Comments Add Comment

अरिंगाललाई तह लगाउन ड्रोनको प्रयोग

२८ मंसिर, काठमाडौं । नेपालमा अरिंगाल काढेर खाने प्रचलन पुरानै हो । अरिंगालको परिकार स्वादिष्ट एवं शक्तिवर्द्धक पनि हुन्छ । कतिपय अवस्थामा भने अरिंगालले मानिसहरुलाई चिल्ने र अनावश्यक दुःख दिने गरेको छ ।

रुख वा अग्लो ठाउँमा रहने अरिंगाल काढ्न निकै नै जोखिमपूर्ण हुन्छ । अरिंगालको गोलो काढ्दा रुखबाट झरेर वा अरिंगालले चिलेर मानिसको मृत्यु हुने गरेका खबरहरु पनि नेपालमा यदाकदा सुनिन्छन् ।

तर, अब एक्काइसौं शताब्दीको विकसित प्रविधिसँगै अरिंगाललाई तह लगाउन सहज भएको छ । विभिन्न प्रयोजनका लागि प्रयोग हुँदै आएको ड्रोनको प्रयोग अरिङ्गालको गोलो जलाउनका लागि पनि गर्न थालिएको छ ।

चीनमा अरिंगालको गोलो जलाउन सल्काउने ड्रोनको प्रयोग सुरु भएको हो । चीनमा ड्रोनको प्रयोग गरेर अरिंगालको गोलो जलाउने अभियानै थालिएको छ ।

चीनको छोङकिङ सहरनजिकै रहेको चोङ गाउँमा स्वयंसेवकहरुको समूह ब्लु स्काइ रेस्क्यु र अन्य आपतकालीन कार्यका सहयोगीहरुले गाउँका बासिन्दाहरुसँग मिलेर अरिंगालका गोलाहरु पोल्ने काम सुरु गरेका हुन् ।

उनीहरुले ड्रोनमा डिजेल हाल्ने सानो ट्यांकी र रेगुलेटर किनेका थिए । त्यसका लागि उनीहरुले ८० हजार युआन (करिब १२ हजार दुई सय डलर) जम्मा पारेका थिए । ब्लु स्काइ रेस्क्युले अहिले अरिङ्गालको गोला पोलेको भिडियो सार्वजनिक गरेको छ ।

एउटा सुटकेस जत्रो आकारको यो ड्रोन अरिंगालको गोलाभन्दा माथि जान्छ र बिस्तारै तल झर्दै गोलामा आगोको सल्काउँछ ।

अहिले चोङ गाउँका मानिसहरुले उक्त स्वयंसेवीहरुको समूहको यो कार्यको प्रशंसा गरेका छन् । अहिले गाउँलेहरुलाई अरिङ्गालको समस्याबाट मुक्ति मिलेको छ । अहिलेसम्म उक्त समूहले ११ वटा अरिंगालको गोला नष्ट गरिसकेको छ । अझै एकसय भन्दा धेरै गोला नष्ट गर्ने टोलीको योजना रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment