Comments Add Comment

गोस्वामीको च्यानललाई बेलायतद्वारा २० हजार पाउण्ड जरिवाना

८ पुस, काठमाडौं । भारतीय पत्रकार अर्नब गोस्वामीको टेलिभिजन च्यानल रिपब्लिक भारतलाई बेलायतको अफिस अफ कम्युनिकेसन (आफकोम)ले २० हजार पाउण्ड जरीवाना लगाएको छ । उक्त च्यानल रिपब्लिक टीभीको बेलायतबाट प्रसारण हुने हिन्दी न्युज च्यानल हो ।

रिपब्लिक भारतको एक कार्यक्रममा घृणा र असहिष्णुतालाई बढाउने सामग्री राखेको भन्दै बेलायतमा न्युज च्यानल ब्रोडकास्टको अधिकार दिने कम्पनी वर्ल्डभ्यु मिडिया नेटवर्क लिमिटेडमार्फत उक्त जरिमाना लगाइएको हो ।

बीबीसीका अनुसार अफकोमले एक आदेश जारी गर्दै आफ्नो ब्रोडकास्टको शर्त उल्लंघन गरेको कारण यो जरिमानाको निर्णय गरिएको बताएको छ । रिपब्लिक भारत च्यानलमा ‘पुछता है भारत’ कार्यक्रम सन् २०१९ को सेप्टेम्बर ६ मा प्रसारित गरिएको थियो । अफकोमले जरिमानाका साथै यो कार्यक्रम पुनः प्रसारण नगर्न पनि चेतावनी दिएको छ ।

‘पुछता है भारत’ रिपब्लिकन भारतको टिभी शो हो । सेप्टेम्बर ६ को कार्यक्रममा यो कार्यक्रम गोस्वामीले सञ्चालन गरेका थिए । यो कार्यक्रम भारतको चन्द्रमा मिसन चन्द्रयान-२ को विषयमा थियो । जसमा तीन भारतीय र तीन पाकिस्तानी पाहुनालाई बोलाइएको थियो । यद्यपि यो कार्यक्रममा पाकिस्तानले चरमपन्थी घटनामा सामेल भएको आरोप लगाइएको थियो । उक्त कार्यक्रमा गोस्वामीले पाकिस्तानी पाहुनाहरुलाई भनेका थिए – हामी वैज्ञानिक बनाउँछौं तपाईंहरु चरमपन्थी । त्यस्तै अन्य भारतीय वक्ताहरुले पनि पाकिस्तानका वैज्ञानिकलाई ‘चोर’ भनेका थिए भने अर्का एक वक्ताले ‘भिखारी’ भनेका थिए ।

अफकोमले कार्यक्रममा पाकिस्तानी वक्ताहरुलाई बोल्न नदिइएको र उनीहरुको कुरा सुन्न अस्वीकार गरिएको पाइएको बताएको छ । अफकोमले जारी गरेको आदेशमा वर्ल्डभ्यु मिडियाले आफ्नो सुरुआती जवाफमा सेप्टेम्बर ६ को कार्यक्रम पुनः प्रसारण नगरिएको र यस किसिमका घटना नहोस् भन्नका लागि आवश्यक कदम चालिएको बताएको छ । साथै कम्पनीले जानाजान नियमको उल्लंघन नगरेको स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment