Comments Add Comment
सामन्तवादको दुश्चक्र :

उखुको पैसा उठाउन ऋण काढेर काठमाडौं !

कम्युनिस्ट सरकार चिनी मिलका मालिकसँग मिलेको किसानको आरोप

२८ मंसिर, काठमाडौं । सर्लाही, खरर्वाका गगनदेव रायको परिवारको आयआर्जनको स्रोत भनेकै उखु खेती हो । उनले चार बिगाह खेतमा उखु लगाउँथे । त्यसैबाट आएको रकमले दुई छोरासहित १० जनाको परिवारको गर्जो टार्दै आएका थिए ।

रायको परिवारले जिल्लाकै अन्नपूर्ण र महालक्ष्मी सुगर मिललाई वार्षिक ६०० मेट्रिक टनसम्म उखु पुर्‍याएका छन् । तर, पछिल्ला वर्षहरुमा उखु मिलले बदमासी गर्न थाले । उखु लगेपछि पैसा पाउन गाह्रो हुन थाल्यो । उनले पाउनुपर्ने रकम झण्डै ४ लाख छ । मिलबाट दिएपछि तिरौंला भन्दै ऋण लिएर परिवारको गर्जो टार्दै गए ।

घर खर्च चलाउन साहु महाजनबाट ३६ प्रतिशत ब्याजमा लिएको ऋण सावाँ ब्याज गर्दा ७ लाख पुग्यो । ऋण तिर्न उखु लगाउने खेत नै बेच्नुपर्ने अवस्था आएपछि उनी सिंहदरबारलाई आफ्नो पीडा सुनाउन अरु उखु किसानसँगै काठमाडौं आउन कस्सिए, सदरमुकाम मलंगवा पुगे ।

‘गोजीमा ३०० रुपैयाँ मात्र थियो । मलंगवा आएर १० हजार रुपैयाँ ऋण लिएर काठमाडौंका लागि बस चढे’ आइतबार माइतीघर मण्डलामा भेटिएका रायले अनलाइनखबरसँग दुःखेसो पोखे, ‘चिनी मिलको बदमासीमा सरकारले आँखा चिम्लिएपछि म नराम्रोसँग ऋणमा डुबंे ।’

उनले अघि भनेका छन्, ‘अब हम पैसा लेकर जायेगें, नहीँ तो यही पर ज्यान हत्या कर देगें ।’ (अब पैसा लिएर मात्र जान्छु, नभए यहीँ आत्महत्या गरिदिन्छु)

७४ वर्षीय राजिन्द्र मण्डलको अवस्था पनि उस्तै छ । मण्डलले चिनी मिलबाट डेढ लाख रुपैयाँ पाउन बाँकी छ । ‘ऋण गरेर काठमाडौं आएको तीनपटक भयो, हरेकपटक उधारो आश्वासन मात्रै पाएँ,’ मण्डलले गुनासो गरे, अब पैसा लिएर मात्रै फर्किने हो ।’

सर्लाही रामनगरका दिपेन्द्र यादव पनि उखुको बक्यौता माग गर्दै आन्दोलन गर्न काठमाडौं आइपुगेका छन् । चिनी मिलबाट आफ्नो रकम दिलाइदिन माग गर्दै काठमाडौंं आएका उनी भन्छन्, ‘पहिलेपटक आन्दोलन गरेर फर्किएपछि एक साता आउँछ, अर्को महिना आउँछ भन्दै वर्ष दिन कटायो । अब पैसा पाएन भने यही भोक हड्ताल गर्नुको विकल्प छैन ।’

आन्दोलनमा सहभागी सर्लाही बटौलीका गौरीशंखर पण्डितले पनि चार वर्षदेखि मिलबाट उखुको पैसा पाएका छैनन् । यसअघि कहिल्यै काठमाडौं नआएका उनी आफ्नो मिहेनतको मूल्य दिन माग गरिरहेका छन् । वर्षभरि पसिना बगाएर मिललाई बुझाएको उखुको मूल्य दिलाइदिन उनले सबैलाई अपीलसमेत गरे ।

‘सरकार चिनी उद्योगीसँग मिल्यो’

आन्दोलनमा उत्रिएका उखु किसानहरुको मिलप्रति जति आक्रोश छ, सरकारप्रति त्यतिकै आशंका छ ।

सरकार चिनी उद्योगीसँग मिलेको उनीहरुको आरोप छ । त्यही कारण किसानहरु रुँदै सडकमा आउनुपरेको उखु किसान संर्घस समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताए । गत वर्ष उद्योग मन्त्रालयमा भएको सहमति कार्यान्वयनको माग गर्दै उनले भने, ‘सरकारले उद्योगीहरुबाट हाम्रो रकम उठाइदेओस् ।’

कति छ बक्यौता ?

आइतबार काठमाडौंमा सुरु भएको आन्दोलनमा सर्लाहीका करीब दुई दर्जन उखु किसान सहभागी भए । जिल्लाबाट अरु पनि किसान आउने क्रममा रहेकाले संख्या बढ्दै जाने मिश्रले जानकारी दिए । किसानहरुले हरेक दिन बिहान ११ देखि साँझ पाँच बजेसम्म माइतीघर मण्डलामा धर्ना दिने बताएका छन् ।

आन्दोलनरत किसानहरुका अनुसार सर्लाहीका किसानले दुईवटा चिनीमिलबाट ३६ करोड रुपैयाँ पाउन बाँकी छ । संघर्ष समितका संयोजक राकेश मिश्रका अनुसार देशभरबाट उखु किसानले ९० करोड रुपैयाँ चिनीमिलबाट पाउनु पर्नेछ । सर्लाहीमा मात्रै अन्नपूर्ण चिनी मिलको ३० करोड र महालक्ष्मी सुगर मिलको ६ करोड रुपैयाँ किसानलाई दिन बाँकी रहेको मिश्रले बताए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने उखु मिलहरुले किसानलाई ५५ करोडभन्दा बढी दिनुपर्ने बताएको छ । गतवर्ष पुसमा भएको समझदारीपछि केही प्रगति भएकाले बक्यौता घटेको मन्त्रालयकी सहप्रवक्ता उपसचिव उर्मिला केसीले बताइन् ।

श्रीराम सुगर मिलले २६ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख, लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख र अन्नपूर्ण सुगर मिलले १७ करोड रुपयाँ दिन बाँकी छ । श्रीरामले बक्यौता तिर्न जग्गा बिक्रीको प्रस्ताव राखेको भए पनि भूमिसुधार मन्त्रालयले स्वीकृति नदिएको सहप्रवक्ता केसीले बताइन् ।

यता अन्नपूर्ण सुगर मिलले आइतबार नै विज्ञप्ति निकालेर उद्योग बिक्री गरेर किसानको बक्यौता तिर्ने बताएको छ । गत वर्ष पुसमा भएको सहमतिपछि आफूहरुले १८ करोड रकम दिइसकेको मिल सञ्चालक राकेश अग्रवालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

इन्दिरा र अन्नपूर्ण मिलले पनि २२ करोडमध्ये ८.५ करोड ३० दिनभित्र र बाँकी छिट्टै तिर्ने समझदारी प्रमुख जिल्ला अधिकारीहरुसँग गरेको मन्त्रालयले जनाएको छ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment