 
																			६ पुस, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद् विघटन गरेपछि प्रदेश १ मा अंकगणितको खेल सुरु भएको छ ।
पार्टीभित्र अल्पमतमा परेपछि ओलीले आइतबार संसद् विघटन गरे । ओलीले संसद् विघटन गरेपछि नेकपाको प्रदेश १ कमिटीमा पनि अंक गणितको खेल सुरु भएको हो ।
प्रदेश १ मा ओली पक्षका शेरधन राईले सरकारको नेतृत्व गरिरहेका छन् । ९३ सदस्य रहेको प्रदेश १ मा नेकपाको ६७ जना सांसद छन् । जसमा पूर्वएमालेका ५१ र पूर्वमाओवादीका १६ जना छन् ।
संसदीय दलको निर्वाचनमा प्रधानमन्त्री ओलीका विश्वास पात्र शेरधन राईले २६ मत प्राप्त गर्दा माधवकुमार नेपाल समूहका भीम आचार्यले २४ मत प्राप्त गरेका थिए ।
संसदीय दलको निर्वाचनमा एक मत बदर भएको थियो । तर पछिल्लो समय गुटको अवस्था फेरिएको छ । प्रदेशमा ओली गुटमा २० जना मात्रै खुलेका छन् । माधव नेपाल गुटमा २८ जना खुलेका छन् । तीनजना सांसदको अझै कित्ता क्लियर भएको छैन् ।
प्रदेशमा नेपाल र प्रचण्ड समूहसँग खुलेका ४४ जना छन् । प्रदेश सभामा नेकपाको प्रतिनिधित्व तीनजनाको कित्ता स्पष्ट हुन बाकीँ रहेको नेकपा नेताहरु बताउँछन् । ‘हिजो संसदीय दलको निर्वाचनमा मत हालेका तीनजनाले कित्ता स्पष्ट गरेका छैनन्,’ ती नेता भन्छन्, ‘ओली पक्षको तुलनामा प्रदेशमा प्रचण्ड र नेपाल समूहसँग दह्रो छ ।’
प्रदेशमा नेपाली कांग्रेसको २१ सिट छ । अन्य साना दलको पाँच सिट छ । पार्टीभित्र संकट परेको अवस्थामा दुईवटै समूहले अन्य दलसँग मिलेर सरकार बनाउन सक्नेछन् । तर यो प्रकि्रया ओली पक्षका लागिभन्दा नेपाल- प्रचण्ड पक्षका लागि सहज छ ।
प्रदेश क्याविनेटमा ओली पक्ष दह्रो
क्याबिनेटमा भने ओली पक्ष दह्रो देखिएको छ । प्रदेश १ मा पाँचजना फूल मन्त्री छन् । जसमा तीनजना ओली, एकजना नेपाल र एकजना प्रचण्ड पक्षका छन् ।
मुख्यमन्त्री शेरधन राईसहित आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिश कुसियत ओली गुटका हुन् ।
भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङ ओली गुटमा हुन । मन्त्री कार्की र कुसियत प्रदेशमा आयोजित गुटगत भेलामा सक्रिय छन् ।
प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो प्रचण्ड पक्षका हुन् । सामाजिक विकासमन्त्री जीवन घिमिरे नेपाल पक्षका हुन् ।
सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर पनि नेपाल पक्षका हुन् । उद्योग, पर्यटन, वन तथा बातावरण राज्यमन्त्री विजय विश्वास प्रचण्ड पक्षका हुन् ।
ओलीबाट संसदलाई खतरा
पार्टीभित्र अल्पमतमा परेपछि प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री ओलीबाट प्रदेश संरचना जोखिममा परेको नेकपा नेताहरु बताउँछन् । सात प्रदेशमध्ये प्रदेश २ बाहेक अन्य प्रदेशमा नेकपा नेतृत्वको सरकार छ ।
प्रदेश १, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा ओली गुटका नेता मुख्यमन्त्री छन् । तर पार्टीको आन्तरिक समीकरणमा सबै प्रदेशमा ओली समूह कमजोर भएकाले प्रदेशको संरचनामाथि खतरा बढेको प्रदेश १ का एक सांसद्ले बताए । ‘आफूले भने अनुसार नहुँदा प्रतिनिधि सभा विघटन गरे,’ ती सांसदले भने, ‘पकड गुम्ने डरले अध्यादेशमार्फत प्रदेशविरुद्ध धावा बोल्न सक्छन् ।’
संविधानमा उल्लेख नभएको व्यवस्था टेकेर संसद् विघटन गरेका ओलीबाट प्रदेशमा आफ्नो गुटको नेतृत्व गुम्ने अवस्था आए अध्यादेशको अस्त्र उठाउन सक्ने उनको दाबी छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4