Comments Add Comment
फेवा किनारमा चलिआएको नियम :

महानगर डोजर चलाएझैं गर्छ, संरचना थपिँदै जान्छ !

२८ मंसिर, पोखरा । २० पुस २०७४ मा डोजरसहित पोखराको खपौंदीमा जनप्रतिनिधि, प्रशासन र सुरक्षाकर्मीसहित महानगरको टोली पुग्यो । फेवाताल किनार खपौंदी, गैराको चौतारामा मापदण्डविपरीतका निर्माणाधीन अस्थायी संरचना महानगरले भत्कायो । निर्माणस्थलबाट निर्माण सामाग्री महानगरले जफत गर्‍यो ।

स्थानीय तहको निर्वाचन भएर पोखरा महानगरपालिकामा जनप्रतिनिधि आएको वर्षदिन पनि पुगेको थिएन । तालको मापदण्ड मिचेर बनेका केही अस्थायी संरचना भत्काएपछि मेयर मानबहादुर जिसीले चेतावनी दिए, ‘कसैले मापदण्ड मिचेर संरचना बनाउँछु र कमाउँछु भन्ने नसोचे हुन्छ । हिजोको जस्तो चल्दैन, महानगरमा जनप्रतिनिधि आइसके अब कसैको अवैध धन्दा चल्दैन ।’

फेवा किनारमा निर्माणाधीन संरचनामा डोजर चलाएपछि मेयर जिसी चर्चामा आए । सञ्चारमा माध्यममा छाएका जिसीले घोषणा नै गरेका थिए, ‘हिजो कसरी संरचना बने त्यसको पनि निर्णय होला तर अब आइन्दा कुनै पनि अवैध संरचना बन्ने छैनन् ।’

महानगरले अस्थायी संरचना भत्काएको भनिएको क्षेत्रमा फेरि संरचना बन्न थाले । फेवा तालको पानीमै पिल्लर ठड्याएर थुप्रै संरचना बने तर मेयर जिसीले भनेझैं न त्यसपछि निर्माण रोकियो न मापदण्डविपरीतका संरचना भत्किए । त्यसयतामात्रै फेवा किनारमा १०/१५ वटाभन्दा बढी रेस्टुरेन्ट र अस्थायी संरचना निर्माण भइसकेको स्थानीय बताउँछन् ।

त्यही खपौंदीमा शनिबार त्यस्तै अर्को घटना दोहोरियो । खपौंदीमा पानीको सतह घटेको तालमै टाँसेर संरचना निर्माणका लागि जग बसाल्ने काम भइरहेको थियो । त्यहाँका रेस्टुरेन्ट व्यवसायीले सडकभन्दा मुनि तालसँगै जोडेर संरचना निर्माण गर्न भन्दै लगाइरहेको पर्खालमा एक्कासी महानगरको डोजर चल्यो ।

सुरक्षा दस्तासहित पुगेको टोली संरचना निर्माणका लागि उठाउँदै गरेको बाण्डो भत्काएर फर्कियो । बाण्डो भत्काएपछि महानगरका मेयरले फेरि भने, ‘पटक–पटक चेतावनी दिँदा पनि निर्माण नरोकिएपछि संरचना भत्कायौं । अब कुनै पनि संरचना बन्न दिँदैनौं ।’

रोचक कुरा त के छ भने ३ वर्ष अगाडि संरचना भत्काएर मेयरले अब संरचना बन्दैन भनेको ठाउँमा सयौंको भीड लाग्ने रेस्टुरेन्ट बनेको छ । मेयरले भत्काएकै ठाउँमा अहिले चराको गुँडसहितको सञ्चालनमा आएको पाल्म विच एण्ड लाउञ्ज आकर्षणको केन्द्र बनेको छ । लाउञ्जले अहिले पनि जालीले छेकेर निर्माणको काम गर्दै आएको छ ।

डोजरसहित त्यही बाटो भएर गएको टोलीले पहिले भत्काएर निर्माण भएको लाउञ्ज र त्यसले निर्माण गरिरहेको संरचना देखेन । त्योभन्दा केही मिटर उता निर्माण हुन लागेको संरचनाको बाण्डोमात्र भत्काएर टोली फर्कियो ।

भत्काएर फर्किन नपाउँदै निर्माण सुरु

पोखरा महानगरले निर्माणाधीन संरचनाको पर्खाल भत्काएर फर्किनेबित्तिकै उता भने फेरि काम सुरु भइसकेको थियो । मेयर जिसीले अवैध संरचना भत्काइएको बताइरहँदा उता पनि फेरि जाली लगाउने र काम थाल्ने तर्खर भइसकेको थियो । यद्यपि एकाविहानै फेरि त्यहाँ पुगेर महानगरको टोलीले त्यसलाई भत्कायो ।

महानगरले भत्काउने हो भने मापदण्डबिपरीतका अरु संरचना पनि भत्काउनु पर्ने भन्दै सञ्चालकहरुले निर्माणको काम थालेका थिए । खपौंदीमा पामेतिर जाने सडकतिर दियो रेस्टुरेन्ट सञ्चालनमा थियो । ५ जना युवा मिलेर रेस्टुरेन्टसहित ९ रोपनी जग्गा भाडामा लिए । उनीहरुले ताल छेउमा संरचना निर्माण गरिरहेका छन् ।

महानगरले भत्काउँदै जाने र ताल किनारमा संरचना बन्दै जाने चलिआएको नियमका रुपमा उनीहरुले हेरेका छन् । संरचना निर्माण गरिरहेका व्यवसायी आफू भने खुल्न चाहेनन् । ‘यो त चलिआएको नियम हो । उनीहरुको भत्काउने हो, हाम्रो काम बनाउने हो,’ एक सञ्चालकले भने, ‘कि सबै भत्काउनुपर्‍यो , नत्र कसैलाई काखा, कसैलाई पाखा गर्न पाइँदैन ।’

१६ रोपनी जग्गा भाडामा लिएकोमा तालको कारण ९ रोपनीमात्र बाँकी रहेको उनीहरुको भनाइ छ । ३ महिनाअघि रेस्टुरेण्ट सञ्चालनका लागि भाडामा लिएका उनीहरुले महानगरले जति पटक भत्काए पनि बनाउन नछोड्ने चेतावनी दिए । सो ठाउँमा गार्डेनसहितको संरचना बनाउन २४/२५ करोडको योजना बनाएको उनीहरुले सुनाए ।

खपौंदी क्षेत्रले यसरी खिच्यो सबैको ध्यान

कोरोनाको संकटमा लेकसाइड भनेर चिनिएको क्षेत्रका व्यवसाय थलिएकै छन् । लकडाउन खुले पनि त्यहाँका होटल, रेस्टुरेन्ट, बार अझै तंग्रिन सकेका छैनन् । लेकसाइडमा अझै चहलपहल बढिसकेको छैन । तर, त्यसको पूर्वको सेदी, खपौंदी लगायतका पामे क्षेत्रमा भने लकडाउनकै बीच पनि व्यवसाय नखुले पनि ठूलो भीड लाग्न थालिसकेको थियो ।

लकडाउनपछि उकुसमुकुस भएर बसेका मानिसहरु निस्कन थाले । चाडबाडको छेको सुरु भएपछि त खपौंदीतिरका रेस्टुरेन्ट भरिभराउ हुन थाले । पोखरा र नेपालका विभिन्न ठाउँबाट आफ्नै साधन भएका मानिस घुम्न निस्किन थालेपछि यो क्षेत्रका रेस्टुरेन्टलाई भ्याननभ्याइ भयो ।

चराको गुँडजस्तो बनाइएको ठाउँमा फोटो खिच्न पाल्म विच एण्ड लाउञ्जमा एकै दिन १५ सय जनासम्म आए । तालको मापदण्डभित्र नपर्ने भए पनि सोही क्षेत्रमा बनेको अल्फान्जु रिसोर्टले सयौंलाई आकर्षित गर्‍यो । कोको विच रेस्टुरेन्टले तालकै पानी माथि संरचना बनाएको छ । सनडाउन रेस्टुरेन्ट, सम्धिनी आडमा लेक स्वर पनि निर्माण सम्पन्नकै क्रममा छन् । फेवा फिस, पुरानो यस्ता थुप्रै रेस्टुरेन्ट भरिभराउ देखिए ।

लेकसाइडदेखि पामे जाने सडकको आसपासको क्षेत्र मानिसहरुको रोजाइ बन्न थाल्यो । सडकभन्दा तलको जमिन तालसँग जोडिएको छ । कोरोनाअघि र कहरकै बीच पनि सो क्षेत्रमा संरचना निर्माण भइरहेको थियो तर खासै कसैले ध्यान दिएनन् ।

कोरोनाअघि मान्छेको खासै चहल–पहल र आकर्षणको केन्द्र नबनेको क्षेत्र लकडाउनपछि एक्कासी गुल्जार बनेपछि सबैको ध्यान खिच्यो । खपौंदी, पामेतिरमात्रै मान्छे ह्वारह्वार्ती जान थालेपछि लेकसाइडतिरका व्यवसायी पनि अचम्मित परे ।

यसरी एकाएक यो क्षेत्र चम्किएपछि अहिले पनि धमाधम नयाँ संरचना निर्माण भइरहेका छन् । कोरोनाले बन्द भएका रेस्टुरेन्ट पनि महंगोमा जान थाल्यो भने जग्गा लिजमा लिने–दिने क्रम पनि ह्वात्तै बढ्यो ।

मान्छेको आकर्षण बढेसँगै खपौंदी–पामे क्षेत्रमा तालको मापदण्ड मिचेर संरचना बनाउने क्रम पनि बढेको हो । त्यही क्रममा ५ जना रेस्टुरेन्ट व्यवसायीले फेवातालमै जोडेर संरचना निर्माणको काम थालेका थिए । यो ठाउँ नपुग्दै अलि वरै सडकमाथि निर्माणाधीन विच बार एण्ड सन लाउञ्चले पनि ताल किनारमै बालुवा हालेर विच बनाउने योजना बुनिरहेको छ । त्योभन्दा केही मिटर पर अर्को एक रेस्टुरेन्टले पनि उसैगरी तालमै जोडेर संरचना निर्माण गर्ने काम गरिरहेको छ ।

मान्छेको आकर्षणको केन्द्र बने पनि तालको मापदण्ड मिचेर संरचना बनाउने क्रम बढेको भन्दै आलोचना बढेको थियो । लेकसाइडका व्यवसायीले पनि पटक–पटक महानगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।

सांसद राजीव पहारीले केही दिनअघि पोखरा पर्यटन परिषदको अधिवेशनमा यो क्षेत्रमा अवैध रुपमा बनिरहेका संरचना भोलिको चुनौति बन्न लागेको बताएका थिए । चौतर्फी आलोचना भइरहेका बेला तालको पानीबाटै संरचना निर्माणमा बाण्डो उठाएपछि महानगरले शनिबार डोजर चलाएको थियो । फेवातालको मापदण्डभित्रको संरचना हटाउने भन्दै पोखरा महानगरले फेरि एक पटक फण्डा गरेको भन्दै स्थानीयले शंका गरेका छन् ।

सर्वोच्च अदालतले  १६ वैशाख २०७५ मा फेवाताल संरक्षण गर्न आदेश दिएको थियो । फेवातालको सीमांकन गरी मापदण्ड कायम गर्न सर्वोच्चले आदेश दिएको साढे २ वर्षपछि सरकारले फेवाताल सम्बन्धी टुंगो लगाउने अन्तिम समिति भन्दै पुण्य पौडेलको संयोजकत्वमा सीमांकन समिति गठन गरेको छ ।

महानगरले नै गरेको अध्ययनअनुसार ५ सय भन्दा बढी संरचना मापदण्ड मिचेर बनेका छन् भने १ हजार रोपनीभन्दा बढी जमिन फेवातालको कायम गर्नु पर्नेछ ।

मेयर जिसी भन्छन्– महानगरलाई नजिस्क्याए हुन्छ

अहिले पनि फेवा किनारमा जबर्जस्ती संरचना निर्माण भइराखेको छ । मापदण्डभित्र पर्छ भन्ने थाहा हुँदाहुँदै मान्छेहरुले रातारात संरचना निर्माण गरिरहेका छन् । विधि र नियम मिच्ने छुट कसैलाई छैन । त्यसैले शनिबार हामीले तालमै बनाएको संरचना भत्काएका हौं ।

पहिले पनि पटक–पटक हामी संरचना बन्न नदिने भत्काउने, पत्र काट्ने, चेतावनी दिने काम गर्दै आएका थियौं । हामी आइसकेपछि पनि २/३ चोटी ताल किनारका अवैध संरचना भत्काएका हौं । पछि उच्च अदालतले अर्को निर्णय नहुँदासम्म नभत्काउनू भन्यो ।

अहिले फेरि तालको मापदण्ड मिच्ने क्रम बढेपछि एक्सनमा गएका हौं । स्थलगत रुपमा पनि हेरेर आएँ । अब कुनै पनि हालतमा बनाउन दिनुहुन्न । हामीले भत्काएपछि पनि कसैले अटेरी गर्छ भने फेरि जेसिभी लिएर गएर भत्काएर फालिदिन्छौं । अवैध काम गर्ने र ठूला कुरा गर्ने गर्छन् भने ल्याएर कोचिन्छ । अब कसैले महानगरलाई नजिस्क्याए हुन्छ ।

फेवातालको मापदण्डबारे सीमांकन समितिले २ महिनाभित्र किनारा लगाउँछ । यसभन्दा अगाडि पनि भत्काएर निर्माण भएका ठाउँमा फेरि डोजर लगेर भत्काएर छोड्छौं । निर्माण भइराखेकाहरुको पनि शिलबन्दी गरिदिन्छौं, हामी । प्रशासनसहित फेरि हामी फिल्डमा खटिन्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment