Comments Add Comment

एट्लेटिको मड्रिडलाई शीर्ष स्थानमा ३ अंकको अग्रता

८ पुस, काठमाडौं । स्पानिस ला लिगामा रियल सोसिडाडलाई पराजित गर्दै एट्लेठिको मड्रिडले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ । गएराति भएको खेलमा एट्लेटिकोले सोसिडाडलाई उसैको मैदानमा २-० ले पराजित गरेको हो ।

एट्लेटिकोले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ४९औं मिनेटमा मारियो हर्मोसोले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । ७४औं मिनेटमा मार्कोस लरेन्टोले दोस्रो गोल गरेका थिए ।

जितपछि १३ खेलबाट ३२ अंक जोड्लै लिग लिडर एट्लेटिकोले शहरी प्रतिद्वन्द्वी रियल मड्रिडमाथि ३ अंकको स्पष्ट अग्रता बनाएको हो । रियलले एक खेल बढी खेलेकाले एट्लेटिकोलाई अझै फाइदा छ । १४ खेलबाट २९ अंकसहित रियल दोस्रो स्थानमा छ ।

१६ खेल खेलिसकेको सोसिडाड भने २६ अंकसहित तेस्रो स्थानमा छ । सिजनमा उत्कृष्ट सुरुवात गरेको सोसिडाड पछिल्ला खेलहरुमा पराजित भएको छ । सोसिडाड यसअघि लेभान्टे र बार्सिलोनासँग पराजित भएको थियो ।

यस्तै १५ खेलबाट सोसिडाड समान २६ अंक जोडेको भियारियाल चौथो स्थानमा छ । भियारियालले पछिल्लो खेलमा एथ्लेटिक विल्वाओसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको थियो ।

लिओनल मेसीको कीर्तिमानी गोलमा भाल्लाडोलिडलाई ३-० ले पराजित गरेको बार्सिलोना १४ खेलबाट २४ अंकसहित पाँचौ स्थानमा छ । मेसीले एकै क्लबका लागि ६४४औं गोल गर्दै पेलेको कीर्तिमान तोडेका हुन् ।

यसैगरी भ्यालेन्सियालाई १-० ले पराजित गर्दै सेभिया छैटौं स्थानमा उक्लेको छ । सेभियाका लागि ८१औं मिनेटमा सुसोले निर्णायक गोल गरे । १३ खेलबाट सेभियाको २३ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment