Comments Add Comment

केपी ओली एमालेबाट चुनाव लड्छन् कि नेकपाबाट ?

६ पुस, काठमाडौं । संविधानविपरीत संसद भंग गर्ने र मध्यावधि निर्वाचनमा जाने निर्णय लिएका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान बालुवाटारमा आफूनिकटका सांसदहरूको भेलामा कार्यकारी अध्यक्ष प्रचण्डमाथि प्रश्न गरे- एमालेको अध्यक्षलाई कारबाही गर्ने ?

प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक कदमपछि अब उनले पूर्वएमालेलाई ब्युँताउने सम्भावना बढेको छ । बालुवाटारको उनको अभिव्यक्तिले पनि एमाले ब्युँतिने संकेत गरेको छ । विगतमा सीपी मैनालीले नेकपा माले ब्युँताएजस्तै अब ओलीले एमालेको पुनर्जन्म गराउने सम्भावना बढेको हो ।

ओलीनिकट केही कार्यकर्ताहरूले यस अगाडि नै निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गरिसकेका छन् । ओलीकै निर्देशनमा नै दर्ता भएको भनिएको नयाँ एमालेले सूर्य चिह्न पाउने सम्भावना छैन ।

यो स्थितिमा अब ओलीले नेकपाको नामबाट नभएर नेकपा एमालेकै नामबाट निर्वाचन लड्ने सम्भावना बढी रहेको नेताहरू बताउँछन् । यद्यपि नेकपाले पाएको सूर्यचिह्न चाहिँ ओलीले प्राप्त गर्न गाह्रो देखिन्छ । किनभने पार्टीको बहुमत हिस्सा ओलीसँग रहने छैन र प्रचण्ड-माधव समूहसँगै रहनेछ । यद्यपि निर्वाचन आयोगलाई दबाब र प्रभावमा पारेर ओलीले सूर्य चिह्न लिने कोसिस भने गर्न सक्ने नेताहरू बताउँछन् ।

२०७४ सालको निर्वाचनमा ओलीले राजनीतिक स्थिरता र समृद्धिको नारा बोकेर भोट मागेका थिए । २०७२ को भारतीय नाकाबन्दीमा ओलीले लिएको दृढ अडानका कारण निर्वाचनमा एमाले सबैभन्दा ठूलो दलको रूपमा उदाएको थियो । त्यही म्यान्डेटको जगमा ओली प्रधानमन्त्री भए । तर पाँच वर्षे कार्यकाल पूरा हुन नपाउँदै उनले संसद भंगको घोषणा गरेका छन् ।

ओली अब के नारा र एजेण्डा लिएर निर्वाचनमा जालान् ? उनको आफ्नो कदमको कसरी बचाउ गर्लान् ? संसद विघटनको औचित्य सावित गर्न उनलाई निकै कठिन पर्ने देखिन्छ ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल भने अब केपी ओलीमाथि अनुशासनको कारबाही हुने बताउँछन् । ओली कम्युनिस्ट पार्टीको साधारण सदस्यसमेत रहन अयोग्य देखिएको नेता नेपालको तर्क छ ।

कारबाहीमा परेको व्यक्तिले पूर्वएमाले ब्युँताएर केही पार नलाग्ने नेता नेपालको भनाइ छ । अनलाइनखबरसँगको अन्तर्वार्तामा वरिष्ठ नेता नेपालले भनेका छन्, ‘विघटित भइसकेको पार्टी ब्युँतिने कुनै सम्भावना नै हुँदैन । त्यसोभए त्योभन्दा पहिलेको मालेलाई ब्युँताइदिए के हुन्छ ? त्योभन्दा पहिले कोर्डिनेशन केन्द्रलाई ब्युँताइदिए के होला ? त्योभन्दा पहिले झापा जिल्ला कमिटीलाई ब्युँताइदिए के होला भन्नुहोला, त्यसको कुनै अर्थ छैन ।

यो पनि पढ्नुहोस यस्ता व्यक्तिलाई कारवाही गर्नैपर्छ : माधव नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment