Comments Add Comment

पूर्वपत्नीसँग किन भड्किए मनोज गजुरेल ?

काठमाडौं । स्टेजमा दर्शकलाई हँसाएर मनोरञ्जन दिने कलाकारहरुको व्यक्तिगत जीवन सँधै हाँसोमय नहुन सक्छ । आफूभित्रका पिर-व्यथाहरुलाई लुकाएर अरुलाई हँसाउनु उनीहरुको पेशागत दायित्व हो । मनोज गजुरेल यस्तै एक कलाकार हुन्, जसले लामो समय आफ्नो मानसिक तनावलाई लुकाएर दर्शकलाई मनोरञ्जन गराइरहे ।

करिब तीन वर्षअगाडि अचानक मनोजले पत्नी मिना ढकालसँग डिभोर्स गरेको समाचार सार्वजनिक भयो । उनका प्रशंसक र शुभचिन्तकहरुका लागि यो विल्कुल अप्रत्याशित खबर थियो । तथापि, यो उनीहरुले हठात् वा आवेशमा लिएको निर्णय थिएन । उनीहरुको दाम्पत्य जीवनमा ऐंजेरु पलाएको लामो समय भइसकेको थियो । मनोज र मिनाले एक-अर्कासँग सम्झौता गरेर नै सम्वन्धको रथलाई २२ वर्षसम्म धकेलेका थिए । मनोज आफ्नो करिअरमा बढि फोकस थिए भने मिना पारिवारिक दायित्वमा केन्दि्रत थिइन् ।

डिभोर्सलगत्तै अनलाइनखबरलाई बेग्लाबेग्लै दिएको अन्तरवार्तामा दुवैले विवाहको केही समयदेखि नै  तनाव सुरु भएको बताएका थिए । मिनाका अनुसार उनले विहेको ४ वर्षदेखि नै अलग बस्न चाहे पनि मनोज सहमत भएका थिएनन् । आफूहरुबीच सामान्य विषयमै विवाद हुने गरेको सो अन्तरवार्तामा मिनाले खुलाएकी थिइन् । उनको भनाइ यस्तो थियोः

‘हामीबीच कुरा मिल्दैनथ्यो । उहाँ अति व्यस्त मानिस । मलाई समय दिन सक्नुहुन्नथ्यो । उहाँ व्यस्त मात्रै होइन, अस्तव्यस्त पनि हुनुहुन्थ्यो । कलाकार भए पनि चिटिक्क परेर हिँड्नुपर्छ, आफ्नो स्टाटस अनुसार चल्नुपर्छ भन्ने मेरो भनाइ रहन्थ्यो । उहाँ त्यो गर्न चाहनुहुन्नथ्यो मलाई त्यो मन पर्दैनथ्यो ।’

मिनाले यो पनि भनेकी थिइन्, ‘खासमा न उहाँ मलाई माया गर्नुहुन्थ्यो न म उहाँलाई माया गर्थेँ । हामीबीच लोग्ने स्वास्नीको सम्वन्ध मात्रै थियो, प्रेमको थिएन ।’

यता मनोजले चाहिँ डिभोर्सको कारणबारे यस्तो भनेका थिएः

‘उहाँ असाध्यै रिसाउनुहुन्थ्यो । एकपल्ट रिसाएपछि घरमा केही न केही टुटफुट हुन्थ्यो । यो रीसका बेला उहाँले डिभोर्स माग्नुहुन्थ्यो । तर, रीसमा भनिएका कुरालाई म महत्व दिन्नथिएँ । रिस एउटा मानसिक समस्या हो र ठीक हुन्छ भन्ने लाग्थ्यो । मैले उहाँलाई चिकित्सककहाँ पनि लगेँ । उहाँले एउटा डाक्टरकोमा चित्त नबुझेपछि अर्कोमा जाउँ भन्नुभयो । त्यहाँ पनि गइयो । हामी दुवैले सँगै गएर केही समस्याहरु छन् कि भनेर आ-आफ्नो उपचार पनि गरायौं ।’

आक्रामक मिना, मौन मनोज

मनोजसँग डिभोर्स अघिसम्म मिना ढकाल दर्शकका लागि अपरिचित थिइन् । तर, डिभोर्स लगत्तैदेखि उनी आक्रामक ढंगले मिडियामा छाउन थालिन् । यूट्यूवरहरुलाई एकपछि अर्को अन्तरवार्ता दिँदै उग्र ढंगले प्रस्तुत भइन्, जसले गर्दा उनको खराब छवि निर्माण हुन गयो ।

डिभोर्सपछि मिनाले विभिन्न क्षेत्रमा हात हालेर आफ्ना पुराना सोखहरु पूरा गर्ने कोशिष पनि गरिन् । केही गीतहरु रेकर्ड गराइन्, जून लोकपि्रय भएनन् । चलचित्र निमाण गर्ने र त्यसमा आफैं नायिका बन्ने तयारी गरिन्, जुन योजना अहिलेसम्म पूरा भएको छैन । टिकटक भिडियोहरुमा मार्फत उनी आफ्नो अभिनयको प्यास मेटिरहेकी छन् । तर, उनका भिडियोमा प्राय गालीगलौजको वर्षा  हुने गर्छ ।

मिनाले अनेकन आरोपहरु लगाइरहँदा मनोज भने पूर्णतया मौन बसे । उनले कुनै पनि आरोपको जवाफ दिन चाहेनन् । ‘मौनम् स्वीकृति लक्षणम्’ भन्ने चर्चित भनाइ छ । तर, मनोजका हकमा मौनता नै उनको लागि शक्ति बन्यो । मौनताको शक्तिले नै उनले आफ्नो शुभचिन्तकहरुको मन जिते । त्यसैले अहिलेसम्म पनि उनले सहानूभूति पाइरहेका छन् । बिस्तारै दर्शकले मिनाका कुराहरु पत्याउन पनि छाडे ।

यो पनि पढ्नुहोस पूर्वपत्नीविरुद्ध कानुनी उपचारमा जाने तयारीमा मनोज गजुरेल

गत महिना मनोज अस्वस्थ भए । कोरोना संक्रमित बनेका उनले केही दिन अस्पतालको आइसीयूमा बस्नु परेको थियो । त्यसबेला मिनाले सामाजिक सञ्जालमा मनोजप्रति प्रेम दर्शाउँदै भावुक पोष्ट गरिन् । यो पोष्टलाई धेरैले सह्राहना गरेका थिए ।

उक्त स्टाटसमा मिनाले लेखेकी थिइन्, ‘भलै समयले तिम्रो र मेरोबिचमा दुरी ल्यायो होला, फेरि पनि मेरा दुई सन्तानको जन्मदाताको रुपमा आज पनि म तिमीलाई उत्तिकै सम्मान गर्छु र माया गर्छु । तिमी आइसियूमा छौ भन्ने समाचारले मलाई विक्षिप्त बनायो । जतिसुकै मनमुटाव भएको भए पनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु भन्ने आज महसुस भइरहेको छ । तिमी र मबीच जस्तासुकै व्यवहारिक बेमेल भए पनि तिम्रो जीवन मेरा लागि महत्वपूर्ण छ, हार नमानिदेउ ।’

यसरी मार्मिक शब्दहरुमार्फत आलोचकहरुको समेत मन पगालेकी मिना केही दिनमै आफ्नो पुरानै रवैयामा  फर्केकी छन् । फेरि उनले मनोजविरुद्ध जेहाद छेड्न सुरु गरेकी छन् ।

यसकारण भड्किए मनोज

करिब ३ वर्षसम्म पुर्वपत्नीका विषयमा मुख नखोलेका गजुरेलले सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनीप्रति रोष प्रकट गरे । चाँडै दोस्रो विवाहको तयारीमा रहेको समाचार सार्वजनिक भएलगत्तै उनको यो स्टाटस आएको हो ।

मनोजले यही वर्षभित्र विवाह गर्न लागेको सञ्चारमाध्यमहरुलाई बताएका छन् । यद्यपि, आफ्नी भावी श्रीमती उनले सार्वजनिक गरेका छैनन् । मनोजले विवाह गर्न लागेको खबर सार्वजनिक भए लगत्तै मिनाले सामाजिक सञ्जालमा धाराप्रवाह स्टाटस लेख्न थालिन् । उनले यूट्यूवरहरुलाई अन्तरवार्ता दिएर मनोजमाथि अनेक लान्छना लगाइरहेकी छन् । मनोजकी भावी जीवनसंगीनीमाथि पनि उनी खनिएकी छन् । मिनाले लगाएका सबै आरोपहरु यहाँ उल्लेख गर्न लायक छैनन् । उनका अभिव्यक्तिहरु खासगरि छोराछोरीलाई बुवाविरुद्ध भड्काउने उद्देश्यबाट प्रेरित देखिन्छन् ।

यो पनि पढ्नुहोस मनोज गजुरेल दोस्रो विवाहको तयारीमा 

एउटा अन्तरवार्तामा उनले मनोज बसेको घर आफूले बनाएको र त्यसमा अर्की महिला प्रवेश गर्न नमिल्ने बताएकी छन् ।

‘मैले दुख गरेर बनाएको मेरा छोराछोरी बस्ने घरमा अर्की महिला भित्र्याउनु भनेको गलत हो, अन्याय हो ,’ उनले भनेकी छन्, ‘उनीहरु बिहे गर्न चाहन्छन् भने अर्कै घर किनेर बसुन् ।’

मिनाले मनोजको दोस्रो विवाहलाई छोराछोरीले नस्वीकार्ने दावी गरेकी छन् ।

‘मेरा छोराछोरीले उसित (मनोजकी कान्छी श्रीमती) बोल्नु त के मुख पनि हेर्ने छैनन्,’ मिनाले भनेकी छन् ।

त्यसो त केहीअघि मिना आफै विवाह गर्ने मनस्थितिमा थिइन् । आफूलाई २० देखि २५ वर्षका युवाहरुले विवाहको प्रस्ताव गरिरहेको उनको दावी थियो । अहिले भने उनले ‘छोराछोरीको भविष्यका लागि विवाह नगर्ने’ बताइरहेकी छन् । यद्यपि, छोराछोरीलाई आफूसँग राख्न भने उनी तयार छैनन् ।

उनले भनेकी छन्, ‘म आफैंले बनाएको घर हुँदाहुँदै छोराछोरीलाई भाडाको घरमा किन राख्छु ? छोराछोरीको जिम्मेवारी उसले लिनुपर्छ ।’

मिनाका विभिन्न अभिव्यक्तिहरुले छोराछोरीलाई असर पार्न सक्ने महसुस गरेर मनोजले कानूनी कदम चाल्ने तयारी गरेका हुन् । उनले आफूहरुबीच डिभोर्स हुनुको कारण र प्रमाण सार्वजनिक गर्नेसमेत बताएका छन् ।

डिभोर्सका बेला छोरी आमासँग र छोरा बुवासँग बस्ने सहमति थियो । डिभोर्सपछि मिनाले श्रीमानबाट एक करोड २५ लाख रुपैयाँ प्राप्त गरेकी थिइन्, जसमध्ये ६० लाख रुपैयाँ छोरीको शिक्षादिक्षाका लागि भनिएको थियो । तर, ८ महिनापछि नै छोरी आमाबाट अलग भएर बुवासँगै बस्न थालिन् । छोरी ‘आमासँग बस्न नरुचाएर घरमा फिर्ता आएको’ गजुरेलले बताएका छन् । छोरी फर्किए पनि उनका नाममा लगेको ६० लाख मिनाले फर्काएकी छैनन् ।

अहिले दुवै छोराछोरी मनोजसँगै बालकोटको घरमा बस्छन् । छोरा २३ वर्षका र छोरी १६ वर्षकी भइन् । मिना भने एक्लै बस्छिन् । उनी बानेश्वरमा एउटा बुटिक चलाइरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment