Comments Add Comment

उपराष्ट्रपतिसँग बंगलादेशका राजदूतको भेट

२९ मंसिर, काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धिन नोमन चौधरीले उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेट गरेका छन् ।

सोमबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका बारेमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

भेटमा उपराष्ट्रपति पुनले बंगलादेश नेपालको घनिष्ठ मित्र राष्ट्र भएको बताएका थिए ।

उपराष्ट्रपतिले बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको भ्रमणले नेपाल र बंगलादेशको सम्बन्ध अझै उचाइमा पुगेको उल्लेख गर्दै नवनियुक्त राजदूत चौधरीको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप सुदृढ र विस्तार हुने विश्वास व्यक्त गरेका थिए ।

‘कोभिड–१९ बाट विश्वसँगै नेपाल पनि छिट्टै सहज अवस्थामा फर्कनेछ । हामी पर्यटकलाई स्वागत गर्न आतुर छौं’, उपराष्ट्रपतिले भने, ‘बंगलादेशबाट ठूलो संख्यामा पर्यटक नेपाल आउनेमा विश्वस्त छौं ।’

उपराष्ट्रपतिसँगको भेटमा बंगलादेशका राजदूत चौधरीले नेपाल बंगलादेशको अत्यन्तै घनिष्ठ मित्र राष्ट्र भएको बताए । बंगलादेशको स्वतन्त्रतापछि नेपालले गर्दै आएको सहयोगका लागि धन्यवाद दिंदै उहाँले बंगलादेशको स्वतन्त्रतामा समर्थन गर्ने नेपाल सातौं राष्ट्र भएको बंगलादेशी जनताले कहिल्यै नबिर्सने बताए ।

राजदूत चौधरीले वाणिज्य र पर्यटनमा नेपालसँग बंगलादेशले सहकार्य विस्तार गर्न चाहेको बताए । बंगलादेशका राजदुतले बंगलादेशबाट नेपालले मल किन्ने सम्बन्धी सम्झौता आगामी साता हुने जानकारी उपराष्ट्रपति पुनलाई गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment