Comments Add Comment

दुई अध्यक्षीय प्रणाली नेपालमा असफल भइसक्यो : प्रभु साह

९ पुस, काठमाडौं । नेपाल कम्युनिस्‍ट पार्टीका केन्द्रीय सदस्य प्रभु साहले नेपालमा दुई अध्यक्षीय प्रणाली असफल भइसकेको भन्दै यस्तो पद्धति नअपनाउन आग्रह गरेका छन् ।

नेकपाभित्रको विवादमा प्रचण्‍ड-माधव समूहमा रहेका नेता साहले दुई अध्यक्षीय प्रणालीको गल्ती नदोहोर्‍याउन सचेत गराएका छन् । ‘… दुई अध्यक्षीय प्रणालीमा अध्यक्षहरुबीचको आपसी टकरावले आज पार्टी क्षतविक्षत मात्र भएन, सिंगो व्यवस्था नै अस्तव्यस्त भई देश अन्योलग्रस्त स्थितिमा छ । मार्क्सवादी मान्यता र लेनिनवादी संगठनात्मक सिद्धान्तविपरीत निर्माण भएको दुई अध्यक्षीय प्रणाली अवस्तुवादी र अवैधानिक भएकै कारण देशले गम्भीर घात व्यहोर्नुपरेको छ’ उनले भनेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि आफूले प्रचण्ड नेतृत्वलाई साथ दिएको तर यो समूहले विगतकै जस्तो दुई अध्यक्षीय प्रणालीलाई सच्याउनुको सट्टा पुनरावृत्ति गरेको साहले टिप्पणी गरेका छन् ।

दुई अध्यक्षीय प्रणाली नेतृत्वसम्बन्धी विश्वव्यापी मान्यता विपरीत र नेपालमै असफल सिद्ध भइसकेको पनि उनले उल्लेख गरेका छन् ।

प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गर्दा साहले बैठकस्थलमै आपत्ति जनाएका थिए । तर उनको कुरा सुनुवाई भएन । साहले आफूले विमति जाहेर गर्दागर्दै पनि निषेध र निरंकुशताको शैलीमा दुई अध्यक्षीय प्रणाली लागू गरिएको भन्दै आपत्ति जनाएका छन् ।

‘यसर्थ देश र जनतालाई घात गर्ने दुई अध्यक्षीय प्रणाली अस्वीकार गरी सही नेतृत्व प्रणालीको स्थापनाका लागि सबैमा विशेष अनुरोध गर्दछु’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment