Comments Add Comment

बेलायत र ईयूबीच व्यापार सम्झौतामा हस्ताक्षर

१० पुस, काठमाडौं । बेलायत र ईयूबीच ब्रोक्जिटपछिको लागि व्यापार सम्झौता भएको छ । डिसेम्बर ३१ बाट बेलायत ईयूबाट पूर्णरुपमा अलग अर्थात् ब्रेक्जिट हुनेछ । ब्रेक्जिट भएपछि ईयूसँग कस्तो व्यापारिक सम्झौता हुने भन्ने विषयमा लामो समयदेखि विवाद देखिँदै आए पनि क्रिसमसको अघिल्लो दिन बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ईयूसँग व्यापार सम्झौता भएको बताएका हुन् ।

जोन्सनले बेलायतले आफ्नो कानुन र आफ्नो भाग्यको फैसला गर्ने अधिकार आफ्नै हातमा लिएको बताएका हुन् । यद्यपि यो सम्झौताको पूरा विवरण भने सार्वजनिक गरिएको छैन । बेलायती प्रधानमन्त्री जोन्सनले यो व्यापार सम्झौता ‘समग्र युरोपको लागि राम्रो सम्झौता’ भएको बताएका छन् ।

ईयूले पनि बेलायतसँग भएको यो सम्झौतामा खुसी व्यक्त गरेको छ । दुवै पक्षले यो सम्झौता नभएको अवस्थामा दुवै तर्फ ठूलो मात्रामा कर लाग्न सक्ने बताएका छन् । ईयूले जलवायु परिवर्तन, ऊर्जा र यातायातजस्ता क्षेत्रमा बेलायतले पहिलाको जसरी नै सहयोग जारी राख्ने बताएको छ । यो सम्झौताले विशेषगरी दुवै क्षेत्रमा व्यापार गरिरहेका कम्पनीहरुलाई राहत मिलेको छ । विना कुनै सम्झौता ब्रोक्जिट भएको अवस्थामा लाग्न सक्ने करको कारण उनीहरु यसअघि डराएका थिए ।

युरोपेली अधिकारीहरुले यो सम्झौताको लागि लामो समयको प्रतीक्षा गर्नुपरे पनि बेलायतसँग राम्रो सम्झौता भएको बताएका छन् । उनीहरुले यो सम्झौतालाई निष्पक्ष र सन्तुलित रहेको बताएका छन् । बेलायतको विपक्षी लेबर पार्टीले पनि यो सम्झौताको पक्षमा मतदान गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment