Comments Add Comment

हाइकिङ : विहंगम दृश्यावलोकनका लागि चन्द्रागिरि

Photo Credit : रिंकु चाैधरी

शनिबार बिदाको दिन स्वच्छ प्रकृतिमा रम्न काठमाडौंबासीका लागि चन्द्रागिरि गजबको गन्तब्य हो । ऐतिहासिक–धार्मिक रुपमा समेत महत्वपूर्ण चन्द्रागिरिमा अनेक गन्तब्य छन्, जुन एकै दिनमा घुमेर सकिन्न । यहाँ भालेश्वर (चन्द्रागिरि केवलकारको माथिल्लो स्टेशन) सम्मको हाइकिङको मात्र वर्णन छ ।

केवलकार बनेपनि चन्द्रागिरि डाँडासम्मको पुरानो पैदलमार्ग बन्द भएको छैन । पैदल यात्रीहरुका लागि यो गजबको रुट हो । त्यसो त चन्द्रागिरि पुग्ने अरु बाटाहरु पनि छन् । काठमाडौंलाई घेरा हालेका एकबाट अर्को डाँडा सजिलै पुग्न सकिन्छ । चन्द्रागिरि (भालेश्वर) पनि यस्तै ‘इन्टर–कनेक्सन’मा भएकोले त्यहाँ पुग्ने धेरै रुट छ ।

‘भालेश्वर तुलनात्मक रुपमा सुविधा सम्पन्न पदमार्ग हो,’ नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदी भन्छन्, ‘जहाँ हिँडेर, गाडीमा अनि केवलकारबाट पुग्न सकिन्छ ।’

थानकोट–गोदाम–चन्द्रागिरि भञ्ज्याङ–भालेश्वर

भालेश्वर पुग्ने अनेक रुटमध्ये एउटा हो– थानकोट–गोदाम–चन्द्रागिरि भञ्ज्याङ–भालेश्वर । बसबाटै पनि यो रुटको प्रारम्भ विन्दु थानकोट सजिलै पुग्न सकिन्छ । निजी साधन हुनेहरुले गोदाम भन्ने ठाउँमा आफ्ना सवारी साधन राख्न सक्छन् । त्यहाँ व्यवस्थित पार्किङस्थल भने छैन ।

गोदामबाट पदयात्रा शुरु गरेपछि चन्द्रागिरि भञ्ज्याङसम्मको बाटो केही वर्ष अगाडि जस्तो सजिलो भने छैन । सडक खन्दा धेरै ठाउँमा उबडखाबड छाडिएको छ । तर, गाडीहरुको चाप नहुने भएकाले हिँड्दा असहज पनि छैन । बीचबाट वनवनै साविक ठाडो बाटो पनि छ । त्यो बाटो गए कच्ची सडकको तुलनामा यात्रा करीव दुई किलोमिटर छोटिन्छ ।

चन्द्रागिरि भञ्ज्याङ पुगेपछि दायाँतर्फ चित्लाङ जाने ओरालो बाटो छ । भालेश्वर मन्दिर जाने बाटो बाँयातर्फ सोझिन्छ । त्यहाँबाट केवलकारको माथिल्लो स्टेशनसम्म व्यवस्थित पदमार्ग बनेको छ । भञ्ज्याङबाट करीव आधा घण्टामा भालेश्वर पुगिन्छ ।

थानकोटको ठीक पछाडि पर्ने गोदामबाट भञ्ज्याङ पुग्न मोटरबाटोबाट उकालो ६ किलोमिटर र ठाडो बाटो पच्छ्याउँदा ४ किलोमिटर यात्रा गर्नुपर्छ । त्यहाँ डेढघण्टादेखि दुईघण्टासम्मको पसिना निकाल्ने उकालो हिँडाइ हुन्छ ।

भन्ज्याङबाट थप आधा घण्टा हिँडेपछि चन्द्रागिरिको माथिल्लो बिन्दु भालेश्वर पुगिन्छ । समुन्द्री सतहबाट २४७५ मिटर उचाइमा रहेको भालेश्वर पुगेपछि जता हेरेपनि प्रकृतिको विहंगम दृष्यावलोकन गर्न पाइन्छ । सिरसिर शितल हावा चलिरहने डाँडाबाट सेताम्य हिमश्रृङ्खला, हरिया पहाडी छटाका साथै काठमाडौं खाल्डोमा उम्रेको कंक्रिटको सहर नियाल्नुको आनन्द भालेश्वरमा पाइन्छ ।

भालेश्वरबाट ओरालो झर्दा पनि अघि चढ्दाजस्तै वैकल्पिक बाटो समात्न सकिन्छ । निजी गाडी लिएर चन्द्रागिरि पुग्नेहरुका लागि भने फर्कदा अर्को रुटको सुविधा छैन ।

मातातीर्थ–चखेल देउराली–भालेश्वर मन्दिर

मातातीर्थ–चखेल देउराली रुटबाट पनि भालेश्वर मन्दिर पुग्न सकिन्छ । मातातीर्थस्थित सशस्त्र प्रहरीको एकेडेमी रंगशाला छेउबाट चखेल देउरालीसम्म जंगलको उकालो बाटो छ । गोदाम वा मातातीर्थबाट चन्द्रागिरीको यात्रा गर्नु दूरीको हिसाबले करीव उस्तै हुन्छ । दुवै ठाउँबाट उकालो अधिकतम तीन घण्टा र ओरालो डेढ घण्टको यात्रा  छ ।

मकवानपुरको चित्लाङबाट ६ किलोमिटर हिँडेर भालेश्वर पुग्ने अर्को पदमार्ग पनि छ । जाडोयाममा यो रुटलाई बढी रमाइलो मानिन्छ । काठमाडौंबाट चित्लाङ घुम्न जानेहरुले थानकोट–चन्द्रागिरि भन्ज्याङ–चित्लाङ यात्रालाई एकदिने रोमाञ्चक हाइकिङको रुपमा उपयोग गर्ने गरेका छन् ।

यो रुटलाई अलिकति छोटो बनाउन चन्द्रागिरिसम्म केवलकार छँदैछ । अलि लामो बनाउने हो भने मच्छेगाउँबाट चम्पादेवी डाँडा निस्किएर त्यहाँबाट भश्मेश्वर डाँडा, चखेल देउराली हुँदै भालेश्वर पुग्न सकिन्छ । तर, यो रुट नयाँ पदयात्रीका लागि उपयुक्त मानिन्न ।

पदयात्राबाट चन्द्रागिरि पुगेपछि धेरै थाकेको अनुभव भयो भने फर्कदा केवलकारको एकतर्फी टिकट लिएर सोझै थानकोट झर्न सकिने सुविधा छँदैछ ।

पदयात्राका लागि लुगा–जुत्ता

चिसो मौसम छ, त्यसमाथि तपाईं घाम नदेखिने जंगलको बाटो भएर चन्द्रागिरी चढ्दै हुनुहुन्छ । त्यसकारण जीउलाई न्यायो पार्ने ज्याकेट त चाहिन्छ नै । ज्याकेटभित्र आफ्नो सुविधा अनुसार स्वेटर लगाउन सकिन्छ ।

छालाको जुत्ता वा चप्पलमा ननिस्कनुहोला, यो बाटोमा स्पोर्टस जुत्ता र बाक्लो मोजा चाहिन्छ । यो रुटमा वर्षायाममा पदयात्रा गर्दा भने हाफ प्याण्ट र सामान्य जुत्ता राम्रो हुन्छ । वर्षायाममा जंगलको बाटो जुका फाल्दै उकालो चढ्नु यो रुटको रोमाञ्चक पक्ष हो ।

खाना बोक्ने कि किन्ने ?

घरकै खाजा बोकेर यात्रामा निस्कनु आफैंमा राम्रो हो, तर रित्तै निस्किए पनि चन्द्रागिरिमा समस्या पर्दैन । जंगलको बाटोमा बाहेक हाइकिङ शुरु गर्ने स्थान र डाँडामा पसल–रेष्टुरेन्टहरु छन् । भालेश्वर मन्दिरसंगै चन्द्रागिरि हिल्स प्रालिकै पनि रेष्टुरेन्ट छ ।

पसल–रेष्टुरेन्टहरु पाइएपनि पदयात्रामा निस्कदा झोलामा ड्राइफुड बोक्दा भने सजिलै हुन्छ । यात्रा अवधिभर उकालो चढ्दा होस वा झर्दा पानी चाहिँ अनिवार्य आफ्नै साथमा हुनुपर्छ । सुन्तला, बदाम, भुटेको मकै, पानी बोकेर हाइकिङ गर्नु राम्रो मानिन्छ ।

त्यस्तै, क्यामरा, मोवाइल, सनग्लास नर्बिर्सेको बेस । सजिलो ब्याग र केही नगद पनि साथमा भए यात्रामा कतै स्थानीय उत्पादन देख्दा किन्न सकिन्छ । त्यसो गर्दा एकातिर तपाईले सस्तोमा राम्रो चिज पाउनुहुन्छ अर्कोतर्फ स्थानीयको आयसंगै पाहुनालाई स्वागत गर्ने तत्परता बढ्छ ।

के हो आकर्षण ?

थानकोटको कोलाहललाई पछि छाडेर गोदाम पुगेपछि प्रकृतिको समिपता अति हुन थाल्छ । लेकाली जंगलको खोँचखोँचबाट आक्कल झुक्कल शहरी दृष्य हेर्दै उकालो लाग्दा बाटो कटेको पत्तै हुँदैन ।

चन्द्रागिरी भन्ज्याङबाट भने चिसो शुरु हुन्छ । छिनछिनमा मौसम परिवर्तन भएको अनुभव यो यात्राको रमाइलो पक्ष हो । भालेश्वर दर्शनपछि चन्द्रागिरीमा सुस्ताउँदै उत्तरतिर पूर्वपश्चिम फैलिएको हिमालय पर्वत श्रृङ्खला नियाल्दा अविष्मरणीय शितलता अनुभव हुन्छ ।

चन्द्रागिरिबाट सगरमाथा, गौरिशंकर, लाङटाङ, दोर्जेलाक्पा र गणेश हिमाल देखिन्छ । पूर्वतर्फ तलतिर काठमाडौं उपत्यका गोचर हुन्छ । पश्चिम र दक्षिणतर्फ मकवानपुरसहितको चित्ताकर्षक पहाडी दृष्य आखाँमा ठोकिन्छ ।

चन्द्रागिरि सुविधाजनक हाइकिङ रुट हो । त्यहाँ पारिवारिक यात्रा गर्न कुनै समस्या छैन । साथीहरुको समूहमा  होस् वा परिवारसंग, सहज यात्रामा निस्कन सकिन्छ । जंगलको बाटोमा साना बालबच्चासँगको हिडाइ भने अफ्ठ्यारो हुन सक्छ । साथमा बालबालिका र वृद्धवृद्धा हुनुहुन्छ भने केवलकार राम्रो विकल्प छ ।

चम्पादेवी–चन्द्रागिरि एक दिने पदयात्राको लागि समूहमा अलि बढी तयारीका साथ निस्कनुपर्छ । धेरै ठाउँमा सुनसान जंगलको बाटो काट्नुपर्ने भएकोले यो रुटमा एक्लै ननिस्कनु राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment