Comments Add Comment

रासफोर्डको दुई गोलमा म्यानचेष्टर युनाइटेडको जित

३ पुस, काठमाडौं । मार्कुस रासफोर्डले दुई गोल गरेपछि म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा शेफिल्ड युनाइटेडलाई ३-२ ले पराजित गरेको छ । घरेलु मैदानमा शेफिल्डले पहिले अग्रता लिएपनि युनाइटेडले पुनरागमन गर्दै तीन गोल गरेको हो । शेफिल्डका लागि डेभिड म्याकगोल्ड्रिकले दुवै गोल गरे ।

घरेलु मैदानमा ब्रामल लेनमा म्यकगोल्ड्रिकले खेलको पाँचौ मिनेटमै गोल गर्दै शेफिल्डलाई अग्रता दिलाएका थिए । २६औं मिनेटमा रासफोर्डले युनाइटेडका लागि बराबरी गोल फर्काए । ३३औं मिनेटमा एन्टोनी मार्सिएलले गोल गर्दै युनाइटेडलाई २-१ को अग्रता दिलाए ।

५१औं मिनेटमा रासफोर्डले व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेड जितनजिक पुग्यो । ८७औं मिनेटमा म्याकगोल्ड्रिकले शेफिल्डका लागि दोस्रो गोल फर्काए । तर हार टार्न त्यो ढिला भइसकेको थियो ।

जितपछि १२ खेलबाट २३ अंक जोड्दै युनाइटेड अंकतालिकामा छैटौं स्थानमा उक्लेको छ । एभरटनसमान अंक भएपनि युनाइटेड गोलअन्तरमा पछि परेको हो ।

शीर्ष स्थानको लिभरपुलदेखि पाँचौ स्थानको एभरटनसम्मले युनाइटेडभन्दा एक खेल बढी खेलेको छ । १३ खेलबाट २८ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ ।

लिगकै अर्को खेलमा एस्टन भिल्ला र बर्नलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । एस्टन भिल्ला ११ खेलबाट १९ अंकसहित ११औं स्थानमा छ भने १२ खेलबाट १० अंक रहेको बर्नली १७औं स्थानमा छ र रेलिगेसन जोन भन्दा १ अंकले मात्र माथि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment