१० पुस, सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर ४ नवका टोलमा १० जनाको परिवार बस्ने दुई वटा झुप्रा घर छन् । जसोतसो तीन दम्पति र ४ जना बालबालिका यो झुपडीमा बस्दै आएका छन् । उनीहरु आँगनमा खाना पकाउँछन् । खाइवरि सुत्न र बस्न दुई वटा झुप्रोमा बाँडिन्छन् उनीहरु ।
टोलको नाम ‘नवका’ अर्थात् ‘नयाँ’ भए पनि बाँस र खरले बनेको जीर्ण घर छ । यो घर हो उखुको बक्यौता रकमका लागि आन्दोलन गर्न संघीय राजधानी काठमाडौं पुगेका हरेन्द्र यादवको । यादव करिब डेढ साता अघिदेखि अन्य उखु किसानहरुसँगै काठमाडौंमा बसेर आन्दोलन गर्दै आएका छन् । उनीहरु बक्यौता रकम नलिइ गाउँ नफर्किने अडानमा छन् ।
हरेन्द्र काठमाडौं पुग्दा घरमा उनका पिता वैद्यनाथ, भाइ धरेन्द्र, पत्नी शर्मिलालगायत छन् । हामी उनका झुप्रोमा पुग्दा उनका परिवारका सदस्यहरु हरेन्द्रको बाटो हेर्दै थिए । उनी कतिखेर उखु दिए वापतको रकम लिएर फर्किन्छन् भन्ने व्यग्र प्रतिक्षामा परिवारका सदस्यहरु छन् ।
‘यस पटक त पक्कै त्यो पैसा लिएर आउँछ भन्ने विश्वास छ,’ काठमाडौं गएका उखु कृषक हरेन्द्रकी पत्नी शर्मिलाले भनिन्, ‘लिइएको ऋण तिरेर मन हलुको बनाउने योजना छ ।’

आफ्नो दुई बिघा जग्गामा २ लाख रुपैयाँ ऋण लिएर हरेन्द्रको परिवारले उखु खेती गरेको थियो । उत्पादित उखु धनकौलमै रहेको अन्नपूर्ण चिनी उद्योगलाई दिए । उद्योगले तीन वर्षदेखि उखुको भुक्तानी नगर्दा ब्याजसमेत गरी ऋण दोब्बर भइसकेको हरेन्द्रका भाइ धरेन्द्र बताउँछन् । ‘उखु खेती गरेर राम्रो घर बनाउने सपना थियो,’ उनले भने, ‘तर आफू, बुवा र दाजु मिलेर गरेको सबै मेहनत बर्बाद भएको छ । ऋणमा डुबेका छौं ।’
अन्नपूर्ण चिनी उद्योगबाट ४ वर्षअघिकै २ लाख रुपैयाँ लिन बाँकी रहेको धरेन्द्रले बताए ।
अहिले यो परिवारलाई छाक टार्नै समस्या छ । दुई दाजु–भाइ र बुवासमेत अर्काको काम गरेर परिवार पाल्दै आएका छन् । ‘त्यो पनि कहिले काम पाउँछु । कहिले पाउँदिन,’ धरेन्द्रले भने, ‘जसोतसो दिन काटिरहेको छु ।’
‘रकम आयो भने सर्टिफिकेट निकालेर जागिर खान्थेँ’

परिवारको आर्थिक अवस्था दयनीय भए पनि बुवा वैद्यनाथ र दाजु हरेन्द्रले धरेन्द्रलाई पढाएर अगाडि बढाउन चाहन्थे । एक छाक कम खाएर भए पनि पिता र दाजु मिलेर धरेन्द्रलाई डिप्लोमा इन्जिनियरिङ विषय पढाए ।
धरेन्द्रले जनकपुरधामस्थित कश्यप कलेजबाट उत्तीर्ण पनि गरे । तर, फिस तिर्न नसक्दा उनले सर्टिफिकेट पाएका छैनन् । ‘कलेजलाई तिर्न जम्मा २० हजार मात्रै बाँकी छ,’ उनले भने, ‘त्यत्ति रकम नदिँदा सर्टिफिकेट दिइएको छैन ।’
‘सर्टिफिकेट भएको भए हालै कर्णाली प्रदेशले यो पदमा विज्ञापन प्रकाशित गर्दा दरखास्त दिन पाउँथे,’ उनले भने ।
दाजु काठमाडौंबाट बक्यौता रकम लिएर आएपछि सबैभन्दा पहिले सर्टिफिकेट निकाल्ने उनको योजना छ ।
हरिकृष्ण महताले पनि भनेका छन् रकम नलिई आउँदैनौं
धनकौल गाउँपालिकाकै वडा नम्बर ४ महिनाथपुरका हरिकृष्ण महतो पनि उखुको बक्यौता रकम लिन काठमाडौं गएका छन् । उनी काठमाडौंमा आन्दोलन गर्न जाँदा उनको परिवार पनि रकम लिएर आउने विश्वासमा छन् ।
‘हरिकृष्णले रकम नलिई काठमाडौंबाट नफर्किने भनेको छ,’ उनकी आमा सुमित्रादेवीले भनिन्, ‘ऋण लिएका साहुको दैनिक कचकच अब सहँदैनौं । जसरी पनि पैसा लिएर आउँछौं भनेको छ ।’

हरिकृष्णको घरमा उनकी ६५ वर्षीया आमा सुमित्रादेवी, पत्नी पुनम र ४ जना छोराछोरी छन् । उखु खेतीमा लगाएको लगानी चिनी मिलले नदिएपछि उनको परिवारले अहिलेसम्म ऋण गरेरै छाक टार्दै आएको छ ।
कतिपयले पाए थोरै रकम
अघिल्ला वर्ष पनि यहाँका उखु किसान आफ्नो बक्यौता रकम पाउन काठमाडौं गएर आन्दोलन गरेका थिए । त्यसमध्येका एक हुन्– राघवेन्द्र प्रसाद साह । अन्नपूर्ण चिनी उद्योगमा ४ लाख ६४ हजार बक्यौता रहँदा गत वर्ष आन्दोलनमा गएको थिएँ,’ उनले भने, ‘पहिले आन्दोलन गर्दा २ लाख ६४ हजार पाएँ । अब अझै २ लाख लिन बाँकी छ ।’
यही ठाउँका अम्बिकेशर महतो पनि काठमाडौंको आन्दोलनमा गएका थिए । आन्दोलनमा जाँदा उनले पनि १ लाख पाएका थिए । अझै १ लाख लिन बाँकी छ ।
उनका भाई ललितनारायणाको पनि २ लाख लिन बाँकी छ । यस पटक ललितनारायणलाई अम्बिकेशरले आन्दोलन गर्न काठमाडौं पठाएका छन् । ‘आफूलाई खान त समस्या छ । तर जसोतसो ऋण लिएर भाइलाई काठमाडौं पठाएको छु,’ उनले भने ।
काठमाडौंमा आन्दोलन गर्न महिनाथपुर र नवका टोलका ७ जना गएका छन् । उनीहरु सबै ऋण बोकेर काठमाडौं गएको स्थानीयले बताए । ‘कसैले १० हजार त कसैले १५ हजार ऋण लिएर गएका छन्,’ स्थानीयले भने, ‘गाउँका अधिकांश व्यक्तिले अन्नपूर्ण चिनी उद्योगबाट रकम लिन बाँकी छ ।’
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4