News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले भारतसँग ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा दोस्रो खेल खेल्दैछ ।
- नेपाल र भारतबीचको खेल शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ ।
- नेपालले पछिल्ला चार खेलमा भारतसँग अपराजित रहेको छ र आजको खेल प्रतिष्ठाको लडाईँका लागि महत्वपूर्ण हुनेछ ।
१० कात्तिक, काठमाडौं । भारतमा भइरहेको ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले आफ्नो दोस्रो खेलमा आज भारतसँग दोस्रो खेल खेल्दैछ ।
खेल शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ । नेपाल, भारत र इरान सहभागि रहेको प्रतियोगितामा इरानले भारत र नेपाललाई हराएर उपाधि भने जितिसकेको छ ।
त्यसैले आजको खेल प्रतिष्ठाको लडाईँका लागि महत्वपूर्ण हुनेछ । दुई छिमेकी प्रतिद्वन्दी नेपाल र भारत अन्तिम खेल जित्दै सुखद रुपमा यो प्रतियोगिता सकाउन चाहन्छन् ।
नेपाली टिमका मुख्य प्रशिक्षक नविन न्यौपाने र कप्तान सावित्रा भण्डारि साम्बाले भारत विरुद्ध जितकै लागि खेल्ने बताएका छन् ।
प्रशिक्षक न्यौपानेले लामो यात्राले गर्दा पहिलो खेलमा असर परेको र दोस्रो खेलका लागि तयार भएको बताएका छन् । ‘पहिलो खेलमा लामो यात्राले गर्दा असर देखियो । अहिले हामी अभ्यस्त भइसकेका छौँ,’ न्यौपानेले भनेका छन्, ‘भारत राम्रो प्रतिद्वन्दी हो र हामी हरेक सेकेण्ड फोकस गरेर खेल्छौँ । हाम्रो लक्ष्य भारत विरुद्ध जित निकालेर समर्थकसहित सबैलाई सकारात्मक सन्देश दिन चाहन्छौँ ।’
यस्तै कप्ता सावित्राले पहिलो खेलमा इरान विरुद्ध दोस्रो हाफमा १० मिनेट मिसब्यालेन्स हुँदा गोल खान पुगेको र त्यो गल्तीलाई सुधार गर्दै भारत विरुद्ध खेल्ने बताइन् । ‘अस्तीको म्याचको गल्तीहरुलाई कम गरेर भारत विरुद्ध खेल्नेछौँ । यो साउथ एसियन फुटबलको प्रतिष्ठाको लडाईँ हो र हामी त्यसका लागि तयार छौँ र जित्नकै लागि खेल्छौँ ।’ उनले भनिन् । ‘भारत एसियन कपका लागि छनोट भएकोले उच्च मनोबल छ । घरेलु मैदान र दर्शकको साथ छ र टिम पनि राम्रो छ ।’
यसअघि नेपालले सन् २०१९ मा भारतलाई भारतकै भूमिमा पराजित गरेको थियो । फेरि एक पटक भारतलाई उसैको भूमिमा हराउने अवसर नेपाल सामु आएको छ ।
यस्तै शिलोङमा नेपालले भारतसँग तेस्रो पटक खेल्दैछ । यसअघि सन् २०१६ मा भएको साउथ एसियन गेम्सको लिग चरणमा नेपालले भारतलाई गोलरहित बराबरीमा रोकेको थियो । तर फाइनलमा नेपाल भारतसँगै ४-० ले पराजित भएको थियो ।
भारत विरुद्ध विगत
महिला फुटबलमा नेपालका लागि भारत चिरपरिचित प्रतिद्वन्दी हो र नेपालले अहिलेसम्म सबैभन्दा धेरै १८ खेल भारत विरुद्ध नै खेलेको छ । त्यसका साफ च्याम्पियनसिप देखि अन्य प्रतियोगिता र मैत्रीपूर्ण खेलहरु समेत छन् ।
हेड टु हेडमा हेर्दा भारत धेरै अघि रहेपनि पछिल्ला खेलहरुमा भने भारत विरुद्ध नेपालको प्रदर्शन राम्रो छ । पछिल्लो चार खेलमा नेपाल भारत विरुद्ध अपराजित छ । सन् २०१९ मा पोखरामा भएको १३औं साउथ एसियन गेम्सको फाइनलमा भारतसँग २-० ले पराजित भएयता नेपाल चार खेलमा अपराजित छ ।
त्यसमा भारतमै भएको दुई मैत्रीपूर्ण खेल अनी नेपालमा भएको साफ महिला च्याम्पियनसिप थियो । सन् २०२३ फेब्रुअरीमा चेन्नाईमा भएको दुई मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग बराबरी खेलेको थियो । पहिलो खेल २-२ को बराबरीमा सकिँदा दोस्रो खेल गोलरहित बराबरीमा सकिएको थियो ।
त्यसअघि सन् २०२२ मा काठमाडौंमा भएको साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतलाई १-० ले पराजित गरेको थियो । यस्तै सन् २०२४ मा काठमाडौंमै भएको साफ वुमन्स च्याम्पियनसिपमा पनि नेपालले भारतलाई सेमिफाइनलमा पराजित गरेको थियो । निकै तनावपूर्ण र विवादित बनेको उक्त खेलमा निर्धारित सयममा १-१ गोल भएपछि पेनाल्टी सुटआउटमा नेपालले भारतलाई ४-२ ले पराजित गरेको थियो । एक गोलले पछि परेको अवस्थामा सावित्राले नै गोल गर्दै नेपालले खेलमा पुनरागमन गर्दै बराबरी गरेको थियो । गोलपछि सावित्राले जर्सी फुकालेर आइकोनिक सेलेब्रेसन समेत गरेकी थिइन् ।
यस बाहेक सन् २०१९ फेब्रुअरीमा भारतमै भएको हिरो गोल्डकपमा पनि नेपालले भारतलाई पराजित गरेको थियो ।
कप्तान सावित्राका लागि भारत प्रिय प्रतिद्वन्दी समेत हो । नेपालले भारत विरुद्ध अहिलेसम्म १२ गोल गर्दा सावित्राले एक्लै ७ गोल गरेकी छन् ।
नेपाल र भारतबीच अहिलेसम्म समग्रमा १९ खेल भएको छ । जसमा भारतले ११ खेल जितेको छ भने नेपालले पेनाल्टीसुटआउटसहित ३ खेल जितेको छ । ४ खेल बराबरीमा सकिएको थियो ।
फाइनल तस्बिर
 
                    










 २०८२ कात्तिक  १० गते ८:३३
                        २०८२ कात्तिक  १० गते ८:३३                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4