Comments Add Comment

ललितपुर महानगरभित्रका सबै होर्डिङ बोर्ड हट्छन् : मेयर महर्जन

२ पुस, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले महानगर क्षेत्रमा अब चाँडै नै होर्डिङ बोर्ड मुक्त बनाइने बताएका छन् । अहिले पनि होर्डिङ बोर्ड हटाउने क्रम तीब्र पारिएको र केही समयमा नै होर्डिङ बोर्ड सबै हट्ने मेयर महर्जनले बताए ।

बिहीबार महानगरको १०२ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले केही प्राविधिक समस्याका कारण सबै बोर्ड अहिले नै हटाउन अप्ठेरो परेको बताए । तर छिट्टै बोर्ड हटाउने नै महानगरको योजना रहेको उनले सुनाए ।

मेयर महर्जनका अनुसार ललितपुर क्षेत्रमा महानगरको जानकारीबिनै बोर्ड राखेका तथा कर तिरेर करार सम्झौता पुरा भएका सबै बोर्डहरु धमाधम हटाउन थालिएको उनले बताए । केही बोर्डहरुको भने करार सम्झौता अवधि पुरा हुन बाँकी रहेका कारण हटाउन नसकिएको महर्जनले बताए ।

अब अवधि पुरा भएपछि महानगरले बोर्ड राख्ने सम्झौता नवीकरण नगर्ने बताए । महानगरलाई हराभरा र सफा बनाउन आफूहरु लागिपरिरहेको उनको भनाइ छ ।

सियो खसे पनि देख्न सक्ने गरी महानगरका सबै सडकमा स्मार्ट लाइट जोड्ने योजना पनि उनले सुनाए । कर प्रणालीमा पनि चाँडै व्यापक सुधार हुने उनले बताए ।

‘अब कर तिर्नका लागि महानगरमा आउनै पर्ने बाध्यता हट्छ, हामी अनलाइनबाटै सहजै तिर्न सक्ने व्यवस्था मिलाउँदैछौं’ मेयर महर्जनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment