Comments Add Comment

संसद विघटनको विरोधमा जसपाद्वारा वीरगञ्जमा प्रदर्शन

८ पुस, वीरगञ्ज । संसद विघटन गरेको विरोधमा जनता समाजवादी पार्टीले वीरञ्जमा प्रदर्शन गरेको छ । असंवैधानिक, अलोकतान्त्रिक एवम् स्वेच्छाचारी तरिकाले प्रतिनिधि सभा विघटन भएको भन्दै जसपाले विरोध प्रदर्शन गरेको हो ।

वीरगञ्जको घण्टाघरबाट सुरु गरिएको विरोध प्रदर्शन माईस्थान, आदर्शनगर हुँदै बजार परिक्रमापछि पुनः घण्टाघरमा आएर कोण सभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीले असंवैधानिक अलोकतान्त्रिक कदम खारेज गर, रेशम चौधरीलाई रिहा गर, संसद पुर्नस्थापना गर, केपी ओली तेरो पाराले दुःख पायो साराले लगायतका नाराबाजीसमेत गरेका थिए ।

आन्दोलनमा सहभागी नेता कार्यकर्ताहरुले लोकतन्त्र, गणतन्त्र र संघीयतामाथि प्रहार भएको बताएका छन् । विघठित संसद सदस्य प्रदीप यादवले राष्ट्रपति र प्रधानमन्त्री मिलेर जनतालाई धोका दिएकोले विरोध गर्नुपरेको बताए ।

उनले असंवैधानिक कदमको विरोधमा चरणबद्ध आन्दोलन हुने र प्रतिनीधि सभा पुनर्स्थापना नहुँदासम्म संघर्ष जारी रहने दाबी गरे ।

‘नागरिकमाथि ठूलो बज्रपात परेको छ । नागरिकलाई बचाउनुपर्ने समय छ । कोभिड-१९ महामारी चलिरहेको अवस्था छ । सारा देश भ्याक्सिनको व्यवस्थापनमा लागेको छ,’ उनले भने, ‘तर हाम्रो प्रधानमन्त्री जनताले बनाएको सार्वभौमसत्ता सम्पन्न संसदलाई भंग गर्नुभएको छ । कुर्सी बचाउन लागि पर्नुभएको छ । त्यसैको विरोधमा हामी छौं । प्रतिगामी कदम सच्याउनुपर्छ ।’

निर्वाचनमा जाने बेला नै नभएको बताउँदै उनले चुनाव गराउने कुरा प्रधानमन्त्रीको नाटकमात्रै भएको दाबी गरे । ‘प्रधानमन्त्रीले भने अनुसार अहिले चुनाव हुन गइरहेको छैन । उनी तानाशाही प्रवृत्ति लाद्ने कोसिस गरिरहेका छन्, हामीले त्यसलाई तोड्नुपर्छ,’ उनले भने, ‘देशलाई बन्धक बनाएर एकतन्त्रीय शासन चलाउने कोसिस भइरहेको छ । देशमा संकटकाल लगाउने तयारी भइरहेको छ । जनताले त्यसको विरोध गर्नुपर्छ ।’

निलम्बित सांसद हरिनारायण रौनियारले पार्टीको झगडालाई लिएर देशलाई बन्धक बनाउन नहुने बताए ।

जसपाका नेता शिव पटेलले जनताले पाँच वर्षका लागि संसद गठन गरेकोले त्यही कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

विगतमा आन्दोलनको बलमा संसद पुर्नस्थापना गरेको बताउँदै जसपाका युवा नेता ओमप्रकाश सर्राफले जनताले साथ दिए संसद पुनर्स्थापना हुने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment