Comments Add Comment

‘चितवनमा अर्को वर्ष अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन्छ’

२९ मंसिर, चितवन । चितवनको भरतपुर १५ मा देशकै गौरवको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम जारी छ । धुर्मस–सुन्तली फाउण्डेशनले बनाइरहेको रंगशालाको मूल गेट नजिक नमूना क्रिकेट मैदान तयार छ । यही मैदानमा राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता भैरहेको छ ।

यहाँ प्रतियोगिता हुँदा खेलाडीहरुले निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला देख्ने, प्रचारप्रसार गराउने र सहयोग जुटाउन मद्दत गर्ने अपेक्षा फाउण्डेशनले गरेको छ । गत वर्षको आफैंले काँसघारी र रुख हटाएर नमूना क्रिकेट मैदान बनाउन कस्सिएका फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मस), राष्ट्रिय प्रतियोगिता नै आयोजना भएकोमा निकै खुसी छन् ।

रंगशाला निर्माण र राष्ट्रिय प्रतियोगिताका सन्दर्भमा अनलाइनखबरकर्मी सुवास पण्डितले फाउण्डेशनका अध्यक्ष कट्टेलसँग गरेको कुराकानी :

निर्माणाधीन रंगशालाको नमूना क्रिकेट मैदानमा राष्ट्रिय लेभलको प्रतियोगिता आयोजना हुनुलाई कसरी लिनुभएको छ ?

म एकदमै उत्साहित छु । यस मानेमा की, कोभिडपछि लगभग खेलकुदका गतिविधि ठप्प थिए । तर, चितवनमा क्रिकेटको प्रतियोगिता गरेर अब खेल क्षेत्र सुचारु भयो, चलायमान हुन थाल्यो भन्ने सन्देश गएको छ । अर्कोतिर, रंगशाला निर्माणमा देशका टप ३० क्रिकेटका खेलाडीहरुले यहाँ पाइला टेक्नुभएको छ । यो उहाँहरु र उहाँहरु जस्तै भावी पुस्ताका लागि तयार गर्न लागिएको खेलकुदको मैदान हो । राष्ट्रिय प्रतियोगिता र यति धेरै खेलाडीको उपस्थितीले मलाई भावुक पनि बनायो ।

गत वर्ष मंसिर म आफैंले यहाँको कासघारी, रुखहरु हटाएर, यहीँ नै बनाएको रोललाई ट्याक्टरमा बाँधेर मैले नमूना मैदान तयार गरेको थिएँ । एक वर्षमा नै राष्ट्रिय प्रतियोगिता गर्ने मैदान तयार भएर खेल पनि भयो । गएको साउनमा आफैंले दुबो रोपे । खेलाडीहरु आएर खेल्दा निकै खुसी हुनुभयो ।

नमूना मैदान नै स्तरीय बनेछ । टियू मैदानको भन्दा पनि राम्रो आउट फिल्ड र पिच बनेको छ भनेर खेलाडीहरुले भन्दा खुसी लाग्यो ।  ममा पनि ऊर्जा भरियो । आशा बलियो बन्यो । यसले सकारात्मक प्रचार र क्रिकेटको माहौल बनाउन मद्दत गर्ने विश्वास लिएको छु । प्रतियोगिता आयोजना गर्ने बागमती क्रिकेट संघ, बागमती खेलकुद परिषद्, भरतपुर महानगरपालिका, चितवन क्रिकेट क्रिकेट संघ, क्यान, खेलाडी, सम्वद्ध सबै सहयोगीहरुलाई म धन्यवाद दिन चाहन्छु ।

निर्माणाधीन क्रिकेट रंगशाला हेरेर खेलाडीहरुले कस्तो प्रतिक्रिया दिनुभयो ?

उहाँहरु उत्साहित हुनुहुन्छ । यो नै सकारात्मक ऊर्जा हो । पूर्व कप्तान पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्ल लगायतका खेलाडीहरुले हौसला थप्नु भएको छ । मैले पनि भनेको छु, यो वर्ष राष्ट्रियस्तरको प्रतियोगिता भयो, अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता होस् भन्ने चाहनाअनुसार काम गरिरहेको छु । खेलाडी, खेल सम्बद्ध पदाधिकारी तथा अन्य प्रतिनिधिहरुले पनि साथ दिनु नै हुनेछ भन्ने विश्वास लिएको छु । खेलाडीहरुले छिटो बन्नुपर्छ भनेर हौसला दिनु भएको छ । हामीले पनि साथ दिन्छौं भन्नुभएको छ । अब त मोटामोटी त रंगशाला बन्यो जस्तो लागेको छ । कस्तो–कस्तो कठिन अवस्था त पार गरेर यहाँसम्म आइयो । राष्ट्रिय प्रतियोगिता भएपछि म अझै बढी उत्साहित बनेँ ।

अहिले रंगशाला निर्माण कुन चरणमा छ ?

मैदानको काम लगभग ८५ प्रतिशत सकिएको छ । पिचको काम बाँकी छ । मैदानमा पाँगो माटो भरेर रोलिङ गर्न बाँकी छ । खोला खुलेपछि पाँगो माटो ल्याएर मैदानको काम धमाधम सुरु हुन्छ । आउने बैशाखसम्म मैदानको काम सक्ने विश्वासका साथ काम अघि बढेको छ । ३० हजार अट्ने प्याराफिटको काम धमाधम भैरहेको छ । लोअर टाइबिमको काम सकेर अपर टाइबिममा आएका छौं । जति खर्च हुनुपर्ने त्यो सबै खाल्डामा भयो । अब त खुरुखुरु संरचना उठाउने मात्रैं काम छ । यो चाँडो पनि हुन्छ र बाहिर देखिन्छ पनि । रंगशालाको आकृति त आइसकेको छ । अब त बन्यो–बन्यो ।

बजारमा भुक्तानी दिन लाखमा हैन, करोडमा बाँकी छ । अरु कुनै पनि कारणले रंगशालाको काम रोकिँदैन । रोकियो भयो भने आर्थिक अवस्थाले मात्रै हुनसक्छ

आर्थिक जोहो कसरी गरिरहनुभएको छ ?

जनस्तरबाट बन्ने रंगशाला भनेर हामीले घोषणा गरेका छौं । मूलत यो जनस्तरको सहयोगबाट नै बन्ने रंगशाला हो । देश विदेशमा रहनुभएका आदरणीय नेपाली दाजुभाइ दिदीबहिनीहरुको साथ र सहयोगले रंगशाला बनिरहेको छ । स्थानीय सरकार र प्रदेश सरकारले पनि साथ दिएका छन् । अझैं साथ र सहयोगको आवश्यकता छ ।

आर्थिक जोहो गर्न निकै मुस्किल परेको छ । तर पनि म एउटा लक्ष्य लिएर हिँडेको छु । कठिन अवस्था पनि काम रोकेको छैन ।  बजारमा भुक्तानी दिन लाखमा हैन, करोडमा बाँकी छ । केही समयपछि म सबै सार्वजनिक गर्नेछु ।

यस्तो विषम परिस्थितिमा पनि सामान दिएर सहज बनाइदिनुहुने सबैलाई हार्दिक धन्यवाद पनि दिन चाहन्छु । मैले मेरो घर बनाइरहेको छैन । यो राष्ट्रिय गौरवको सम्पत्ति यहाँहरुकै सहयोगबाट बनाइरहेको छु । म त कर्मी मौरी न हुँ । माध्यम मात्रै हुँ ।

सरकारी ठूला आयोजनाहरु कोभिडलाई देखाउँदै ढिला भैरहेका छन् तपाईं कसरी काम गरिरहनुभएको छ ?

काम गर्ने इच्छाशक्ति र इमान्दारीताको यात्रामा सबैको विश्वास, साथ र माया हो जस्तो लाग्छ । मलाई समेत सपना जस्तो लाग्छ । कोरोना भाइरसको डर त्रासको अवस्थामा पनि यतिका मान्छेलाई क्वारेन्टाइनमा राखेर दिनरात झरी, बर्खा, हिलो नभनी काम निरन्तर चलिरहेको छ ।

दशैं, तिहार, छठ जस्ता ठूला चाडपर्वमा कुनै एकदिन पनि काम रोकिएन ।  न गर्मी न जाडो कुनै पनि रोकिएन । नेपाली जनताको अलौकिक शक्तिबाट मात्रै यो सबै सम्भव भएको हो जस्तो लाग्छ ।

मैले गएको साउन १ गतेबाट १८ महिनाभित्र रंगशाला बनाइसक्छु भनेको छु । त्यसमा म दृढ छु । चार महिना बितेको छ । अरु कुनै पनि कारणले रंगशालाको काम रोकिँदैन । रोकियो वा अवरोध भयो भने आर्थिक अवस्थाले मात्रै हुनसक्छ । प्राविधिक वा अन्य कारणले काम रोकिँदैन ।

पारदर्शी ढंगले काम गरेका छौं, गुणस्तरमा कुनै कमीकमजोरी हुन दिएका छैनौं, मजबुद संरचना खडा भएको छ । आर्थिक टन्टो हुन्थेन भने, कम लागतमा तोकिएको समयभन्दा धेरै अगाडि नै काम सक्छु । रोकियो भने आर्थिक पाटोले रोकिन्छ अरुको कमी छैन । मलाई विश्वास छ, नेपाली जनता, सरकारी निकाय लगायतका सबैको थप सहयोग र साथले यो हाम्रो साझा गौरव, मानकले पूर्णता पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment