Comments Add Comment

भाजपा नेताको भ्रमणले जन्मायो नेकपामा आशंका

फाइल तस्वीर

३ पुस, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेको नेपाल भ्रमणले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उच्च नेतृत्व तहमा विभिन्न आशंकाहरु उत्पन्न भएका छन् ।

पछिल्लो समय नेपालको मामिलामा भाजपाको चासो बढेको चौथाइवालेको भ्रमणले पुष्टि गरेको छ । उनी नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलको निमन्त्रणमा अघिल्लो साता नेपाल भ्रमणमा आएका थिए ।

चौथाइवालेले नेकपाका ओली निकट नेताहरु, प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) का नेता महन्थ ठाकुर र राजेन्द्र महतोलाई भेटेका थिए ।

सत्तारुढ दलभित्रको विवाद उत्कर्षमा पुग्दै गरेको र सडकमा राजावादीहरुको प्रर्दशन भइरहेको समयमा भाजपाको विदेश विभागको भ्रमणले विभिन्न आशंकाहरु जन्माएको हो ।

पछिल्लो समय भारतका तर्फबाट उच्च अधिकारीहरुले लगातार नेपालको भ्रमण गरिरहेका छन् । प्रधानमन्त्री केपी ओलीकै निमन्त्रणामा भारतीय खुफिया एजेन्सीका प्रमुख सामन्त कुमार गोयल नेपाल भ्रमणमा आएका थिए । त्यसपछि भारतीय सेनापति मनोज मुकुन्द नेपाल भ्रमणमा आए । त्यसपछि भारतीय विदेश सचिव हर्षबर्द्धन श्रृंगलाले नेपालको भ्रमण गरे ।

यी सबै भ्रमणमा प्रधानमन्त्री ओलीले आफू नेपालसँगको सम्बन्धलाई सुदृढ बनाएर अगाडि जान चाहेको सन्देश भारतलाई दिएका छन् भने भारतले पनि आफूलाई ओली सरकारसँग काम गर्न कुनै कठिनाई नभएको सन्देश दिएको छ ।

भाजपाका विदेश विभाग प्रमुखको भ्रमणलाई लिएर साउथ ब्लक असन्तुष्ट भएको पाइएको छ । भर्खरै विदेश सचिवले भ्रमण गरेर मोदीको सन्देश दिइसकेको अवस्थामा भाजपाका नेताको अकस्मात् भ्रमणलाई उनीहरुले असहज रुपमा लिएको बुझिएको छ ।

चौथाइवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिन्छन् र उनी उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ निकट नेता हुन् । मोदीको हरेक विदेश भ्रमण अगाडि उनी तयारीका लागि भ्रमणमा जाने गर्दछन् ।

पछिल्लोपटक मोदीको काठमाडौं र जनकपुर भ्रमणको पूर्वसन्ध्यामा पनि उनी नेपाल भ्रमणमा आएका थिए ।

यस अगाडि विदेश मामिलामा भाजपाका राम माधव सक्रिय थिए । तर, उनी अहिले किनारा पारिएका छन् ।

चौथाइवालेको भ्रमणका बारेमा नेकपाका वरिष्ठ नेताहरु कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र अन्य वरिष्ठ नेताहरुलाई कुनै जानकारी थिएन । उनी सत्तारुढ नेकपाका प्रधानमन्त्री ओली निकटका नेतालाई भेटेर फर्किएका थिए ।

समाचार स्रोतका अनुसार चौथाइवालेको भ्रमणको मुख्य उद्देश्य प्रम ओलीलाई भाजपाको पूर्णरुपमा समर्थन रहेको छ भनी सन्देश दिनु थियो । सत्तारुढ नेकपामा सत्ता संघर्ष चलिरहेको समयमा भाजपाले सरकार ढाल्न खोजेको छैन भनी आश्वस्त पार्नु उनको भ्रमणको उद्देश्य थियो ।

चौथाइवालेको भेटबारे जानकारी राख्ने एक नेताले भने, ‘उनको भ्रमणको उद्देश्य भनेको हामी ओली सरकारको निरन्तरताको पक्षमा छौं भन्ने सन्देश दिनु नै हो ।’ ती व्यक्तिले भने,‘राजनीतिक डिल हुने राजनीतिक तहमा नै हो, कर्मचारी तहमा त औपचारिक र विकास निर्माणका विषयमा मात्र कुराकानी हुने हो ।’

स्रोतका अनुसार पछिल्लो समयमा भाजपाले आफू ओली सरकारको निकट रहेको सन्देश दिएको छ । कोभिड–१९ को महामारीका कारण दुई देशको बीचमा हवाई उडान सुरु नभइसकेको अवस्थामा उनी स्थलमार्गबाट हतारिएर नेपाल भ्रमणमा आउनुले धेरै आशंका जन्माएको सत्तारुढ दलकै नेताको भनाइ छ । उनी हतारिएर नेपाल भ्रमणमा आउनुपर्ने त्यस्तो कुनै ठूलो एजेन्डा पनि थिएन ।

त्यसैगरी उनको भ्रमणलाई राजावादीको आन्दोलनसँग पनि जोडेर हेर्ने गरिएको छ । अहिले सत्तामा रहेका भाजपाका मन्त्रीहरुले नेपालमा संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताकै पक्षमा रहेको बताए पनि भाजपा भने नेपाललाई हिन्दु राज्य बनाउने पक्षमा रहेका छन् ।

नेपाल भ्रमणमा आएका चौथाइवालेको पनि पूर्वराजा ज्ञानेन्द्र र अन्य संघसंस्थाहरुसँग राम्रो सम्बन्ध रहेको बताइन्छ । भाजपाका विभिन्न नेताले नेपालमा भइरहेको हिन्दु राज्य पुनस्र्थापना अभियानलाई समर्थन समेत गर्ने गरेका छन् ।

प्रधानमन्त्री केपी ओली र भाजपाको सम्बन्ध सुमधुर हुनुका पछाडि चीन फ्याक्टर भएको नेताहरुको बुझाइ छ । केही समय अगाडिसम्म नेकपाभित्रको विवादमा निकै सक्रिय नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले पछिल्लो समयमा तटस्थ पोजिसन लिएकी छन् ।

केही समय अगाडि नेकपाका उच्च नेताहरुसँगको भेटमा उनले भनेकी थिइन्, ‘नेकपाभित्र कसलाई प्रधानमन्त्री बनाउने, कसलाई पार्टी सभापति बनाउने वा जिम्मेवारी बाँडफाँट कसरी गर्ने, तपाईहरुको आन्तरिक विषय हो, तर पार्टीमा एकता भने कायम होस् ।’

केही समय अगाडिसम्म चीन ओली नेतृत्वको सरकारलाई नै निरन्तरता दिनुपर्ने पक्षमा थियो । तर, पछिल्लो समयमा उनले आफ्नो पोजिसनमा केही परिवर्तन गरेकी छन् । यसले गर्दा चीनसँग ओली केही असन्तुष्ट भएको र भारतसँग सम्बन्ध सुधारमा लागेको नेताहरुको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment