Comments Add Comment

अख्तियार प्रधानमन्त्रीको इसारामा चल्यो : रामचन्द्र पौडेल

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार भ्रष्टाचारमा डुबिसकेको बताएका छन् ।

सरकारको विरोधमा कांग्रेसले काठमाडौंमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै पौडेलले भ्रष्टचारको कथा त भनिसाध्य नभएको बताए । उनले भने, ‘मैले भन्नु पर्दैन, सचिवालयका बहुमत नेताले भनिसके, यो सरकार नालायक हो, भ्रष्टाचार हो ।’

भ्रष्टाचारको छानबिन गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि प्रधानमन्त्रीको इसारामा चलेको र केहीलाई खतमाफ दिने अड्डा बनेको उनले बताए ।

‘जबजब मन्त्रीले भ्रष्टाचार गरेको काण्ड आउँछ, तबतब प्रधानमन्त्री स्वयंम अगाडि सरेर यो मन्त्री त चोखै छन्, मन्त्री त निर्दोष छन् । यो मन्त्रीलाई केही हुँदैन भनेर अख्तियातिर इसारा गर्छन् । अनि अख्तियार त्यो केसलाई मुल्तबीमा राख्छ,’ उनले भने, ‘सरकारको इसारामा चल्ने हो भने त्यो आयोग किन चाहियो ?’

आफूहरु दूधले नुहाएको छौं नभन्ने उनले बताए । तर आफैंले अख्तियारको कानुन प्रस्ताव पेस गरेर त्यही कानुनअनुसार हत्कडी लगाएको दृष्टान्त पेस गरेको उनले बताए ।

भ्रष्टाचार, असुरक्षा पक्षपात बढेको तथा राज्यलाई कम्युनिस्टकरण गर्ने दुस्साहस भइरहेको उनले बताए । ‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि सर्वसत्तावादी कम्युनिस्ट र प्रतिगामी तत्व र हिजोकै माओवादीको भद्दा नक्कल गर्ने विप्लले प्रहार गर्दैछन्’ उनले भने, ‘उनीहरु सबै प्रतिक्रियावादी, प्रतिगामी हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment