Comments Add Comment

हल खुल्दा कन्फ्यूजमा फिल्मीकर्मी, छैनन् दर्शक (भिडियो रिपोर्ट)

विगत ९ महिनादेखि बन्द रहेका चलचित्र भवनहरु आजबाट खुलेका छन् । देशभर रहेका १९५ हलमध्ये अधिकांश हल खुलेपनि केही हलहरु भने विविध कारणले गर्दा खुलेनन् । काठमाण्डौका गोपिकृष्ण मुभिज, अष्टनारायण पिक्चर्स लगायतका हल आज खुलेनन् । गोपिकृष्ण मुभिज भत्काएर नयाँ बनाउने तयारी गरिएपछि खुल्न नसकेको हो ।

मल्टिप्लेक्स हलहरु भने आजबाट खुलेका छन् । तर, हलहरुमा दर्शकको उत्साह भने खासै देखिएन । क्रिसमसको बिदाको दिन सपिङ मल, रेष्टुरेन्टहरुमा भीडभाड भएपनि हलमा भने दर्शकको उपस्थिती निकै कम देखियो ।

आजबाट २ नेपाली चलचित्र ‘आमा र सेन्टी भाइरस’ रि–रिलिज गरिएको हो । पुरानै चलचित्र चलेका कारण पनि दर्शकको उत्साह कम भएको हुनसक्छ ।

चलचित्र संघले गरेको निर्णयमा केही चलचित्रकर्मीले ऐक्यवद्धता जनाए । काठमाण्डौको सिभिल मलमा चलचित्र ‘सेन्टी भाइरस’ हेर्न पुगेका चलचित्रकर्मीले अब विस्तारै माहोल बन्दै जाने बताए ।

चलचित्र निर्माता तथा कलाकार दीपकराज गिरीले अहिले नै हल खोल्नु हुँदैन भन्ने मत राख्दै आएका थिए । तर, अब आफ्नो विचार अल्पमतमा परेको भन्दै दीपकले भने–‘हल खुलेकोमा म उत्साहित भन्दा पनि कन्फ्यूजमा छु । अब के हुने हो भन्ने थाहा छैन । तर, विस्तारै पुराना चलचित्र चलाएर नयाँ चलाउने वातावरण बन्दै जाला । तर, मनोरञ्जन दर्शकको प्रमुख प्राथमिकता नभएकाले पनि हल खुल्ने सुखद कुरा भएपनि दर्शक आकर्षित गर्न भने समय लाग्छ ।’

यस्तै, चलचित्र निर्देशक प्रदिप भट्टराइले भने–‘चलचित्र हल खुलेपछि वातावरण बन्ने हो । अहिले नै दर्शकको भीड लाग्छ भनेर हल खोलिएको पनि होइन । तर, विस्तारै यसले चलचित्र क्षेत्रलाई चलायमान बनाउँछ । हाम्रो दोश्रो घर नै हल भएकाले चलचित्र भवनमा ९ महिनापछि आउन पाउँदा उत्साहित छु ।’

चलचित्र संघका महासचिव अशोक शर्माले यसलाई सरकारसँग घुर्की लगाएको भन्दा पनि आफूहरु समस्यामा परेकाले सम्बोधन गर्न गरिएको आग्रहको रुपमा वुझ्न अनुरोध गरे । उनले भने–‘कोरोना भाइरस फैलन सक्ने अधिकांश ठाउँहरु खुल्दा हल किन खुलेन भन्ने बिषयमा सरकारका पदाधिकारीसँग कुनै जवाफ नै छैन । मन्त्रीपरिषद्को बैठकले चाडै नै हल सुचारु गर्ने बिषयमा निर्णय गर्ने अपेक्षा गरेका छौ । तर, हामीले भने आन्दोलन सुरु गरेका छौ ।’

यस्तै, हल व्यवसायी भाष्कर ढुंगानाले सरकार, समाजलाई कर्तव्य संझाउन पनि हल खोलिएको बताए । उनले भने–‘हामीले ९ महिनासम्म कुनै आन्दोलन गरेनौ । अरु, क्षेत्रहरु आन्दोलन गरेर खुले । हामी अनुशासित भएर बस्यौं । तर, कहिलेकाही आफू अनुशासित भएर मात्र नहुने रहेछ । सरकारलाई कर्तव्य सिकाउन पनि हामीले हल खोलेका हौं ।’

निर्देशक दीपेन्द्र के खनालले चलचित्र क्षेत्रको पूनःजन्म भएको बताए । हल निकै नै मिस गरेको भन्दै ९ महिनापछि हलमा आउँदा उत्साहित भएको उनको तर्क थियो ।

नायक भूवन केसीले चलचित्र भवनहरु खोल्नुको विकल्प नभएको बताए । अब, कोरोनासँगै अगाडि बढ्नुपर्ने भन्दै उनले सुरक्षाको मापदण्ड अपनाएर हल खोल्ने अनुमती दिन सरकारलाई आग्रह गरे ।

नेपाली चलचित्र भवनहरु खोल्दा केही चलचित्रकर्मी दोधारमा छन् भने केही वातावरण बन्ने कुरामा आशावादी छन् । दर्शकमा भने शुक्रबार हलमा कुनै उत्साह देखिएन । चलचित्रकर्मीहरुले भन्दै आएको जस्तो अहिले नै दर्शकको भीड लाग्छ भनेर हल खोलिएको होइन । तर, यसले एकातिर सरकारलाई दबाब पर्नेछ भने अर्कोतिर चलचित्र क्षेत्र चलायमान हुनका लागि वातावरण भने बन्नेछ ।

तस्वीर तथा भिडियोः आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment