
७ पुस, जनकपुरधाम । सिराहाको सुखीपुर नगरपालिकाको कार्यालयमा बम फेला परेको छ । झोलामा राखिएको अवस्थामा प्रेसरकुकर बम फेला परेको कर्मचारीले बताएका छन् ।
बिहान सरसफाई गर्न गएका कर्मचारीले कालो झोला राखेको देखेका थिए । झोला खोलेर हेर्दा प्रेसरकुकर बम देखिएको कर्मचारीले बताए ।
अहिले सो क्षेत्रलाई सिल गरी सुरक्षाकर्मीले पहरा दिइरहेका छन् । सिराहा प्रहरीका निमित्त प्रबक्ता प्रहरी निरीक्षक रामचन्द्र साहले बम फेला परेको पुष्टि गरे ।
बम फेला परेको क्षेत्रलाई सिल गरिएको छ भने नेपाली सेनाको बम डिस्पोजल टोली आएर डिस्पोजल गर्न लागेको उनले बताए ।
गोइत समूहले लियो जिम्मेवारी
जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले उक्त स्थानमा बम राखेको जिम्मेवारी लिएको छ ।
गोइत समूहले मंगलबार प्रेस विज्ञप्ति जारी गरेको विज्ञप्तिमा नगरपालिकाका कर्मचारीले सेवाग्राहीलाई चरम शोषण, उत्पीडन र अपमानित गरेका कारण चेतावनी स्वरुप बम राखिएको उल्लेख छ ।
सेवाग्राहीलाई हेप्ने, अपमानित गर्ने अहंकारी कर्मचारीमाथि कारबाही गर्न सोमबार राति नै बम राखिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया 4