+
+
Shares

आज मध्यरातिदेखि सकिँदैछ कीर्तिपुरको सातगाउँ जात्रा

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ९ गते २०:५१

९ पुस, काठमाडौं । कीर्तिपुरमा मंसिर शुक्ल चतुर्थीको दिन सुरु हुने सातगाउँ जात्रा बिहीबार राति सम्पन्न हुँदैछ । स्थानीय भाषामा बखु मदः नाम रहेको सो जात्रा कीर्तिपुर क्षेत्रको सात गाउँमा सञ्चालन हुने भएकोले यसलाई ‘सातगाउँ जात्रा’ नामबाट पनि चिन्ने गरिएको छ ।

कीर्तिपुर नगरपालिका वडा नं २ का वडाध्यक्ष रमेशमान डंगोलका अनुसार सात गाउँ जात्रामा इन्द्रायणी, ब्रह्मायणी, बालकुमारी, विष्णुदेवी लगायतका विभिन्न सहायक जात्राहरु पनि सञ्चालनमा आउने गर्छन् । तर त्यसमध्ये कीर्तिपुरको इन्द्रायणी पीठबाट सुरु हुने इन्द्रायणी जात्रा भने यसको मुख्य जात्रा हो ।

यो सामान्यतया सात दिन मनाउने गरिएपनि अष्टमी, नवमी र दशमीको दिन मनाइने जात्रा विशेष मानिन्छ । अष्टमीका दिन कीर्तिपुरको ९ वडास्थित नंगामा ‘धाल्चा खाकेगु जात्रा’ मनाउने गरिन्छ । नवमीका दिन पांगाको विष्णुदेवी मन्दिर क्षेत्रमा विष्णुजात्रा मनाउने गरिन्छ । त्यस्तै, दशमीको दिन मध्यरातिमा देवढोकाबाट इन्द्रायणी देवीलाई भित्र प्रवेश गराएर विधिवत् रुपमा स्थापना गरेपछि यो जात्रा औपचारिक रुपमा सम्पन्न हुने डंगोल बताउँछन् ।

दशमीको दिन इन्द्रायणी पीठमा विशेष पूजाआजाका साथ सुरु हुने इन्द्रायणी देवीको खटयात्रा देवढोकाबाट सुरु भई समल, लायकु, इटाछें, तननी, सिंहदुबालहुँदै बाघभैरवमा आएर सम्पन्न हुने गर्छ । जहाँबाट सुरु गर्‍यो सोही ठाउँमा लगेर स्थापना गर्नुपर्ने संस्कार अनुसार मध्यरातिमा इन्द्रायणी पीठमा लगेर स्थापना गरेपछि मात्रै जात्रा सम्पन्न हुने डंगोल बताउँछन् ।

त्यसपछि इन्द्रायणी देवीलाई स्थापना गरिएको संकेत स्वरुप सबै काँ बाजा बजाउने गरिन्छ । यो बाजा बजाएसँगै सातै गाउँको सबै जात्राहरुको समापन गर्ने गरिएको कीर्तिपुर नगरपालिकाका डंगोलले जानकारी दिए ।

यो जात्रामा सतुङ्गल, नैकाप, मछ्छे गाउँ, पाँगा, न गाउँ, बोशी गाउँ र कीर्तिपुरमा मालैपालो गर्ने गरिन्छ । एउटा गाउँमा जात्रा हुँदा सातै गाउँको मान्छे भेला हुने गर्छन् ।

कसरी सुरु भयो जात्रा ?

जात्राको सुरुवातको विषयमा छुट्टाछुट्टै किंवदन्तीहरु रहेका छन् । कसैले परेवासँगको किंवदन्तीलाई मान्यता दिएका छन् भने कसैले इन्द्रायणी देवी र राक्षसबीच भएको युद्धको प्रसंगलाई पनि मान्ने गरिन्छ ।

प्राचीनकालमा एक ऋषिले नैकापको वैष्णवी पीठ नजिकै यज्ञको सुरुवात गरे । उनले यज्ञ गरेको रुखको वरिपरि परेवाहरुको बथान थिए । त्यही बथानमा एउटा शिकारीले परेवालाई ढुंगाले हान्यो । परेवा घाइते भएर रन्थनिन थाल्यो, घाइते परेवा कसोकसो तिनै ऋषिको यज्ञकुण्डमा होमिन पुग्यो ।

निर्दोष परेवाको अकालमा बिनाकारण ज्यान गएकोले आफ्नो यज्ञको फल पनि प्राप्त नहुने भनेर विरक्त भएका ऋषिले बखु (परेवा) मर्यो (मन्त) भन्दै हरेक वर्षको मंसिर शुक्ल दशमीका दिन जात्रा गर्ने परम्परा बसाए भन्ने मान्यता छ । त्यसैले यो जात्रालाई ‘बखु मदः’ जात्रा पनि भन्ने गरिन्छ ।

इन्द्रायणी जात्रा सञ्चालन गर्ने गुठीका कजी (व्यवस्थापक) लक्ष्मण महर्जनका अनुसार कुनै समय मंसिरको दशमीको दिन लाखे पालो कुर्न बसेका व्यक्तिलाई राक्षसले खाने गर्थ्यो । हरेक वर्ष यो दिन लाखे पालो कुर्न जाने मान्छे फर्किने सम्भावना कम हुन्थ्यो ।

एक समय कीर्तिपुरकै एउटा एक्लो छोरा भएको घरबाट लाखे पालो कुर्न जानुपर्ने भयो । पालोमा परेपछि इन्कार गर्न नमिल्ने भएकोले बाबु छोरामा को जाने भन्ने विवाद भयो । बाबुले आफू बुढेशकालमा रहेकोले आफैं लाखे पालो कुर्न जाने दृढता व्यक्त गरे ।

सोही बीचमा इन्द्रायणी देवीले मान्छेको स्वरुप लिएर सोही घरमा आइन् र आफू मान्छेको भेषमा लाखे पालो कुर्न जाने बताइन् । तिनै इन्द्रायणी देवीले राक्षसलाई मारेर कीर्तिपुरवासीलाई सुरक्षित गराएको उपलक्ष्यमा यो जात्रा सुरु गरिएको भन्ने किंवदन्ती पनि रहेको पाइन्छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?