Comments Add Comment

केयूका प्राध्यापकलाई सुझाव : आफ्नो उपकुलपति आफैं छान्न पहल गर

१ पुस, काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का प्राध्यापकहरुलाई उपकुलपति आफैं छान्ने व्यवस्थाको पहल गर्न शिक्षाविदले सुझाव दिएका छन् ।

‘काठमाडौंका विश्वविद्यालय र आगामी नेतृत्व’ विषयमा काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले आयोजना गरेको भर्चुअल अन्तर्क्रियामा सहभागीहरुले सो सुझाव दिएका हुन् ।

कार्यक्रममा शिक्षाविद एवम् काठमाडौं विश्वविद्यालयका पूर्वडिन मनप्रसाद वाग्लेले प्राध्यापकहरुबाटै उपकुलपति छान्ने परिपाटी बसाउन सुझाव दिए । विश्वमा यस्तो उदाहरण रहेको जानकारी दिँदै उनले यसो गर्न सकिए उपकुलपति विद्यार्थी, कर्मचारी, प्राध्यापक र सिंगो विश्वविद्यालय परिवारप्रति उत्तरदायी हुने बताए ।

उनले कुनै पनि निकायमा कुनै पनि व्यक्तिलाई दुई कार्यकालभन्दा बढी राजनीतिक नियुक्ति गर्न नहुन नहुने धारणा राखे । दुई कार्यकालभन्दा बढी भएमा सो व्यक्ति निरंकूश हुने र मनपरी गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कुल अफ लका संस्थापक एवम् संविधानविद डा. विपिन अधिकारीले विश्वविद्यालयका उपकुलपति रामकण्ठ माकाजुको कार्यशैलीको आलोचना गरे ।

कार्यकारी परिषदमा माकाजुसँगै दुई वर्ष काम गरेका डा. अधिकारीले भने, ‘यो ऐन नियमविपरीत भएको छ भन्दा उहाँले ह्युमिलेट गर्नुभयो । उहाँ निरंकुश हुनुभयो, म नै सुप्रिम हुँ भन्ने ठान्नुभयो, व्यक्तिवादी प्रवृत्ति हावी भयो । सच्याउन खोज्दा उहाँ सच्चिनु भएन । त्यही भएर मैले बाध्य भएर राजीनामा दिएँ ।’

आफू विगतमा पदमा हुँदा सार्वजनिक रुपमा बोल्न नपाएको बताउँदै उनले अब काठमाडौं विश्वविद्यालयमा भएका गलत कामबारे बोल्ने बताए । ‘पहिले म पदमा थिएँ, बोल्न मिल्दैनथ्यो, अब बोल्छु । राष्ट्रपति र प्रधानमन्त्रीकोमा गएर कुरा गर्न परे पनि गर्छु,’ डा. अधिकारीले भने ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका संस्थापक तथा पूर्व रजिष्ट्रार भद्रमान तुलाधरले प्राज्ञिक मूल्य मान्यताअनुसार विश्वविद्यालय नचलेको भन्दै दुःख व्यक्त गरे । ‘जुन उद्देश्यले विश्वविद्यालय स्थापना गरिएको थियो, त्यो उद्देश्यअनुसार विश्वविद्यालय चार–पाँच वर्षयता चलेको छैन, यो देख्दा दुःख लागेको छ,’ उनले भने ।

यसैगरी काठमाडौं विश्वविद्यालय प्राध्यापक संघका सभापति प्रा.डा. विवेक बरालले उपकुलपति माकाजु र प्राध्यापक संघबीच विगतमा सहमति हुँदा ‘एक व्यक्ति एक पद’ र ‘एक व्यक्ति अधिकतम दुई कार्यकाल’ सम्बन्धी सहमति भएको बताउँदै अब त्यो कार्यान्वयन गर्नुपर्ने बताए । ‘उहाँले अब त्यो सहमति पालना गर्नुपर्छ,’ प्रा.डा. बरालले भने ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति माकाजुको कार्यकाल सकिन एक महिना बाँकी रहेको सन्दर्भमा प्राध्यापकहरुले पहिलो चरणको कार्यक्रममा यो भर्चुअल कार्यक्रम गरेका हुन् । अब समाजका अगुवा, शिक्षा बिटका पत्रकार तथा शिक्षा र स्वास्थ्यसँग सम्बन्धित संसदीय समितिसँग पनि छलफल गर्ने योजना रहेको प्रा.डा. बरालले बताए ।

यसैबीच काठमाडौं विश्वविद्यालयको सभा यही पुस १३ गते बस्दै छ । सो सभाले उपकुलपति छनोट समिति बनाउने सम्भावना रहेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment