३० मंसिर, काठमाडौं । बिग बास लिग (बीबीएल) को १० औं संस्करणमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध होबार्ट हुरकेन्सले पहिलो हार बेहोरेको छ ।
मंगलबार भएको खेलमा होबार्टलाई एडिलेड स्ट्राइकर्सले ५ विकेटले पराजित गरेको हो । एडिलेडको भने यो पहिलो जित हो । होबार्टले यसअघिका दुवै खेलमा जित हात पार्दै शानदार सुरुवात गरेको थियो ।
होबार्टले दिएको १४७ रनको लक्ष्य एडिलेडले १८.४ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गर्यो । एडिलेडको जितमा जेक वेदराल्डले अविजित रहँदै सर्वाधिक ६८ रन बनाए । यस्तै विकेटकिपर कप्तान एलेक्स केरीले ५५ रन जोडे ।
बलिङमा होबार्टका जेम्स फउकनर र नाथन एलिसले समान २ विकेट लिए ।
त्यसअघि लाउनचेस्टनस्थित आउरा स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको होबार्टले १९.३ ओभरमा सबै विकेट गुमाएर १४६ रनमा अलआउट भयो । होबार्टका लागि बेन म्याक म्याकडेर्मोट र कलिन इनग्रामले समान ४६ रन बनाए । यस्तै टिम डेविडले २४ र म्याक राइटले १५ रन जवडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् ।
होबार्टलाई अलआउट गर्न बलिङमा एडिलेइडका पिटर सिडलले एक्लै ५ विकेट लिए । उनले ३.३ ओभरमा मात्र १६ रन खर्चिए ।
बीबीएल १० मा सहभागिता जनाउन नेपाली क्रिकेट सन्दीप भने मंगलबार अष्ट्रेलिया प्रस्थान गरेका छन् । भोलि अष्ट्रेलिया पुग्ने सन्दीपले त्यहाँको नियम अनुसार १४ दिन क्वारेन्टिन बसेपछि होबार्ट टिममा सहभागी हुनेछन् ।
प्रतिक्रिया 4