Comments Add Comment

बेलायतमा भेटियो कोरोनाको अर्को प्रकार

९ पुस, काठमाडौं । बेलायतमा कोरोना भाइरस (कोभिड–१९)को थप नयाँ प्रकार (भेरियन्ट) भेटिएको छ । दक्षिण अफ्रिका भ्रमण गरेर आएका मानिसहरुमा कोरोनाको नयाँ प्रकार देखिएको हो । अहिले देखिएको नयाँ भेरियन्ट यसअघिको भेरियन्टभन्दा बढी जोखिमपूर्ण रहेको अधिकारीहरुले बताएका छन् । बेलायतका स्वास्थ्यमन्त्री मेट हेनककले दक्षिण अफ्रिकाबाट आएका दुई जना मानिसहरुमा यस किसिमको संक्रमण देखिएको हो । यो भेरियन्ट सबैभन्दा पहिला दक्षिण अफ्रिकामा देखिएको थियो ।

बेलायती स्वास्थ्यमन्त्री हेनककका अनुसार दक्षिण अफ्रिकामा पाइएको कोरोनाको नयाँ भेरियन्ट बेलायतमा भेटिएको भेरियन्टभन्दा छिटो फैलिने र धेरै परिवर्तन (म्युटेट) भएको छ । हेनककले यस किसिमको भेरियन्ट बढ्दै जानु चिन्ताको विषय रहेको बताए । पछिल्लो अवस्थालाई ध्यानमा राख्दै बेलायतले दक्षिण अफ्रिकामाथिको यात्रामा पनि प्रतिबन्ध लगाएको छ ।

साथै बेलायतले पछिल्लो १५ दिनमा दक्षिण अफ्रिकाबाट फर्किएका मानिस तथा उनीहरुको सम्पर्कमा आएका मानिसहरुलाई तत्काल क्वारेन्टिनमा बस्न निर्देशन दिइएको छ ।

दक्षिण अफ्रिकाका स्वास्थ्यमन्त्री ज्वेली मिखाइजले नयाँ भेरियन्टको कारण युवा तथा स्वस्थ मानिसहरु पनि गम्भीर बिरामी भइरहेका छन् । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले पनि निकै तीव्र गतिमा नयाँ भेरियन्ट फैलिरहेको बताएका छन् । अहिलेसम्म नयाँ भेरियन्ट कति छिटो फैलिन्छ भन्ने यकिन नभए पनि अन्य भाइरसभन्दा धेरै गुणा छिटो फैलिने जानकारहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment