Comments Add Comment

हल खोल्नुपर्छ तर निर्मातालाई सुरक्षित बनाउने बिषय पनि सोच्नुपर्छः प्रदिप खड्का

नायक तथा निर्माता प्रदिप खड्काले चलचित्र भवनहरु संचालनमा ल्याएर मात्रै दर्शक हलसम्म नआउने बताएका छन् । आज काठमाण्डौको नयाँ बाँनेश्वरमा संचालनमा आएको ‘मःम मज्जा, स्वाद घरको’ रेष्टुरेन्टको उद्घाटन गर्दै उनले हल खोलेर मात्र नहुने भन्दै निर्मातालाई सुरक्षित बनाउने बिषयमा सोच्नुपर्ने बताए ।

उनले भने–‘चलचित्र भवनमा जस्तै रेष्टुरेन्टमा पनि कडाई थियो । तर, जब रेष्टुरेन्टहरु खुले, मानिसहरु आउन थाले । तर, हल खोलेर मात्र हुँदैन निर्माताले चलचित्र दिने वा नदिने भन्ने कुरा पनि मुख्य हो । यो अवस्थामा निर्मातालाई प्रोत्साहन गर्ने कुनै नीति नै नल्याई हल मात्र खोलेर हुँदैन ।’

प्रदिपले आफू हल खोल्नुपर्छ भन्ने कुराको विपक्षमा नरहेको बताए । तर, एउटा निर्माताले जोखिम मोलेर चलचित्र चलाएपछि के पाउँछ भन्ने बिषयमा सरोकारवाला निकायले सोच्नुपर्ने तर्क उनको थियो ।

उनले अगाडि भने–‘हामीले चलचित्र प्रेमगीत ३ चलाउने बिषयमा चलचित्र संघ, निर्माता संघसँग बैठक पनि गरेका थियौं । तर, निर्माताले जोखिम मात्र मोल्ने भन्ने हुँदैन । नेपालमा निर्माताले एउटा डुबेपछि अर्को बनाउन निकै समस्या छ । राम्रो चलचित्रलाई प्रोत्साहन गरेर चलाउने हो भने दर्शक हलसम्म आउँछन् ।’

शुक्रबारदेखि पुरानै नेपाली चलचित्र चल्न लागेको बिषयमा प्रदिपले भने–‘दर्शकलाई हलसम्म आउनुहोस् भनेर मैले त भनौंला । तर, नयाँ चलचित्र हेर्न नै दर्शकलाई आउनोस् भन्दा गाह्रो मान्नुहुन्छ । राम्रो चलचित्र चलायो भने दर्शक यसै पनि आउनुहुन्छ । पुरानो चलचित्र चलाउँदा यो जोखिमको समयमा दर्शकलाई आउनुहोस् भनेर आउनुहुन्छ जस्तो मलाई लाग्दैन । पुरानो चलचित्र हेर्नका लागि रकम खर्च गरेर आउनुहोस् भनेर कसरी भन्ने ? निर्मातालाई सुरक्षित बनाएर राम्रो चलचित्र बजारमा ल्याउन आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment