Comments Add Comment

किन अदालत हाजिर भएनन् बम्जन ?

१ पुस, काठमाडौं । तपश्वीको भेषमा अनुयायी बलात्कार गरेको अभियोग लागेका रामबहादुर बम्जन अदालतले दिएको ३५ दिने म्यादभित्र हाजिर भएनन् ।

जिल्ला अदालत, सर्लाहीले २४ कात्तिकमा निजगढमा रहेको बम्जन निवासमा सूचना टाँस गर्दै अदालतमा हाजिर हुन भनेको थियो । तर, उनी उपस्थित नभएको जिल्ला अदालत, सर्लाहीका वैतनिक वकिल नरेशकुमार चौधरीले अनलाइनखबरलाई बताए ।

बम्जनलाई खोज्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सहितका प्रहरी टोलीले पटकपटक उनको आश्रममा छापा हानेका थिए । बम्जन फेला नपरेपछि १८ वर्षीया किशोरीलाई बलात्कार गरेको सम्बन्धी विषयमा जिल्ला सरकारी वकिलको कार्यालय, सर्लाहीमार्फत १८ असारमा मुद्दा दायर भएको थियो ।

अधिवक्ता टीपी शर्मा कँडेलका अनुसार अदालतमा बम्जन उपस्थित नहुनु भनेको उनी आफैं कमजोर हुनु हो । ‘प्रतिवादी अदालतमा उपस्थित नभएपछि उनीविरुद्धको मुद्दा अझै बलियो हुन्छ, आफूविरुद्धको अभियोगको प्रतिरक्षाका लागि पनि बम्जन अदालतमा उपस्थित हुनुपर्ने हो’, उनले भने, ‘अब अदालतले एकपक्षीयरुपमा फैसला गर्छ ।’

मुद्दाको फैसला हुञ्जेलसम्म पनि अदालतमा पनि उपस्थित नभए बम्जनले पुनरावेदनको अवसरसमेत गुमाउने कँडेलको भनाइ छ । त्यसो त मुद्दा प्रक्रिया जारी रहेको अवस्थामा ‘मुल्तबीमा भएको मुद्दालाई ब्युतायी पाउँ’ भन्ने व्यहोराको निवेदन दिएर अदालतमा उपस्थित हुने बाटो पनि रहेको उनले सुनाए ।

जिल्ला सरकारी वकिलको कार्यालय, सर्लाहीका न्यायाधीवक्ता केशवप्रसा गौतमका अनुसार यो अवधिमा प्रहरीले समेत बम्जनलाई पक्राउ गरेर अदालतमा बुझाउने बाटो खुला छ । वैतनिक वकिल चौधरीका अनुसार बम्जनविरुद्ध वारेन्टसमेत जारी भइसकेको छ ।

यो पनि पढ्नुहोस रामबहादुर बम्जन प्रहरीबाट उम्किए, अदालतले के गर्ला ?

हत्याबारे अनुसन्धान गर्ने बाटो बन्द

बम्जनमाथि चार जना अनुयायी बेपत्ता पारेको समेत उजुरी छ । तीमध्ये हेटौंडाको सञ्चलाल वाइवाको हत्या भएको आशंका गरिएको थियो । उनका छोरा महेन्द्रले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

छोरा सुरेश हराएको भन्दै हस्तबहादुर आलेमगर, दिदी फूलमायाबारे हेटौंडाका विजय रुम्बा र बहिनी चिनिमायाबारे नुवाकोटकी गंगामाया तामाङले प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले अनुसन्धानको सिलसिलामा सिन्धुपाल्चोकस्थित आश्रममा छापा हानेर खनतलासी लिए पनि कुनै प्रमाण भेटिएको थिएन ।

सिन्धुपाल्चोकको आश्रमको एक शंकास्पद स्थानमा खनेर प्रहरीले नुनको पोका फेला पारेको थियो । त्यहाँ शव गाडेर गलाइएको हुनसक्ने आशंका गरिए पनि कुनै सुराक भेटिएन ।

त्यसपछि प्रहरीले बम्जनलाई जबरजस्तीकरणी सम्बन्धी कसुरमा पक्राउ गरेर २५ दिन हिरासतमा राख्दा व्यक्ति बेपत्ताको विषयमा समेत अनुसन्धान गर्ने तयारी गरेको थियो । यद्यपि, मुद्दा अदालतमा पुगेसँगै थप अनुसन्धानको बाटो टरेको सीआईबीका एक अधिकृत बताउँछन् ।

यो पनि पढ्नुहोस रामबहादुर बमजनमाथिको अनुसन्धान : प्रहरीलाई विवादमा पर्ने डर !

कहाँ छन् बम्जन ?

प्रहरी अधिकृतहरुको दाबी मान्ने हो भने उनी अझै सिन्धुलीकै घना जंगलमा लुकेर बसेका छन् । बम्जनले सुराकी राखेर प्रहरी प्रवेश गर्ने वित्तिकै सूचना लिएको हुनाले उनी उम्कन सफल भएको हुनसक्ने आशंका प्रहरीको छ ।

उनी अदालतमा हाजिर नहुनुले चाहिँ अनेक शंका गरेको प्रहरीको भनाइ छ । यो अवधिमा उनले पीडित किशोरीलाई समेत प्रलोभनमा पार्ने कोसिस गरेको सूचना प्रहरीसम्म पुगेको छ ।

प्रहरी स्रोतका अनुसार पीडितलाई होस्टायल गराएर मात्रै हाजिर हुने तयारी बम्जनले गरेको हुनसक्छ । पीडित परिवारसमेत बम्जनकै अनुयायी भएकाले सम्प्रदायकै व्यक्तिबाट पनि चुप लागिदिन दबाब रहेको प्रहरी स्रोत बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment