Comments Add Comment

फेरि पनि विराजकै साथ खोज्दै जेनिशा

उसो त, भोजपुरी चलचित्रमा लागेपछि नायक विराज भट्टको क्रेज एक दशक अगाडिको जस्तो छैन भन्ने पुष्टी भैसकेको छ । विराजले भोजपुरी चलचित्रमा काम गरेपछि नेपाली चलचित्रमा पनि कमब्याक गरे । चलचित्र ‘जय परशुराम र साङ्लो’मा काम गरेका विराजको स्टारडम खासै चम्किएन । अरुले निर्देशन गरेको चलचित्रबाट सफलता हात नलागेपछि विराजले आफै निर्देशन गरेका थिए, ‘साङ्लो’ । तर, यो चलचित्र पनि असफल भएपछि विराजको स्टारडम पहिलेको जस्तो छैन भन्ने विश्लेषण भयो ।

विराजको क्रेज कमजोर बनेको विश्लेषण भैरहँदा नायिका जेनिशा केसीले भने उनलाई छाड्न सकेकी छैनन् । कारण, नायक विराज भट्ट र नायिका जेनिशा केसीले एक दशक अगाडि केही चलचित्रमा काम गरे । विराजसँग जेनिशाले ‘निगरानी, सिन्दुर, तिमी विनाको जीवन, भागी भागी नजाउ, अमरप्रिती, लगायतका चलचित्रमा काम गरेकी छिन् । अहिले विराज नेपाली चलचित्रमा आफ्नो स्टारडम फर्काउने कोशिशमा छन् भने जेनिशा दुबइमा व्यवसाय गरेर बसिरहेकी छिन् । केही समय अगाडिसम्म विराज र जेनिशाको प्रेम चर्चा नेपाली चलचित्र बजारमा खुबै हुने गरेको थियो । तर, दुबैले यो कुरा स्विकार भने गरेनन् ।

जेनिशा आफू आफ्नै ब्यानरको चलचित्रबाट कमब्याक गर्ने बताउँछिन् । यसका लागि उनले नायकको रुपमा विराज भट्टसँग नै काम गर्ने सोच बनाएकी छिन् । विराज र आफ्नो जोडीलाई दर्शकले निकै मन पराएकाले पनि विराजलाई नै चलचित्रमा लिने उनको तर्क छ ।

जेनिशालाई अहिलेको पुस्ताले विर्सिसकेका छन् । उनलाई बलियो कमब्याकको आवश्यकता छ । विराजले पनि चलचित्रको पर्दामा आफ्नो एक्सन स्टारको छविलाई केही मात्रामा परिवर्तन गर्न आवश्यक छ ।

नेपाली चलचित्रमा नयाँ नयाँ अनुहारहरुको आगमन भैरहेको समयमा जेनिशाले भने आफ्नो चलचित्रमा विराजलाई नै नायकको रुपमा लिने बताएकी छिन् । के फेरि एकपटक दर्शकले जेनिशा र विराजको जोडीलाई रुचाउलान् त, प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment