Comments Add Comment

विदेशबाट फर्किएका युवा सामूहिक बाख्रापालनमा

७ पुस, गुल्मी । पछिल्लो समय बाख्रापालनतर्फ युवाहरुको आकर्षण बढ्न थालेको छ । विदेशी भूमिमा पसिना बगाउनु भन्दा स्वदेशमै व्यवसाय गरेर आत्मनिर्भर बन्न सकिने भन्दै गुल्मीका तीन जना युवाहरु सामूहिक बाख्रापालनमा लागेका छन् । उनीहरु विदेशबाट फर्किएर सामूहिक बाख्रापालनमा लागेका छन् ।

पैसा कमाउन युवाहरु खाडी लगायत अन्य मुलुक जाने प्रचलन छ । तर कतिपय युवाहरु भने विदेशबाट फर्किएर स्वदेशमै विभिन्न व्यवसायमा जुटेका छन् ।

गुल्मीको रेसुङ्गा नगरपालिका–७ का स्थानीय नवराज मरासिनी, तेजबहादुर पुन र रघुनाथ पन्थी मिलेर सामूहिक रुपमा बाख्रापालन गरेका हुन् । नवराज मरासिनी कतारमा र तेजबहादुर पुन दुबइमा ५/५ वर्ष बसेर नेपाल फर्किएका हुन् ।

रघुनाथ पन्थी भने स्थानीय समाजसेवी हुन् । उनीहरु मिलेर ३ वर्ष पहिलेबाट बाख्रापालन सुरु गरेका हुन् । ५ लाख लगानीमा २० वटा  बाख्राबाट व्यवसाय सुरु गरेका उनीहरुको बाख्रा अहिले ५२ वटा पुगेका छन् । उनीहरुले लोकल खरी र बोयर जातका बाख्रापालेका हुन् । उनीहरुले सुरु गरेको बाख्रापालन व्यवसायमा स्थानीयले रोजगारी समेत पाएका छन् ।

बाख्रापालनको राम्रो सम्भावना भएकाले यो पेशामा लागेको नवराज मरासिनीले बताए । विदेशबाट फर्केर बेरोजगारी जस्तै भएर बसेको समयमा केही गर्नु पर्छ र अरुले पनि सिकुन् भन्ने उदेश्यले बाख्रापालन व्यवसाय गर्दै आएको मरासिनीले बताए ।

बाख्रा फार्मबाट खसी लगायतका बोकापाठी समेत बिक्री गर्न सुरु भएको उनीहरुले बताएका छन् । बोयर जातको बोकाको जिउँदो १ केजीको एक हजार, स्थानीय जातको रु. ५ सयमा बिक्री हुने गरेको छ । बाख्रापालन सम्बन्धी कुनै अध्ययनविना नै आफूहरुले व्यवसाय सुरु गरेका कारण केही समस्या देखा परेको उनीहरुको भनाइ छ ।

बाख्रा फार्मलाई व्यवस्थित रुपमै विस्तार गर्ने सोचमा रहेको मरासिनीको भनाइ छ । बाख्रापालन गर्दा घाँसको समस्या परेको उनीहरुले बताए ।

पछिल्लो समय जिल्लामा बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment