Comments Add Comment

‘प्रचण्डले लेखेको कुराको हिसाब चाहिन्छ’

'प्रधानमन्त्रीजी तपाईं नाङ्गै हिँडिराख्नुभएको छ, लुगा लगाएको भ्रममा नपर्नुस्'

गएको वर्ष चैत ११ गते सरकारले हामी सबैलाई एउटा अनुरोध गर्‍यो- तपाईंहरू घरभित्रै बसिदिनुस्, म कोरोना महाव्याधिको निणन्त्रणमा लाग्नेछु ।

तपाईंले मान्नुभयो, मैले मानें, हामी सबैले मान्यौं । सरकारलाई मद्दत गर्न हामी महिनौंसम्म आफ्नै घरभित्र बस्यौं । सरकारले भनेका सबै कुराहरू मान्यौं । उसलाई सहयोग पनि गर्‍यौं ।

त्यसपछाडि पनि सरकारले लगाएको प्रतिबन्धलाई केही खुकुलो मात्रै पार्‍यो, त्यसलाई पनि हामीले मान्यौं । संसदमा बोलायो, संसदमा गएर कुराहरू राख्यौं । सडक खाली थियो, कांग्रेसले चाहेका बेलामा यसैगरी सडक भर्न सक्थ्यो तर कांग्रेस सडकमा आएन । नजानेर नआएको होइन । आउन नसकेर नआएको होइन । सरकारलाई मद्दत गर्न आफ्नो जिम्मेवारी बुझेर नआएको हो ।

आज तपाईंहरूका बीचमा यसरी आउनुपरेको छ । यसरी आउँदै गर्दा धेरै खुसी लागेको छैन । कोरोना महामारी नियन्त्रणमा आइसकेको छैन । अगाडिका दिनहरु कस्ता हुन्छन् ? हामी कसैले पनि भन्न सक्दैनौं । तर पनि हामी सडकमा आउन बाध्य भएका छौं ।

सरकार संसदबाट भाग्यो । बालुवाटारको दुलोभित्र लुकेर षड्यन्त्र गरिरहेको सरकारलाई संसदबाट भागेको सरकारलाई, लल्कार्नका निम्ति, बरालिएको सरकारलाई ठेगानका ल्याउनका निम्ति कांग्रेस सडकमा आएको छ । अब घर फर्केर जाँदैन । जबसम्म सरकार ठेगानमा आउँदैन, तबसम्म कांग्रेस सरकारमा आइराख्छ।

सडकमा आउन बाध्य सरकारले बनाएको छ । यो क्रममा हामी सम्पूर्ण सर्तकता अपनाउँछौं । यो सबैका बाबजुद पनि कुनै क्षति हुन्छ भने यसको जिम्मेवारी सरकार आफैँले लिनुपर्छ ।

‘प्रचण्डले लेखेको कुराको हिसाब चाहिन्छ’

संसदमा नेपाल कम्युनिस्ट पार्टीको करिब-करिब दुईतिहाइ बहुमत छ । सातवटा प्रदेशमध्ये ६ वटा प्रदेशमा नेकपाको सरकार छ । चार सयभन्दा बढी स्थानीय तहमा नेकपाको साथीहरुले सरकार चलाइराख्नुभएको छ । सरकार शक्तिशाली छ । तर जनतालाई शक्तिशाली बनाउनका निम्ति एउटा पनि काम गर्न सकेको छैन । नालायक सरकार मूर्दावाद । देश र जनताको आकांक्षाप्रति यसको कति पनि संवेदना छैन । व्यक्ति पूजामा लागेको छ । तत्कालै गर्नुपर्ने काम गर्दैन, कहिले पूरा नहुने हावादारी कुरामा देश र जनतालाई झुक्याउँछ, हावादारी सरकार मूर्दावाद ।

मुखले भ्रष्टाचार गर्दिनँ भन्छ । भ्रष्टाचार सहन्न पनि भनेर भन्छ । तर वाइडबडी खर्लप्पै खान्छ । सेक्युरिटी प्रेस खरिदमा खान्छ । बालुटारको जग्गा खर्लप्पै खान्छ। यति ग्रुपसँग साँठगाँठ गर्छ। त्यतिमात्र होइन, कहिले आजसम्म नेपालमा कसैले नगरेको बजेट भाषण हुनुभन्दा पहिला व्यापारीलाई बोलाएर म राजस्वको दर यसरी तलमाथि गर्दैछु भनेर व्यापारीलाई पोस्ने काम गर्छ । त्यतिमात्र होइन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको भ्रष्टाचारको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोषी दिने वा सफाइ दिने फैसला गर्नुपर्नेमा प्रधानमन्त्री आफैँले अख्तियारको प्रमुखभन्दा पहिला यो निर्दोष हो भनेर घोषणा गरिदिनुहुन्छ । भ्रष्टाचारीको संरक्षण गर्ने प्रोत्साहन गर्ने भ्रष्टाचारी सरकार मूर्दावाद !

लकडाउन गर्‍यो, हामीलाई गर्व लाग्यो । महिनौंसम्म घरमा थुन्यो तर आफूले एउटा सिन्कोसम्म भाँचेन । श्रमजीवीहरू, मजदुरहरु त्यत्रो लामो यात्रा हिँडेर आए । स्वदेश फर्किने ठाउँमा पनि टिकटमा कमिसन खायो । स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार गरेर यो सरकारले सिङ्गो विश्वका अगाडि शिर झुकाउनुपर्ने अवस्था बनायो । यस्तो अर्कमण्य सरकार मूर्दावाद ।

भारतले लिम्पियाधुरा खायो, लिपुलेक खायो । संसदले आदेश दियो सरकारलाई- नक्सा सार्वजनिक गर । प्रतिपक्षी दलले आदेश दियो सरकारलाई- नक्सा बना । प्रधानमन्त्रीले व्यङ्ग्य गरेर बस्नुभयो । देशभक्त जनता सडकमा ओर्लिएपछाडि, संसदभित्र जनताका अवाजलाई एकतावद्ध बनाइसकेपछि बाध्य भएर नक्सा सार्वजनिक गर्यो । तर नक्सा सार्वजनिक गरिसके पछाडि बाध्य भएर गरेको प्रधानमन्त्रीले आफ्नै पार्टीभित्रको झगडामा मलाई हटाउनका निम्ति मेरै पार्टीका नेताहरूलाई भारतले उचालेको छ भनेर गैरजिम्मेवारीपूर्ण ढङ्गले प्रस्तुत हुनुभयो । गैरजिम्मेवार सरकार मूर्दावाद ।

शान्ति प्रक्रियाका बाँकी कामहरू सम्पन्न गर्नुपर्ने बेलामा, सत्य निरुपण मेलमिलाप आयोग र बेपत्ता आयोगको कामलाई ठीकठाक बनाउनुपर्ने बेलामा पार्टीभित्रको झगडामा आफूलाई माथि पार्नका निम्ति विदेशीहरुको षड्यन्त्रमा उनीहरुलाई बल पुग्नेगरी द्वन्द्वका घाउहरूलाई उप्काउन खोज्ने षड्यन्त्रकारी सरकार मूर्दावाद ।

तपाईंहरू सबैले मसँग मूर्दावादको नारा लगाउनुभयो । तर यो सबै कुराहरु मैले तपाईंहरुको अगाडि भनेँ- तर यो मैले भनेको होइन । केहीदिन अगाडि नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष पुष्पकमल दाहालले भन्नुभएको कुरा पढेर सुनाएको ।

पुष्पकमल दाहालले मात्र होइन, यो लेख्ने मान्छे को हो ? कमरेड माधव नेपाल, कमरेड झलनाथ खनाल, कमरेड बामदेव गौतम । वाह ! नेपाल कम्युनिस्ट पार्टी ! नेपाल कम्युनिस्ट पार्टी, जसको पूर्वप्रधानमन्त्रीहरुले आफ्नो प्रधानमन्त्रीका बारेमा भनेका कुरा मैले तपाईंहरूलाई पढेर सुनाएँ ।

अनि हामीले उहाँहरुको नाटक हेरेर बस्नुपरेको छ । आज उहाँहरु बैठक बस्नुभयो, हामीले पत्रिकामा पढ्यौं जुत्ताको बाहिर मोजा लगाउनुभयो । उहाँहरू बैठक बस्नुभयो । सोफा छाडेर पिर्कामा बस्नुभयो । हामी नेपाली जनता यही सुन्नका निम्ति बाध्य भएका छौं । गए दिन कमरेडहरु ! अब तपाईंहरुको लोलोपोतो मिलाउनोस्, के गर्नुस् हामीलाई थाहा छैन । तर यो लेखेको कुराको हिसाब-किताब अब हामीलाई चाहिन्छ । हामीसँग छ हिसाब-किताब ।

मैले सार्वजनिक मञ्चबाट भनेको छु- यो लेख्ने पुष्पकमल दाहाल, यसमा हस्ताक्षर गर्ने माधव नेपाल र झलनाथ खनालले कि भन्नुस् – कि अर्कोबेला थियो, खानपिन चलेको बेला थियो । बेसुर भएको बेलामा लेखियो भनेर भन्नुस् । होइन भने लेखेको कुराको जिम्मा लिनुपर्छ । तपाईंले भन्नुभएको छ- मेरो देशको प्रधानमन्त्री भ्रष्ट ।

तपाईंले भन्नुभएको छ मेरो देशको प्रधानमन्त्री राष्ट्रघाती । तपाईंले भन्नुभएको छ मेरो देशको प्रधानमन्त्री अर्कमण्य, अयोग्य । तपाईंले नेपाल कम्युनिस्ट पार्टीको अध्यक्षले नेताले, सांसदले जसले प्रधानमन्त्री बनायो । अनि त्यो प्रधानमन्त्री हामीले बोकेर हिँड्नुपर्ने ? तपाईंहरुको कुरा हामीले मानिदिनुपर्ने ?

तपाईंले भन्नुभयो भनेर होइन हामीले त योभन्दा धेरै पहिला भन्यौं । वैशाख १७ गते नेपाली कांग्रेसले विधिवत रूपमा आफ्नो बैठकबाट निर्णय गरेर भन्यौं- यस्तो महाव्याधिको बेलामा पनि भ्रष्टाचार गर्ने सरकार अपराधी हो, पापी हो । यो कुनै पनि सामान्य मान्छेले कल्पना पनि गर्न सक्दैन । एउटा राजनीतिकर्मीले कल्पना पनि गर्न सक्दैन । यस्तो बेलामा भ्रष्टाचार गर्ने ?

यो सरकार त्यसकारणले गर्दा प्रधानमन्त्री ओलीको सरकारले शासन गर्ने वैधता गुमाएको छ । नैतिकता गुमाएको छ । हामीले पार्टीको बैठकबाट निर्णय गरेर भनेका थियौं । यो निर्णय गर्ने अवस्था त्यतिकै आएको होइन । कांग्रेसले सन्केर गरेको पनि होइन, कुनै लहडमा आएर गरेको पनि होइन ।

२०६० सालमा नेपाली कांग्रेसका तत्कालीन सभापति पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला कैलालीको धनगढी आउनुभएको थियो । यहाँ आएका बेलामा मलाई गाउँको नाम याद छैन, हाम्रो एकजना पार्टीको साथीलाई माओवादीले दिनदहाडै गोली हानेर मार्‍यो । गिरिजाप्रसादले भन्नुभयो, म त्यहाँ जान्छु । म मेरो साथीलाई चारतारे झण्डा ओढाउन चाहन्छु । प्रशासनले भन्यो, तपाईं जान पाउनुहुन्न । आफ्नै पार्टीको साथीलाई झण्डा ओढाउन नपाइसकेपछि त्यो पीरको भारी बोकेर काठमाडौं फर्किनुभयो ।

गिरिजाप्रसादले पार्टीका साथीहरूलाई बोलाएर भन्नुभयो- यस्तो राजनीतिको केही पनि अर्थ छैन। मेरो साथी दिनदहाडै मारिन्छ । म त्यहाँ झण्डा ओढाउन जान पाउँदिनँ, म फूल ओढाउन जान पाउँदिनँ । म यस्तो राजनीतिलाई बदल्छु । हिंसाको आहालबाट नेपाललाई बाहिर निकाल्छु ।

एकपटक सम्झन आग्रह गर्न चाहन्छु पार्टीका प्रत्येक साथीलाई- त्यो बीचमा पटक-पटक तपाईंहरुको जिल्ला आएको छु । ०५९ साल, ०६० साल, ०६१ साल सम्झनुस् । त्योबेलाको कैलालीको अवस्था सम्झनुस् । यहाँको गाउँ-गाउँको अवस्था सम्झनुस् । बेलुकी जुलुस सकिए पछाडि घर पुगिन्छ कि पुगिन्न भन्ने त्योबेलाको अवस्था कल्पना गर्नुस् । हामी कस्तो त्रासमा बाँचेका थियौं । त्यो त्रासबाट त्यो हिंसाबाट चाहे माओवादी होस्, चाहे गैरमाओवादी होस् डर र त्रासमा डुबेको बेला त्यसबेलाको संकटबाट निकाल्ने संकल्प गिरिजाप्रसाद कोइरालाले गर्नुभयो । त्यही संकल्पको जगमा ०६२/०६३ को आन्दोलन भयो । त्यो आन्दोलनको उपलब्धिलाई जोगाउने क्रममा हामीले लामो यात्रा गर्यौं ।

संक्रमणको आरोह-अवरोह तर्दै गर्दा कहीँ दुर्घटनामा परिन्छ कि भन्ने लागेका बेलामा कांग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा संविधान निर्माण गर्ने काम सम्पन्न गर्यौं । संविधान त निर्माण गर्यौं तर देशको एउटा ठूलो हिस्साले संविधान निर्माणको प्रक्रियामा असन्तुष्टि जनाएको थियो । निर्वाचनमा भाग लिन्न भनेको थियो । संविधानले तोकेको समयभित्र निर्वाचन गराउन नसकेको भए संविधानको अर्थ हुँदैन’थ्यो । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस हार्न तयार भयो तर, देश हार्न दिन्न भन्ने संकल्पका साथ निर्वाचन सम्पन्न गराएको हो । हार्यौं, केही फरक परेन, यो पार्टी वीपी कोइरालाको पुस्ताले बनाउँदै गर्दा, यो पार्टी खोल्दै गर्दा देशमा कांग्रेस भन्ने पार्टी खोलिने छ । त्यो पार्टी चुनाव लड्नेछ, प्रत्येकपटक चुनाव जित्नेछ अनि वालुवाटारमा गएर बस्नेछ, सिंहदरबारमा गएर बस्नेछ भनेर बनाएको पार्टी होइन यो ।

अँध्यारोमा भएका नेपाली जनतालाई उज्यालोतर्फ लगिनेछ, दु:खमा भएका नेपाली जनतालाई दु:खको आहालबाट बाहिर निकालिनेछ भन्ने घोषणा, संकल्प र प्रतिवद्धताका लागि पार्टी हो । एउटा चुनाव हार्‍यौं केही फरक पर्दैन । अर्को जित्ने अभिलाषा राखेका छौं, जित्ने संकल्प गर्ने हो । हामीले हार्यौं, हामीले हार्दाहार्दै पनि हामीलाई जितको अनुभूति भयो- संविधान निर्माणको काम टुङ्ग्यायौं । मधेशमा भएका पार्टीहरू जो चुनावमा भाग लिन्न भनेका थिए, ती सबै दललाई चुनावमा भाग लिने बनायौं । सबै संविधान सभामा रहेका साथीहरू मिलेर बनाएको संविधानमा टेकेर संसदमा छिर्यौं । प्रधानमन्त्री ओलीको सरकार बन्यो । नेपाल कम्युनिस्ट पार्टीले अरूसँग मिलेर दुई तिहाइको सरकार बनाए ।

वीपी कोइरालाको कुरा गर्छौं हामी । न वीपी कोइराला, न जीपी कोइराला नेपालको इतिहासमा सबैभन्दा शक्तिशाली सरकार केपी ओलीको बन्यो । म अहिले पनि सम्झिन्छु त्यो दिन- पहिलो दिन जुनदिन संसदमा केपी ओलीले बहुमत प्राप्त गर्नुभएको थियो । केपी ओलीलाई धन्यवाद कसले दिने भन्ने चल्यो । मैले भनेँ म दिन्छु । संसदमा उभिएर धन्यवाद दिनलाई, बधाई दिनलाई । बधाई दिँदै गर्दा भनेको थिएँ- प्रधानमन्त्रीजी पाँच वर्ष नेपाल चलाउने मौका पाउनुभएको छ । चलाउनुस्, तपाईंले लेखेका कुराहरु, बोलेका कुराहरु प्रत्येक दिन तपाईंलाई सम्झाउने छौं । तपाईंलाई पूर्ण साथ दिनेछौं । तर जनतालाई धोका नदिनुस् ।

नेपाली जनताले धेरै लामो समय प्रतीक्षा गरिसके, संविधानको नाममा, परिवर्तनको नाममा लामो संक्रमण व्यतीत गरेका छौं । जनतासँग अब धैर्यता छैन, सहन सक्ने साहस पनि छैन । जनता आफ्नो जीवनमा परिवर्तन खोजिरहेका छन् । देखिने परिवर्तन, छाम्न सक्ने, महसुस गर्न सकिने बदलाव खोजिरहेका छन् । त्यो तपाईंले दिनुपर्छ । यसका निम्ति हाम्रो पूर्ण साथ रहन्छ । यो व्यवस्था पनि तपाईंले जोगाउने हो, तपाईंलाई सम्पूर्ण रुपमा हाम्रो मद्दत रहन्छ ।

आज तीन वर्ष करिब करिब पूरा हुन लागेको छ । कोभिडको यो एक वर्ष हटाउने हो भने दुई वर्ष सरकारले सबैभन्दा अनुकूलको समय पाएको थियो । यत्रो संघीयता चलाउने मौका पायो । आज हामी सुदूरपश्चिम प्रदेशमा छौं ।

सुदूरपश्चिमको प्रत्येक साथीले अहिले सडकमा निस्किएर संघीयता जिन्दावाद भन्नुपर्ने परिस्थितिको निर्माण हुनुपर्‍यो । नेपालमा सबैभन्दा बढी संघीयताको अभ्यास गरेर त्यसको पक्षमा लागेर सुदूरपश्चिमका साथीहरू बोल्नुपर्ने अवस्था आउनुपर्ने, आयो ? आएको छैन । आज गणतन्त्र जिन्दावाद भनेर तमाम युवाहरू सडकमा आउनुपर्ने अवस्था आउनुपर्ने आयो ? आएको छैन । समावेशिताको मुद्दा संविधान निर्माणको काम सकेर नयाँ निर्वाचन भइसकेपछाडि समावेशिताको मुद्दा ओठे भक्तिको विषय होइन । मञ्चको विषय होइन । मञ्चमा, व्यवहारमा, सडकमा, सदनमा, सरकारमा, जताततै समावेशि अनुहार देखिनुपर्ने अवस्था हुनुपर्नेभयो ? भएको छैन ।

लोकतन्त्रविरोधी कानुन निर्माणको प्रयास

त्यतिमात्र होइन त्यो दुई वर्षमा प्रधानमन्त्री ओलीको सरकारले प्रस्त्ााव गरेका विधेयकहरु कानुन बनेको भए के हुन्थ्यो भन्ने एउटा कल्पना गरौं । संसदमा एउटा कानुन प्रस्त्ााव गरिएको छ । त्यो कानुनले के भन्छ- अहिले कुनै अध्ययनको साथी यहा आउनुभएको होला । मेरो भिडियो खिच्नुभएको होला, फर्किएर जानुस्, मेरा बारेमा तथानाम लेख्नुस् तपाईंलाई छुट छ । तपाईंले लेख्न पाउनुहुन्छ । तपाईंको हक हो । तपाइर्ंको अधिकार हो ।

तर, यो कानुन पारित भयो भने कानुनले के भन्छ ? केपी ओली भगवान हो भनेर लेख्नुस् लेख्न पाइन्छ । केपी ओली मुर्दावाद भनेर फेसबुकमा गएर लेख्नुस् तपाइर्ंलाई ५ वर्ष भित्र लगेर कोच्न पाइन्छ । यो कानुन संसदमा प्रस्तावित छ । तपाईंलाई बेलुका जिल्ला प्रश्ाासनको आदेश लिएर प्रहरी घरमा आइपुग्छ । आज प्रचण्ड जिन्दाबाद भन्ने, माधव नेपाल जिन्दावाद भन्ने युथफोर्सको केटाको घरमा पनि आइपुग्न सक्छ । आउँछ र भन्छ कि केपी ओली जिन्दावाद भन् होइन भने फेसबुकको स्ट्टसमा केपी ओली मूर्दावाद किन लेखेको ? यो नेपालको सूचना प्रविधि ऐनको धारण यतिको खिलाप भएकाले तिमीलाई हिरासतमा लिइएको छ । प्रहरीले लिएर जान्छ, मुद्दा चलाउँछ र मुद्दा जिल्ला अदालतमा होइन, सरकारले तीनजना मान्छे छानेर बनाएको एउटा छुट्टै बेन्चले हेर्छ । सरकार आफैँले छान्छ र त्यही बेन्चले निर्णय गर्छ र भन्छ- यो मान्छे जसले लेख्यो यो कानुनको खिलापमा गएको कारणले गर्दा १५ लाख रुपैयाँ जरिवाना गरिएको छ । ५ वर्ष बन्दी बनाउने निर्णय गरिएको छ भन्न पाइन्छ कानुनमा टेकेर । यस्तो कानुन प्रधानमन्त्री ओलीको सरकारले अहिले संसदमा ल्याएर टेबुल गरेको छ ।

संघीयतालाई मान्दैन, गणतन्त्रको आदर्शलाई मान्दैन । समावेशीता स्वीकार्दैन । लोकतन्त्रको मर्म र आत्मालाई मार्न खोज्दछ । अनि व्यवहार हेर्यौं भने कुनै बेला संस्कृत विश्वविद्यालयको भिसी एयरपोर्टमा उठाएर ल्याएकोदेखि सम्झिनुस् नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा गएर लठ्ठी बजार्ने सरकारको नियत एकपटक हेर्नुस्, एउटै । कानुन बनाउँछ लेख्न नपाउने, बोल्न नपाउने, प्रहरीलाई आदेश दिन्छ- भिसीलाई उठाएर एयरपोर्टबाट ले, कांग्रेसको नेताको टाउकोमा डण्डा बजा भनेर आदेश दिन्छ । यो प्रधानमन्त्री ओलीको सरकार हो ।

सुशासनको कुरा हेर्यौं भने- … अर्थमन्त्री छ । वालुवाटारको चारआना जग्गा छोराको नाममा खर्लप्प खाने अर्थमन्त्री । सिफारिस गर्ने जेलमा । सिफारिस गर्ने मान्छे जेलमा जाँदै गर्दा त्यसको माल खाने, तर खाने चाहीँ अर्थमन्त्रीको कुर्सीमा बिराजमान हुनुहुन्छ । निर्मला पन्तदेखि निर्जला चौधरीसम्मको बलात्कार र हत्याकाण्डको संरक्षण गर्ने मान्छे गृहमन्त्री । बालुटारको जग्गा हडप्ने मान्छे अर्थमन्त्री । अनि स्वास्थ्य सामाग्रीको खरिदमा कमिसन खाने मन्त्री प्रधानमन्त्रीको सबैभन्दा विशेष पात्र, विशेष मन्त्री । यो सबै कुरा प्रधानमन्त्रीको इच्छाबमोजिम, इच्छा मुताविक चलेको छ भन्दै गर्दा सडक कुनै पनि हालतमा सडक गलत स्टेप हुँदैन ।
प्रधानमन्त्रीको जानकारीबिना, सहभागिताबिना, नेपाल सरकार संलग्न भएको एउटा पनि काण्ड प्रधानमन्त्रीले प्रोत्साहन नगरीकन भएको छैन् । प्रधानमन्त्रीको संरक्षणबिना भएको छैन । औपचारिक घोषणा कहीँ गएर गर्न पर्दैन । बालुवाटार गए पुग्छ । भ्रष्टाचारी खोज्न कहीँ जानु पर्दैन सिंहदरबार गए पुग्छ । हामी देखिरहेका छौं दुई वर्ष यसरी बित्यो ।

यहाँ धेरै साथीहरु झण्डा बोकेर आउनुभएको छ । कांग्रेसको झण्डा बोकेर आए पनि, म यत्रो समयदेखि युवा कम्युनिटीमा काम गरिरहेको छु । सबैको मनमा एउटै अभिलाषा हो, कुनै दिन मेरो पार्टी सरकारमा पुग्छ । राम्रो नीति बनाउँछ, निर्णय गर्छ, काम गर्छ । र मलाई मेरो देशमा, मेरै माटोमा सम्मानित जीवन बिताउन सक्ने एउटा जागिर खाने, एउटा रोजगारी गर्ने, एउटा काम गर्ने अवसर उपलब्ध हुनेछ । हामीले खोजेको, सबैले खोजेको त्यही रोजगारी होइन ? कोहीसँग मागेर हिँड्न नपरोस्, कतार गएको साथी, कोरिया गएको साथी, इजरायल गएको साथीलाई फर्काउने अभिलासा होइन हाम्रो ? यत्रो मौका पाएको सरकारले गएको दुई वर्ष खेर फाल्यो ।

यो खेर फल्दै गर्दा संसदमा हाम्रो प्रश्नहरु सरकारमाथि तेर्सिरहेका छन् । त्यहीबेलामा चीनमा कोरोनाको केश देखियो । सरकारमाथि यत्रा प्रश्नहरु हुँदै गर्दा पनि जब हामी कसैले अनुमान नगरेको संकटमा नेपाल फस्यो, हामीले भन्यौं- पख । रोक अहिले सबै । सरकार विरुद्ध उठेका तिम्रा कदमहरु रोक अहिले । सरकारविरुद्ध बोलिरहेका आवाजहरु थाम अहिले । यो महासंकट हो । यो महाब्याधि हो । योबेलामा सरकारलाई मद्दत गर्नुपर्छ । हामीले गएको फागुनको पहिलो हप्ता धनगढीको साहित्यिक महोत्सवमा थिएँ ।

यहाँबाट फर्किनेबला एयरपोर्टमा स्वास्थ्यमन्त्रीजीसँग भेट भएको थियो । मैले उहाँलाई भनेको थिएँ – काठमाडौं जाने साथै संसदमा तपाइले मेरो प्रस्तावमा छलफल गर्नुपर्यो । हामी गयौं, सरकारका विरुद्ध हामीले उठाएका सबै कुराहरुलाई रोक्यौं, कदम रोक्यौं, बोली रोक्यौं र यो गर्नुपर्छ भनेर फेहरिस्त तयार गरेर संसदमा लग्यौं । हाम्रो कुरा सुनिएन । हाम्रो कुरा मात्र सुनिएको भए आज ८/९ महिना खेर जाँदैनथ्यो । त्यहीबेलामा भारतबाट नेपालतिर छिर्दै गरेको साथीहरुलाई, चैतमा, बैशाख जेठमा हजारौंका साथीहरु भारतबाट नेपाल आउँछन् । ती साथीहरुका निम्ति मात्रै व्यवस्थ्िात क्वारेन्टिन बनाउन सक्यौं भने केही करोडको कुरा हो, सरकारको ढुकुटीमा पैसा छ, हामी पनि मद्धत गर्छौं, गर्न सकिन्छ भन्यौं सुनेन । सरकारले बनाएको कोषमा सबैभन्दा पहिला बोरामा ५० लाख बोकेर कांग्रेस गयो ।

यो भन्दा पहिलाका प्रकोपहरु सम्झिनुस्, भुकम्प आउँदा, बाढी आउँदै गर्दा चाहे कांग्रेसको सरकार होस्, चाहे एमालेको सरकार होस् सरकारमा बसेकोले काम गर्दै गर्दा सरकारमा बसेर काम गर्नेमाथि आशंका, शंका गरेर सरकारले हिनामिना गर्छ हामी आफैँ राहत बाड्छौं भनेर भन्थे । तर, यो पटक कांग्रेसले भन्यो होइन यो पटक हामी सरकारलाई मद्वत गर्छौं । सरकारको कोषमा ५० लाख पुर्याउँदै गर्दा कांग्रेसका क्रियाशील सदस्यको पैसा परेको छ । पैसा जम्मा गर्न हामी गयौं सुन्यो हाम्रो कुरा ? गर्यो काम ? गरेन । ८/९ महिनामा के भएको छ । अहिले त केही देखिएको छैन्, अब केही दिन पछि देखिन थाल्छ । यत्रो वर्ष हामीले मेहनत गरेर बनाएको स्वास्थ्यको जुन पद्धति छ, हाम्रो उपलब्धीहरु जुन छन एक पछि अर्को ओरालो लाग्ने अवस्था भएको छ । हाम्रो विद्यालयहरुको हालत के छ ? ८/९ महिना जुन क्षेति बेहोरेका छौं, केटाकेटीले पढ्न नपाएर यसको ठूलो मुल्य भविष्यमा नेपालले चुकाउनुपर्छ ।

किसानले मल नपाएको कुरा, किसानले मल र बिउ नपाएको, समयमा बजार नपाउँदा किसानको परिवारले मात्र होइन नेपालको अर्थतन्त्रले आगामी दिनमा ठूलो मुल्य चुकाउनुपर्छ । हजारौंको संख्यामा युवा साथीहरुले नयाँ व्यावसाय सुरु गरे । बैंकबाट ऋण लिएर गरे । चलिरहेका व्यावसायीहरुले पनि गरे । कोठा भाडा तिर्न नसकेका व्यावसायीहरु, होटल, रेष्टुरेन्ट चलाएका, बस चलाएका, सानो सानो व्यवसाय गरेका, ट्याम्पो चलाएका, ट्याक्सी चलाएका यस्ता कैयन व्यवसायीहरु छन् । ती सबको विजोग भएको छ । कांग्रेसले सदनमा उभिएर भन्यो दुई खर्बको प्रेरणाको प्याकेज लिएर आउ भनेर । प्रतिपक्षी दलले भने सांसद विकास लिएर नआऊ भनेर । यो वर्ष ५ करोड, ६ करोड एक रुपैंया नदेउ भनेर, कांग्रेसले भन्यो दशैं भत्ता नबाँड भनेर, तलब भत्ता सुविधा चाहिँदैन भन्यो । यो बेला किसानको कुरा सुन, श्रमिकको कुरा सुन, रोजगारी गुमाएका युवाको कुरा सुन, विदेशबाट रोजगारी गुमाएर फर्किएका छन तिनको कुरा सुन भनेर भन्यो सुन्यो ? सुनेन ।

‘तैपनि प्रधानमन्त्री रामराज्य देखिराख्नुभएको छ’

केही दिन अगाडि प्रधानमन्त्रीले बोलाउनुभएको सर्वदलीय बैठकमा सहभागी हुनुभएका हाम्रा नेताहरु भन्दै हुनुहुन्थ्यो, प्रधानमन्त्रीले बैठक कसरी सुरु गर्नुभयो रे भने देशभरि रामराज्य छ । सारा मान्छे खुसी छन् । अस्तिमात्रै पहाडको एउटा जिल्लामा गएको प्रधानमन्त्री ओली जिन्दावाद भनेर नारा लगाइरहेका थिए । जतत्यतै मानिसहरु खुसी छन् तर, पत्रकारहरु देख्दैनन् । सामाजिक सञ्जाल चलाउने तन्नेरीहरु देख्दैनन् । तपाईंहरु देख्नुहुन्न । तपाईंहरु सबैको आखाँमा पट्टी बाँधेको छ कि क्या हो ?

यो मैले भनेको होइन, प्रधानमन्त्रीले भन्नुभएको । प्रधानमन्त्रीलाई पटक पटक भनिसक्यौं -प्रधानमन्त्रीजी तपाईं नाङ्गै सडकमा हिँडिराख्नुभएको छ । लुगा लगाएको भ्रममा नपर्नुस् । हामीले भनेको सुन्नुभएन अहिले ८/९ महिना पछाडि आएर प्रचण्ड र माधव नेपालले भन्नुभयो प्रधानमन्त्रीजी यिनीहरुले भनेको ठिकै रहेछ । तपाईं नाङ्गै हिँडिराख्नुभएको छ ।

तर, यो भन्दै गर्दा प्रचण्ड र माधव नेपालले के थाहा पाउनुभएन भने- गएको ८/९ महिना, गएको दुई वर्ष नाङ्गै हिँड्नुभएको प्रधानमन्त्रीलाई कहिले अगाडि, कहिले पछाडि छोप्दै गर्दा आफ्नो अर्धनग्न भएको कुरा उहाँहरुले पनि थाहा पाउनुभएन । बल्ल आएर थाहा पाउनुभएको छ । धेरै ढिलो भयो कमरेडहरु, धेरै ढिलो भयो ।

राजाले आफूलाई त बचाउन सकेनन् देश कहाँबाट बचाउनु !

देशभरि आम नागरिककाबीचमा एउटा ठूलो असन्तुष्टि सिर्जना गरेको छ । निशन्देह गरेको छ । नागरिकहरु रिसाएका छन् । आक्रोस पोख्ने ठाउँ खोजिरहेका छन् । त्यो खोज्दै गर्दा हामी देखिरहेका छौं कतिपय ठाउँमा नागरिकहरु आक्रोसले पोख्न सडकमा आएका छन् । सडकमा आएर कतिपय नागरिकहरु भन्दैछन् राजा आउ देश बचाउ ।

सडकमा आएर यसो भन्ने तपाईंको हक हो । अधिकार हो । अधिकार र हकको म सम्मान गर्छु । यो हक र अधिकारको कुरा गर्दै गर्दा यति एउटा कुरा सम्झाउछु- २०५९ सालमा पनि यसै गरीकन त्यो बेलाको सरकारसँग, त्योबेलाका दलहरुसँग रिसाएका नागरिकहरु सडकमा आएर यसैगरी नारा लगाएका थिए । राजा आए । आफूलाई बचाउन सकेनन्, देश कहाँबाट बचाउनु ।

०५९ सालदेखि ०६२ सालसम्मको राजाको शासन पनि हामीले हेर्यौं । खासगरी युवा साथीहरुलाई अपिल गर्छु- राजा आउ देश बचाउ भन्नेहरुको बीचमा उभिएका हिजो सत्ताको तर मारेका, हिजोको व्यवस्था फर्कियो भने असम्भव कुरा भयो भने त्यसबाट लाभ लिन्छु भन्ने मनसुभा पालेकाहरुलाई भन्नु केही पनि छैन । चुनावबाट यसको हिसाबकिताब गरौंला । तर, सडकमा आक्रोशित युवा साथीहरुलाई मेरो भन्नु छ- १४ वर्षको उमेरमा नेविसंघको सदस्य भएको थिएँ । ०४९ सालको आन्दोलनमा कक्षा ९ मा मात्रै थिएँ । ०४८ सालमा कांग्रेसको सरकार बन्यो । गल्ति कमजोरी हामीले पनि गर्यौं । ०४८ सालको सरकार हाम्रो आफ्नै गल्ती कमजोरीको कारणले गर्दा नढालेको भए वा ढल्ने अवस्था नबनाएको भए, हामीले सम्हाल्न सकेको भए सायद त्यो बेलाको राजनीतिको कोर्ष अर्कै हुन्थ्यो होला । गल्ती हामीले पनि गरेका छौं । कमजोरी हामीले पनि गरेका छौं ।

०१५ सालमा वीपी कोइरालाको दुई तिहाईको सरकार बनेर आजसम्म पनि कांग्रेस होस्, कम्युनिस्ट होस् सबैले नेपालको कुनै एउटा काल खण्डको बारेमा गौरवको साथ भनेर भन भन्दा भन्ने विपी कोइरालाको त्यो कालखण्डलाई राजा महेन्द्रले कुठाराघात नगरेको भए, ३० वर्ष नेपालमा संसदीय व्यवस्थाको अभ्यास गर्न पाएको भए, आज नेपालको दरबारमा राजा रहन्थे, संवैधानिक राजतन्त्र भएको देश नेपाल रहन्थ्यो पनि होला । राजा महेन्द्रको त्यही कुले गर्दा ३० वर्ष गयो । फेरि हाम्रो कमजोरी माओवादीको दुस्साहस, राजाको हत्वकांक्षाले अर्को २०/२५ वर्ष खेर गयो ।

यत्रो संघर्षपछि एउटा व्यवस्था आएको छ । आम युवा साथीहरुलाई आग्रह गर्न चाहन्छु- पटक पटक नेपाललाई त्यही संक्रमणको चक्रमा घुमाउने दुस्प्रयत्नमा सहभागी नबनौं । यो व्यवस्था तपाईं हाम्रो मेहनतले ल्याएको व्यवस्थ्ाा हो । यो व्यवस्थ्ाामाथि सरकारले ठूलो कुठाराघात गरेको छ । यसबारे कुरा गरौं ।

तपाईंको प्रदेशको मुख्यमन्त्रीले प्रदेश चलाउन सकेन । त्यसको भार संघीयतालाई नबोकाउँ । तपाईंको र मेरो प्रधानमन्त्रीले लोकतन्त्र सम्हाल्न सकेन त्यसको भारी संघीय लोकतन्त्रलाई नबोकाउँ । प्रधानमन्त्रीलाई बोकाउँ ।

राष्ट्रपतिको भूमिकामाथि प्रश्न

राष्ट्रपति विद्यादेवी भण्डारी शीतलनिवासमा बस्नुभएको छ । महारानी होइन, राष्ट्रपति हो । तपाईं हामीले बनाएको राष्ट्रपति हो । त्यहाँ बसेर राष्ट्रपतिको मर्यादा राख्नुभएको छ ? प्रचण्ड र केपी ओलीको झगडा मिलाउने जिम्मेवारी राष्ट्रपतिको हो ? होइन । यो चित्त बुझेको छ ? छैन । चित्त बुझेको छैन भने हिसाब किताब गरौं । तपाईंको ठाउँमा आएर भन्दैछु- श्रद्धेय स्वर्गीय मदन भण्डारीले बोल्नुभएको भाषणको एउटा वाक्य दोहोर्याएर- राष्ट्रपति श्री ५ बडामहारानी बन्न खोज्नुभएको हो ? राष्ट्रपति विद्यादेवी भण्डारीलाई भन्दैछु- राष्ट्रपति महोदय, आखाँ नचम्काइबस्यिोस् । हात नलम्काइबक्सियोस्, हिम्मत छ भने काठमाडौंमा चुनाव लड्न आइबक्सियोस् ।

राष्ट्रपतिसँग चित्त बुझेको छैन । राजालाई त सडकबाटै फाल्यौं, राष्ट्रपतिलाई सडकमा ल्याउने हिम्मत राखौं । हामीले ल्याएको व्यवस्था हो यो । यो हो संघीय लोकतान्त्रिक गणतन्त्र । यहाँभित्र यसको हिसाब-किताब गर्ने अधिकार आम नेपाली जनतासँग छ । हामी कोही पनि होइन ।

सनातनदेखि चलिआएको तपाईं र मेरो हाम्रो हिन्दु धर्म, दौत्य धर्म हाम्रो आदिवासीले मान्ने धर्म जोगाउने जिम्मा जोसुकै प्रधानमन्त्रीको कुर्सीमा बसोस्, त्यो जिम्मा लिएर गएको हुनुपर्छ । त्यो जिम्मा उसको हो । तर, कहाँ-कहाँबाट खोजेर ल्याएर नेपालमा सनातनदेखि चलीआएको हाम्रो धर्म, संस्कृति, परम्परा, हाम्रो आदीवासीहरुको रैथानेहरुको धर्म, परम्परा, यो सबै जोगाउने सपथ खाएको सरकार आज होलीवाइन खुवाउनेसँग हिसाबकिताब गर्ने काम हाम्रो हो ।

हाम्रो मन्दिर, हाम्रो गुम्बा, हाम्रो थाँगरु कुनै अमुक व्यक्तिले आएर जोगाइदिन्छ ? हिजो पञ्चायतकालमा मन्दिरको मुर्ति समेत बेचेर खाने मण्डलेहरुले तपाईं र मेरो धर्म जोगाइदिन्छ ? विश्वास छ ? हाम्रो पशुपतिनाथ त्यति कमजोर छ ? हाम्रो बौद्धनाथ त्यति कमजोर छ ? हाम्रा थानहरु, हाम्रा आस्था, विश्वास त्यति कमजोर छैनन् कसैले आएर जोगाइदिनुपर्ने ।

हो, कमीकमजोरी भएका छन् । कमीकमजोरीलाई सुधार गर्ने, सुधार्न दबाब दिने काम हाम्रो हो । ठीक ठाउँमा ल्याउने काम हाम्रो हो । म आग्रह गर्न चाहन्छु – सडक खाली भयो भने अवान्छित तत्वहरुले कब्जा गर्छन् । सडक हाम्रो हो । सडक प्रतिपक्षको हो । प्रश्न गर्ने हाम्रो जिम्मेवारी हो । आलोचना गर्ने हाम्रो कर्तव्य हो । कतिपय ठाउँमा विरोध गर्ने, प्रतिरोध गर्ने हाम्रो जिम्मेवारी हो, विकल्प दिने पनि हाम्रो धर्म हो । सरकारको विरोध पनि गर्छौं, हामी भएको भए यसो गर्थ्यौं भनेर यसको विकल्प पनि दिन्छौं ।

‘साथीहरु, कमरेडहरुलाई अब दुई वर्ष थेग’

आम तन्नेरी युवाहरुलाई भन्न सक्नुपर्छ-अब दुई वर्ष थेग साथीहरु, कमरेडहरुलाई जम्मा दुई वर्ष थेग । दुई वर्ष पछि हामी आउँछौं । हामी आएपछि के गर्छौं भन्दै गर्दा उहिल्यै विपी कोइरालाले गर्नुभएको थियो भनेर हुँदैन अब, ०४८ सालमा गरेका थियौं भनेर हुँदैन ।

हामी आइसकेपछि ५ वर्षको समयमा हिजो गरेको गल्ति एउटा पनि गर्ने छैनौं । हिजो गरेको कमजोरी एउटा पनि दोहोर्याउने छैनौं । ५ वर्ष भित्र-भित्र संघीय लोकतान्त्रिक गणतन्त्र ठीक रहेछ भन्ने पनि बनाउने छौं । लोकतन्त्रको अभ्यास पनि गर्नेछौं । प्रधानमन्त्री ओलीको सरकारले खेर फालेको ५ वर्षको क्षतिपूर्ति पनि गरेर कतार गएको साथीलाई पनि फर्काउनेछौं । कोरियाको भिसा लगाएको साथीलाई पनि नजाऔं नजाऔं भन्ने बनाउनेछौं । इजरायल गएको साथीलाई पनि फर्काएर नेपाल ल्याउनेछौं । किसानको अनुहारमा पनि खुसीयाली ल्याउने छौं । सानो उद्योग व्यावसाय चलाएको साथीलाई पनि उद्योग व्यावसाय फस्टाउने अवस्था बनाउनेछौं । लाखौं युवाले नेपालभित्रै रोजगार प्राप्त गर्ने अवस्था बनाउने छौं ।

नेपालमा जन्मिएकोमा म भाग्यमानी हुँ भन्ने अवस्थ्ाा बनाउने छौं भन्ने संकल्प कांग्रेसले गर्छ । यो संकल्प गर्नका लागि कांग्रेसले सितल निवास हेर्ने होइन, सिंहदरबार हेर्ने होइन, बालुवाटार हेर्ने होइन । पर्यो भने घेर्ने हो । हेर्ने भनेको जनताको घर हो । फर्किएर जनताको घरमा जाने हो । कांग्रेस अब जनताको घरमा जान्छ, पसलमा जान्छ, बारीमा जान्छ । विद्यालयमा जान्छ, अस्पतालमा जान्छ । कांग्रेसको तकत यहिँ छ । र निरन्तर सरकारलाई खबरदारी गर्छ, व्यवस्थाप्रति विश्वास जगाउँछ, भरोसा जगाउँछ ।

यही भनेर टुङ्ग्यान चाहन्छु – सडक हाम्रो हो । जबसम्म बरालिएको सरकार ठेगानमा आउँदैन, सडकमा कांग्रेस रहन्छ । अर्कमण्य, अयोग्य, असक्षम, इतिहासकै सबैभन्दा भ्रष्ट केपी ओलीको सरकारलाई ठीक ठाउँमा राख्नका निम्ति सडकको तकत पनि, संसदको ताकत पनि कांग्रेसले एकाकार गर्छ । जनताको पक्षमा आफुलाई उभ्याउँछ ।

(कांग्रेस नेता थापाले सोमबार कैलालीमा गरेको भाषणको अंश)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment