद थारु र उमेश ठाकुरबीच झगडा भएको थियो । सो क्रममा उमेश ठाकुर गम्भीर घाइते भएका थिए ।

वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा आइतबार बिहान ११ः०५ मा उनको मृत्यु भएको थियो । खाजा खाएको पैसा नदिएको भन्दै होटल सञ्चालक थारुले झगडा गर्नुको साथै गलबन्दीले ठाकुरको घाँटी थिचेको प्रत्यक्षदर्शीले बताएका छन् ।

नास्ता खाएको निहुँमा छिमेकी भाइको हत्या भएको स्थानीय धर्मेन्द्र साहले जानकारी दिए ।
‘अघिल्लो दिन भाइले होटलमा खाजा खाएको १ सय रुपैयाँ थारुको आमाले लिइसकेका रहेछन् । तर उसले पैसा दिएको छैन भनेर भाइसँग झगडा गरेछन्,’ उनले भने, ‘उनले घाँटी थिचेर घाइते बनाएपछि उपचारका लागि वीरगञ्ज लगिएको थियो । आज बिहान चिकित्सकले मृत घोषित गरिदिए ।

अस्पतालका चिकित्सडक डाक्टर श्यामबाबु पटेलका अनुसार मृतकको टाउकोमा रगत जमेको पाइएको जनाएको छ । ‘घाँटीमा गम्छाले कसिएको रहेछ, बेहोस भएपछि लडेर उनको टाउको भुँइमा ठोक्किएको रहेछ । त्यसपछि टाउको भित्र रगत जमेर मृत्यु भएको देखिन्छ ।’ उनले भने ।

हत्या आरोपमा एकजना पक्राउ

उमेश ठाकुरको हत्या अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पर्टेवासुगौली गाउँपालिका–१ रंगपुर टाँडीका ३० वर्षीय आनन्दप्रसाद थारु पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्सामा मृतकका दाई केशव ठाकुरले आरोपी विरुद्ध जाहेरी दिइसकेका छन् । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले आरोपीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिइन् । ‘ झगडा गरे नगरेको अनुसन्धान पछि नै खुल्छ, शव पोष्टमार्टमका लागि पठाएका छौं । रिपोर्ट आइसकेको छैन । आरोपी समातिसकेका छौं ।’ उनले भनिन् ‘ थप कुरा अनुसन्धानपछि नै पत्ता लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment