Comments Add Comment

न्युजिल्याण्डद्वारा वेष्ट इन्डिजविरुद्धको सिरिज क्लिन स्वीप

२९ मंसिर, काठमाडौं । घरेलु टोली न्युजिल्यान्डले वेष्ट इन्डिजविरुद्ध दोस्रो तथा अन्तिम टेष्ट इनिङ्स १२ रनले जित्दै सिरिज क्लिन स्वीप गरेको छ ।

पहिलो टेष्टमा पनि इनिङ्स अन्तरको जित हात पारेको न्युजिल्याण्डले दुई खेलको सिरिज २-० ले आफ्नो पक्षमा पारेको हो । त्यसका लागि न्युजिल्याण्डले सोमबार बिहान एक घण्टामै खेल सकायो ।

वेष्ट इन्डिजले २४४-६ को अवस्थाबाट चौथो दिनको खेल सुरुआत गरेको थियो । कप्तान ज्यासन होल्डर ६० र जोशुअ दा शिल्भा २५ ले खेल अघ बढाएका थिए । तर किबी बलरले उत्कृष्ट प्रदर्शन गरेपछि पहिलो सत्रमै वेष्टइन्डिजले थप ७३ रन जोड्ने क्रममा बाँकी चार विकेट गुमायो र ३१७ रन बनाएर आउट भयो ।

फलोअनमा परेको वेष्ट इन्डिजलाई इनिङ्स अन्तरको हार जोगाउन र न्युजिल्याण्डलाई फेरि ब्याटिङ गराउनकम्तीमा पनि दोस्रो इनिङ्समा ३३० रन कटाउनुपर्ने थियो । तर वेष्ट इन्डिज १२ रनले पछाडि रह्यो ।

वेष्टइन्डिजका लागि दोस्रो इनिङ्समा ओपनर जोन क्याम्पबेलले सर्वाधिक ६८ रन बनाए । यस्तै कप्तान होल्डरले ६१ र विकेटकिपर डा शिल्भाले ५७ रन जोडे ।

वेष्ट इन्डिजलाई अलआउट गर्न न्युजिल्याण्डका टिम साउथी, ट्रेन्ट बोल्ट र निल वाग्नरले ३-३ विकेट लिए भने कायल जेमिसनले २ विकेट लिए ।

वेलिङ्टनमा भएको टेष्टको पहिलो इनिङ्समा न्युजिल्याण्डले हेनरी निकोल्सको शतक मद्दतमा ४६० रन बनाएको थियो । उनले १७४ रन बनाए ।

वेष्ट इन्डिज भने पहिलो इनिङ्समा १३१ रनमै अलआउट भयो जहाँ जर्मेन ब्ल्याकउडले सर्वाधिक ६९ रन बनाएका थिए । न्युजिल्याण्डका लागि टिम साउथी र कायल जेमिसनले समान ५ विकेट लिएका थिए ।

खेलको म्यान अफ दि म्याच न्युजिल्याण्डका हेनरी निकोल्स घोषित भए । यस्तै सिरिजभर ११ विकेट लिएका जेमिसन म्यान अफ दि सिरिज घोषित भए ।

पहिलो टेष्टमा न्युजिल्याण्डले वेष्टइन्डिजलाई इनिङ्स र १३४ रनले जितेको थियो ।

वेष्ट इन्डिज विरुद्धको सिरिज क्लिन स्वीप गरेपछि न्युजिल्याण्ड ३०० अंक जोड्दै आईसीसी वर्ल्ड टेष्ट च्याम्पियनसिपको तेस्रो स्थानमा उक्लेको छ ।

यस्तै टेष्ट वरीयतामा न्यूजिल्याण्ड दोस्रो स्थानमा छ । टेष्ट वरीयतामा अष्ट्रेलिया ११६.४६१ अंकसहित शीर्ष स्थानमा छ भने न्युजिल्याण्डको ११६.३७५ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment