Comments Add Comment

संसद विघटन प्रस्तावको विरोधमा पोखरामा प्रधानमन्त्रीविरुद्ध नाराबाजी

मन्त्रिपरिषद बैठकको फाइल तस्वीर

५ पुस, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गरेपछि पोखरामा विद्यार्थीहरूले आन्दोलन थालेका छन् । प्रधानमन्त्री ओलीको प्रस्तावले लोकतन्त्रको हरण र संविधानको धज्जी उडाएको भन्दै पोखरामा विद्यार्थीले आन्दोलन थालेका हुन् ।

पोखराको पृथ्वीनारायण क्याम्पसको गेटबाहिर नेपाल कम्युनिस्ट पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का नेता माधवकुमार नेपाल पक्षधर अनेरास्ववियुका विद्यार्थी, जनता समाजवादी पार्टीका विद्यार्थी संगठनले नाराबाजी गरेका छन् ।

उनीहरूले केपी ओलीविरुद्ध नारा लगाउँदै संविधानमाथि ‘कू’ भएकाले चरणबद्ध आन्दोलन सुरु भएको बताएका छन् । जनताले लडेर ल्याएको लोकतन्त्र र संविधान प्रधानमन्त्री ओलीले प्रहार गरेको विद्यार्थीहरूले बताएका छन् ।

संसद विघटनको प्रस्ताव तत्काल फिर्ता नलिए देशभर आन्दोलनको राँको बल्ने विद्यार्थीहरूले चेतावनी दिएका छन् । समाजवादी विद्यार्थी संगठनका नेता रेशम सापकोटाले हिजो जसरी ज्ञानेन्द्र ‘कू’ विरुद्ध संयुक्त विद्यार्थी आन्दोलन सुरु भए झैं प्रधानमन्त्रीविरुद्ध संयुक्त विद्यार्थी आन्दोलन सुरु भएको बताए ।

पृथ्वीनारायण क्याम्पस अनेरास्ववियुका कार्यवाहक अध्यक्ष सन्तोष न्यौपानेले लोकतन्त्रको रक्षाका निम्ति आन्दोलन सुरु भएको बताए । प्रचण्ड-नेपाल समर्थित विद्यार्थीहरूले १ बजे पोखराको महेन्द्रपुलमा आन्दोलनको तयारी गरेका छन् ।

विद्यार्थीहरूको संयुक्त मोर्चा बनाएर आन्दोलन अगाडि बढ्ने अनेरास्ववियुका केन्द्रीय सदस्य क्षितिज सापकोटाले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment