Comments Add Comment

माइतीघरमा नेकपाका सांसदको प्रदर्शन : हामी यहाँ छौं !

१० पुस, काठमाडौं । संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहले माइतीघरबाट आन्दोलन सुरु गरेको छ ।

‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल, नेता झलनाथ खनाललगायतका नेता–कार्यकर्ताहरु प्रदर्शनमा सहभागी छन् । उनीहरुले संसद विघटन असंवैधानिक भएको भन्दै चर्का नाराबाजी गरेका छन् ।

नेकपाको प्रदर्शनलाई मध्यनजर गर्दै बानेश्वर माइतीघर सडकखण्ड खाली गराइएको छ । माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने नेकपाको योजना छ ।

निवर्तमान मन्त्री घनश्याम भुसालले आधिकारिक नेकपा आफूहरु रहेको भन्दै निर्वाचन आयोगमा जाने र संसद विघटन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालत पनि जाने बताए । आफूहरु आधिकारिक भएको दाबीसहित प्रचण्ड-माधव समूहले बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षर यसअघि नै निर्वाचन आयोगमा बुझाइसकेको छ । साथै संसद विघटनविरुद्ध परेका रिटहरुको आज संवैधानिक इजलासमा सुनुवाइसमेत हुँदैछ ।

बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले आजबाट दैनिक रूपमा कुनै न कुनै प्रकारको विरोध गर्ने र १४ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । विरोध प्रदर्शनका लागि नेकपाले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा समिति गठन गरेको छ । विहीबार केन्द्रीय समिति बैठकको समापनको बेला प्रचण्ड–माधव समूहका अध्यक्ष तथा संसदीय दलका नेता प्रचण्डले प्रतिगामी षड्यन्त्र सुरु भएको भन्दै जीवन–मरणको संघर्ष गर्नुपर्ने बेला आएको बताएका थिए ।

 

आज दुनियाँलाई नेकपाको आधिकारिकता देखाउनका लागि सडकमा आएका हौं : भुसाल

निवर्तमान मन्त्री घनश्याम भुसालले संसद पुनस्र्थापना भएन भने संविधानले काम गर्न छाड्ने र मुलुक अस्थिरतातर्फ फस्ने बताएका छन् । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि कृषि मन्त्रीबाट राजीनामा दिएका भुसाल शुक्रबार माइतीघर मण्डलामा नेकपाको प्रचण्ड–माधव पक्षले आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी बने । भुसालसँगै अर्का निवर्तमान मन्त्री योगेश भट्टराई पनि माइतीघरमा उपस्थित भए ।

माइतीघरमा भेलाएका बरिष्ठ नेता–कार्यकर्ताहरु अब निर्वाचन आयोगतर्फ जाने भुसालले बताए । नेकपामा आफूहरु ( प्रचण्ड–माधव समूह) नै आधिकारिक रहेको प्रमाणित गर्न र दुनियाँलाई सन्देश दिन निर्वाचन आयोगमा जान लागेको भुसालले बताए । साथै आजै सांसद अदालत जाने कार्यक्रम रहेको पनि भुसालले बताए ।

नेकपा (प्रचण्ड–माधव समूह) का नेता भुसालले भने, ‘अहिले हामी निर्वाचन आयोग जाँदैछौं र त्यहाँ एउटा निवेदन दिँदैछौं । खासगरी केन्द्रीय कमिटीको अत्यधिक बहुमत हामीसँग छ र हामी नै आधिकारिक हौं भन्ने प्रमाणित गर्नका लागि र यो दुनियाँलाई देखाउनका लागि, त्यसमाथि जालझेल नहोस् भन्नका लागि हामी निर्वाचन आयोगमा केन्द्रीय कमिटीका सदस्यहरु जाँदैछौं ।’

भुसालले भने, अदालतको सुनुवाई आज सुरु हुन्छ, त्यहाँ पनि हामी सांसदहरु पुग्छौं । र, यसरी बहुमत सांसदहरु, बहुमत केन्द्रीय कमिटीका सदस्यहरु, हामी संसदको पुनस्थापनाको पक्षमा छौं र हामी आधिकारिक नेकपा हौं भन्ने आज हामी स्पष्ट पार्न चाहन्छौं ।’

मन्त्रालय चलाइरहेका मन्त्री र सांसदहरु सडकमा हिँड्नुपर्ने अवस्था किन आयो भन्ने प्रश्नमा भुसालले भने, ‘आजको प्रश्न भनेको संसदको पुनस्र्थापनाको हाम्रो माग छ । यो माग संविधानको रक्षाको माग हो ।’

उनले अगाडि भने, ‘संसदको पुनस्र्थापना भएन भने हाम्रो संविधानले काम गर्न छोड्छ र फेरि मुलुक अर्को अस्थिरताको भुँवरीमा फस्छ । त्यसले गर्दाखेरि यो माग सांसदको मात्रै माग होइन । कम्युनिस्ट पार्टीका सदस्यको मात्रै माग होइन । यो समस्त लोकतन्त्रका लागि लडेका, लोकतन्त्रप्रेमी सबै नागरिकहरुको माग हो, मुद्दा हो । त्यसकारणले आज यो सबैको दायित्व हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment