Comments Add Comment

गोरखाको माछाखोलामा केन्द्रीय प्रसारण लाइनको बिजुली पुग्यो

१ पुस, गोरखा । गोरखाको धार्चे गाउँपालिका केन्द्र माछाखोलामा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ । मंगलबारबाट गाउँपालिकाको कार्यालयसहित २० घरधुरीमा बिजुली बत्ती बलेको नेपाल विद्युत प्राधिकरण आरुघाट वितरण केन्द्रले जनाएको छ ।

‘माछाखोलामा कुल ८० घरधुरी छन्,’  केन्द्रका प्रमुख निरोज पौडेलले भने, ‘अहिले २० घरधुरीमा बत्ती बलिसकेको छ, बाँकी घरधुरीमा मिटर वितरणको काम भइरहेको छ ।’ उनका अनुसार यसअघि आरुघाट गाउँपालिकाको खुर्सानेसम्म मात्र केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको थियो । सोही ठाउँबाट हावाडाँडा, लापुबेंसी, न्याउली खोला, खानीबेंसी हुँदै माछाखोलासम्म ११ केभी लाइन विस्तार गरिएको उनले बताए ।

लाइन विस्तारका लागि ३३० वटा पोल प्रयोग भएका छन् । बिजुली बाल्न माछाखोलामा ५० केभीएको ट्रान्सफर्मर जडान गरिएको छ । सरकारको ग्रामिण विद्युतीकरण कार्यक्रम अन्तर्गत एक करोड ६५ लाख लागतमा माछाखोलासम्म बिजुली पुर्‍याइएको पौडेलले बताए । ‘धार्चे गाउँपालिकाको यो आधार लाइन हो, अब यहीँबाट पालिकाको अन्य ठाउँ हुँदै चुमनुव्री गाउँपालिकासम्म लाइन विस्तार गर्छाै,’ उनले भने ।

माछाखोलाका स्थानीयले यसअघि सोलार प्रयोग गर्दै आएका थिए । ‘भूकम्प अघिसम्म स्थानीयले लघु जलविद्युतबाट बत्ती बाल्दै आएका थिए,’ उनले भने, ‘भूकम्पले क्षति पुगेपछि स्थानीय सोलार प्रयोग गर्न बाध्य बनेका थिए । अब सोलार प्रयोगको झन्झट पनि हटेको छ ।’

केन्द्रीय प्रसारण लाइनको बिजुली बलेपछि होटल व्यवसायीहरु उत्साहित भएका छन् । होटल व्यवसाय सञ्चालनमा थप सहज भएको उनीहरुको भनाइ छ ।

घरेलु उद्योग सञ्चालन सँगै माछाखोलामा निर्माणाधिन दुई वटा हाइड्रो पावरलाई पनि सहयोग पुग्ने पौडेलले बताए ।

उनका अनुसार कासीगाउँ र केरौजामा लाइन विस्तारको काम भइरहेको छ । लप्सीबोट यमगाउँ र गुम्दामा लाइन विस्तारको काम सकेर ट्रान्सफर्मर जडानको काम भइरहेको उनले बताए ।

चैत महिनासम्म गुम्दामा पनि बिजुली बल्ने उनको भनाइ छ । खोर्लाबेंसीदेखि चुमनुव्री गाउँपालिकातर्फ ११ केभी लाइन विस्तारका लागि ठेक्का सम्झौता भएर काम अघि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment