Comments Add Comment

राप्तीको १ विकेटको रोमाञ्चक जित

२९ मंसिर, चितवन । गौतम बुद्ध कप टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत लिगको अन्तिम खेलमा राप्तीले नारायणीमाथि रोमाञ्चक जित हात पारेको छ । यसअघि नै फाइनलमा स्थान पक्का गरिसकेकोले दुवै टोलीका लागि फाइनल अघिको रिहर्सलको रुपमा रहेको यस खेल रोमाञ्चक बनेको थियो ।

जसमा राप्तीले नारायणीलाई १ विकेटले हरायो । १३९ रनको लक्ष्य पछ्याएको राप्तीले १ बल बाँकी छँदा ९ विकेट गुमाएर जित हात पारेको हो । राप्तीमा लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रन बनाए । यस्तै कमल सिंह ऐरीले केमियो रोल खेल्दै आक्रमकरुपमा अविजित २५ रन जोडे ।

धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान छेउको नमुना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नारायणीले खराब सुरुआत गरे पनि करण केसी र किशोर महतोको आक्रमक ब्याटिङ मद्दतमा मध्ययम स्कोर बनाएको थियो ।

१५.५ ओभरमा ७९ रन हुँदा ७ विकेट गुमाएर धरासायी अवस्थामा रहेको बेला करण केसी र किशोरले आठौं विकेटका लागि अर्धशतकीय साझेदारी गर्दै सम्मानजनक स्कोर तयार पारे । यी दुईले २५ बलमा ५९ रनको साझेदारी गरे । करण र किशोरले १९औं ओभरमा २३ रन जोडेका थिए ।

अन्तिम बलमा विनोद भण्डारीबाट क्याचआउट हुनुअघि करणले २२ बल खेल्दै १ चौका र ३ छक्का मद्दता ३२ रन जोडे । नवौं नम्बरमा ब्याटिङ गरेका फास्ट बलर किशोरले १४ बल खेल्दै २ चौका र ४ छक्काको मद्दतमा अविजित ३६ रन बनाए । यस्तै सुशन भारीले १८, रित गौतमले १३ र इशान पाण्डेले १० रन जोडे ।

बलिङमा राप्तीका लागि अभिनाश बोहरा र सूर्य तामाङले समान २ विकेट लिए । सूर्यले ४ ओभरमा २९ रन र अभिनाशल ४ ओभरमा ४१ रन खर्चिए । यस्तै जितेन्द्र मुखिया, कमल सिंह र भुवन कार्कीले समान १ विकेट लिए ।

१३९ रनको लक्ष्य पछ्याउने क्रममा राप्तीले पहिलो बलमै विकेट गुमाएको थियो । नारायणीका करण केसीले पहिलो बलमै राप्तीका अमित श्रेष्ठलाई बोल्ड गरे । त्यसपछि अर्का ओपनर कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गर्दै राप्तीको इनिङ्स अघि बढाएका थिए । आसिफ शेख १४ रन बनाएर तेस्रो ओभरमा आउट भएपछि कुशलले तेस्रो विकेटका लागि सुमित महर्जनसँग ७३ रनको साझेदारी गर ।

११औं ओभरमा कुशल पनि आउट भएपछि भने राप्तीले निरन्तर विकेट गुमायो । ११औं ओभरको पाँचौ बलमा आउट हुनुअघि कुशलले ४१ बल खेल्दै ४ चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ६५ रन बनाए । सुमित १२ रन बनाएर आउट भए । त्यसपछि हरि चौहान ४, भुवन कार्की ३ र कप्तान विनोद भण्डारी पनि ४ रनमा आउट भएपछि राप्तीको इनिङ्स धर्मराएको थियो ।

जितेन्द्र मुखिया १ रनमै आउट भए भने अभिनाश बोहराले खाता खोल्न सकेनन् । १७.५ ओभरमा १२० रन हुँदा नवौं विकेट गुमाएको राप्तीलाई जितका लागि १३ बलमा १९ रन आवश्यक थियो । करण केसीले बलिङ गरेको १९औं ओभरमा कमलले २ चौका र १ छक्का प्रहार गरेपछि राप्तीले १५ रन जोड्दै अन्तिम ओभरमा जितका लागि ४ रन आवश्यक बनायो । नारायणीका दिपेश श्रेष्ठले अन्तिम ओभरमा दुई पटक विकेट लिए पनि दुवै पटक नो बल फाल्दा नारायणी जितबाट चुक्यो ।

नारायणीका लागि बलिङमा करण केसीले सर्वाधिक ३ विकेट लिए । करणले ४ ओभरमा १ मेडन राख्दै २४ रन खर्चिए । यस्तै किशोर महतो र सुशन भारीले २-२ तथा दिपेश श्रेष्ठ र शहाब आलमले समान १ विकेट लिए ।

किफायती बलिङ गरेका शहाब आलमले ४ ओभरमा २ मेडन राख्दै ६ रन खर्चेर १ विकेट लिए ।

बागमती प्रदेश क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको मंगलबार हुने फाइनलमा पनि यही दुई टोली नै प्रतिस्पर्धा गर्दैछन् ।

यसअघि दुवै टिमले बागमतीलाई पराजित गर्दै एक खेलअघि नै फाइनलमा स्थान पक्का गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment