Comments Add Comment

मेलम्चीको गुणस्तर जाँच्न एडीबीले पठायो विदेशी विज्ञ

फाइल तस्वीर

२९ मंसिर, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको अनुगमन तथा निरीक्षणको लागि दातृ निकाय एसियाली विकास बैंक (एडीबी)ले अन्तर्राष्ट्रिय विज्ञ टोली नेपाल पठाएको छ ।

काममा ढिलासुस्ती र लापरवाही भएको भन्दै एडीबीले निर्माणस्थलको निरीक्षण गर्न हाइड्रो मेकानिकल, सुरुङ, खानेपानी वितरण प्रणाली लगायतका विज्ञ रहेको चार सदस्यीय टोली पठाएको हो । आयोजनाका एक अधिकारीका अनुसार विज्ञ टोली शनिबारबाट आयोजना निर्माणस्थलमा पुगेको छ र एक हप्तासम्म नेपालमै रहेर आयोजनाको कामबारे जाँचबुझ तथा निरीक्षण गर्नेछ ।

०६४ सालमै निर्माण सक्ने गरी थालिएको मेलम्ची आयोजनाको म्याद पटक–पटक थपिँदै आएको छ । ०७५ पुसमा काम छाडेर इटालियन कम्पनी सीएमसी भागेपछि आयोजना ९ महिना रोकिएर अहिले नयाँ ठेकेदारमार्फत काम भइरहेको छ ।

गत २९ असारमा परीक्षणका लागि सुरुङमा पानी भर्न सुरु गरेको २४ घण्टा नबित्दै अम्बाथानको अडिट टनेलको गेट भत्किएपछि आयोजना अर्को समस्यामा फसेको छ । दुर्घटनामा एक जनाको मृत्यु भयो भने एक–एक जना घाइते र बेपत्ता भए ।

अहिले मुख्य सुरुङका चारवटै अडिट टनेलका गेट सुधार गरिँदैछ । गेट जडानको काम चलिरहँदा एडीबीको टिम आयोजना स्थलमा आइपुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यो पनि पढ्नुहोस सिक्टादेखि मेलम्चीसम्म : गौरवका आयोजनामा खेलाँची

विगतदेखि आयोजनाका पूर्वाधारको गुणस्तरबारे प्रश्न उठिरहेकाले एडीबीले यसबारे चासो देखाएको आयोजनाका अधिकारीहरु बताउँछन् । ‘प्राविधिक गल्ती हुन नदिन स्वतन्त्र पक्षका विज्ञहरु आएर निरीक्षण गर्नु सकारात्मक हो,’ आयोजनाका एक अधिकारीले भने, ‘परामर्शदाताले नै कमजोरी गर्दा विगतमा दुर्घटना हुन पुगेकाले अन्य विज्ञको परामर्श पनि आयोजनालाई उपयोगी हुनसक्छ ।’

गेट जोडिँदै

खानेपानी तथा सरसफाइ मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार सिन्धु र अम्बाथानको अडिट टनेलमा ‘हाइड्रोमेकानिकल गेट’ जडानको काम सकिएको छ । यसअघि जोडिएका गेटमा प्राविधिक कमजोरी भएकाले दुर्घटना भएको निष्कर्षसहित डिजाइन सुधारेर जोड्ने काम भइरहेको उनले बताए ।

अब अम्बाथान र सुन्दरीजलमा गेट जडानको काम बाँकी छ । गेट जडानपछि त्यसको आवश्यक निरीक्षण गरेपछि मात्रै सुरुङमा पानी भर्न सुरु गरिने शाक्यले बताए । कम्तिमा पुसभित्र परीक्षणका लागि सुरुङमा पानी भर्न सकिने अनुमान आयोजनाका अधिकारीहरुको छ । आयोजनाको मुहानमा बन्ने हेडवर्क्ससहित निर्माणको काम अहिले चिनियाँ कम्पनी सिनो हाइड्रोमार्फत भइरहेको छ ।

ठेकदार र आयोजनाले प्रधानमन्त्री कार्यालयमा बुझाएको कार्यतालिका अनुसार काम भयो भने २०७८ वैशाख २ गते (१५ अप्रिल २०२१) सम्म आयोजनाको काम सकिनेछ । जबकी खानेपानीमन्त्री बिना मगरले गत फागुन १ गते पत्रकार सम्मेलनमार्फत श्वेतपत्र जारी गरेर मेलम्चीको पानी २०७७ असार मसान्तसम्म काठमाडौंमा आइपुग्ने बताएकी थिइन् । मन्त्रीले तोकेको डेडलाइनको दबावमा तयारी र अध्ययन विना सुरुङमा पानी हाल्दा दुर्घटना नै निम्तिएपछि अहिले प्राविधिकहरु हतार नगर्ने निष्कर्षमा पुगेका छन् ।

के–के काम बाँकी छन् ?

मन्त्रालयका प्रवक्ता शाक्य भने सुरुङभित्रको सबै काम सकिएपछि पानी भर्न थालिने बताउँछन् । आयोजनाको स्थायी बाँध र बालुवा थिग्राउने संयन्त्र (डिसेन्डर) बनिनसकेपनि यसअघि नै बनाइएको स्थायी बाँधमार्फत सुरुङमा पानी हाल्ने योजना छ ।

पानी भर्न थालेको १५ देखि २० दिनमा २६ किलोमिटरको सुरुङ भरिन्छ । परीक्षणका लागि पहिले जसरी नै प्राविधिक मापदण्डअनुसार प्रतिसेकेन्ड २६० लिटर पानीका दरले सुरुङमा पानी प्रवाह गरिनेछ । सुरुङमा पानी भरिएपछि करिब १० दिन यतिकै राखिनेछ । त्यसपछि प्रतिसेकेन्ड २६० लिटरकै दरमा १५ देखि २० दिन लगाएर बाहिर पानी फालेर सुरुङ खाली गरिनेछ । पानी सबै फालिसकेपछि करिव ७ दिन लगाएर सुरुङको गुणस्तर परीक्षण गरिनेछ ।

कुनै केही समस्या देखिए त्यसलाई सम्बोधन गर्नुपर्छ । यो सबै काम सकिएपछि मात्र नियमित रुपमा सुरुङमा पानी भर्न थालिने छ । फेरि पुरानै प्रक्रियाबाट सुरुङ भर्नुपर्छ ।

यो पानी सुन्दरीजलमा तयार रहेका २ वटा प्रशोधन केन्द्र हुँदै वितरण प्रणालीमा पठाइने छ । सबै अवस्था सामान्य हुँदा मेलम्चीको पानी मुख्य वितरण लाइनमा पठाउने काम थाल्न पुसपछि पनि दुईदेखि तीन महिना लाग्ने अनुमान छ ।

मेलम्चीको पानी वितरण गर्न शहरका धेरै भागमा नयाँ लाइन जोडिएका छन् । आठवटा नयाँ ट्यांकी बनेका छन् । मेलम्चीको पानी सुन्दरीजल झरेपछि ट्यांकी र पाइपलाइनको सफाइ र परीक्षण गर्नुपर्ने हुन्छ । चक्रपथ आसपासका एक तिहाइ क्षेत्रमा पुरानै पाइपबाट मेलम्चीको पानी वितरण हुनेछ । महाराजगञ्ज, धुम्बाराही, समाखुसी, कलंकी क्षेत्रमा नयाँ पाइप राख्न बाँकी छ ।

आयोजनका अधिकारीहरुका अनुसार सुन्दरीजलमा पानी खसेको एक वर्षसम्म वितरण प्रणालीलाई व्यवस्थापन गर्न समय लाग्नेछ । पुराना प्रणालीलाई हटाउँदै नयाँमा पानी पठाउने र घर–घरमा पानी पु¥याउने काम क्रमशः गर्दै जाने योजना छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी मात्रै आउने छ ।

काठमाडौंमा मेलम्चीको पानी वितरणको काम काठमाडौं उपत्यका खानेपानी लिमिटेडले गर्नेछ । मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको सुरुङबाट सिन्धुपाल्चोकस्थित यांग्र्री र लार्के खोलाको पानी ल्याउने दोस्रो परियोजनामा काम थाल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment