Comments Add Comment

कुन–कुन देशमा सुरु भए कोरोना खोप कार्यक्रम ?

१० पुस, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण अहिलेसम्म विश्वभर सात करोड ८० लाखभन्दा धेरै मानिसहरु संक्रमित भइसकेका छन् । सन् २०१९ को अन्तिमबाट सुरु भएको यो महामारीको कारण अहिलेसम्म १७ लाख ३० हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

यो महामारी नियन्त्रणमा कोरोना खोप निकै महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । डिसेम्बरको सुरुमा परीक्षण सकिइसकेको कोरोना खोपलाई प्रयोगको अनुमति दिने बेलायत पहिलो मुलुक बनेको थियो । यससँगै बेलायतमा कोरोना खोप कार्यक्रम पनि सुरु भइसकेको छ । त्यसका साथै अन्य केही मुलुकहरुले पनि आफ्नो मुलुकमा कोरोना खोपलाई मान्यता दिँदै खोप कार्यक्रम सुरु गरेका छन् । अहिलेसम्म कोरोना खोप कार्यक्रम सुरु गरेका मुलुकहरु यस प्रकार छन् :

१. बेलायत

गत डिसेम्बर ८ मा बेलायतमा ९० वर्षीया वृद्धा मार्गरेट कीनान परीक्षण सकिइसकेपछि पहिलोपटक खोप लगाउने पहिलो व्यक्ति बनेकी थिइन् । यद्यपि बेलायतमा खोप कार्यक्रम सुरु गरिएको केही दिनमा नै बेलायतमा कोरोनाको नयाँ प्रकार (भेरियन्ट) फेला पर्‍यो । ७० प्रतिशत बढी संक्रामक मानिएको कोरोनाको भेरियन्ट देखिएको बेलायतमा उक्त भेरियन्टभन्दा पनि जोखिमपूर्ण मानिएको कोरोनाको अर्को भेरियन्ट पनि दक्षिण अफ्रिकाबाट आएका मानिसमा भेटिएको छ । यससँगै अहिले बेलायतमाथि धेरै मुलुकहरुले प्रतिबन्ध लगाइरहेका छन् ।

२. यूएई

संयुक्त अरब इमिरेट्स (यूएई)मा डिसेम्बर १४ बाट कोरोना खोप कार्यक्रम सुरु भएको हो । यो मुलुकले फाइजर र बायोएनटेक तथा चिनियाँ कम्पनी सिनोफर्मले विकास गरेको कोरोना खोपलाई सार्वजनिक प्रयोगको अनुमति दिएको छ ।

३. अमेरिका

डिसेम्बर १४ मा नै अमेरिकाले फाइजरको कोरोना खोप कार्यक्रम सुरु गरेको थियो । अमेरिकाले न्युयोर्क सहरका क्रिटिकल केयरमा काम गर्ने नर्सहरुलाई सबैभन्दा पहिला यो खोप दिएको थियो । फाइजरले अहिलेसम्म अमेरिकालाई २० करोड डोज कोरोना खोप उपलब्ध गराउने सम्झौता गरिसकेको छ । अमेरिकाले मोडर्नाले विकास गरेको अर्को कोरोना खोपलाई पनि अनुमति दिइसकेको छ ।

४. क्यानडा

क्यानडामा गत डिसेम्बर १४ मा ८९ वर्षीया महिलालाई फाइजरको खोप लगाउँदै कोरोना खोप कार्यक्रम सुरु गरिएको थियो । क्यानडाले मोडर्नाको कोरोना खोपलाई पनि सार्वजनिक प्रयोगको अनुमति दिइसकेको छ । बिहीबार मोडर्नाको खोपको पहिलो चरणको खोप पनि क्यानडा आइपुगिसकेको छ ।

५. साउदी अरेबिया

अरब मुलुकहरुमा कोरोनाबाट सबैभन्दा प्रभावित बनेको साउदी अरेबियाले डिसेम्बर १७ देखि मुलुकमा कोरोना खोप कार्यक्रम सुरु गरेको छ ।

६. इजरायल

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले डिसेम्बर १९ मा कोरोनाविरुद्धको खोप लगाउँदै मुलुकमा कोरोना खोप कार्यक्रम सुरु भएको घोषणा गरेका थिए । इजरायलले फाइजरको कोरोना खोपलाई सार्वजनिक प्रयोगको अनुमति दिएको हो ।

७. कतार

कतारले फाइजर र बायोएनटेकले विकास गरेको कोरोना खोपको पहिलो चरणको आपूर्ति भएसँगै कतारले डिसेम्बर २२ बाट कोरोना खोप कार्यक्रम सुरु भएको हो । कतारले मोडर्ना र अक्सफोर्ड तथा एक्स्ट्राजेनेकाले विकास गरेको कोरोना खोप खरिदको लागि पनि सम्झौता गरिसकेको छ ।

८. मेक्सिको

मेक्सिकोले बिहीबारबाट कोरोना खोप कार्यक्रम सुरु गरेको छ । मेक्सिकोले सबैभन्दा पहिला नर्सहरुलाई कोरोना खोप दिने कार्यतालिका बनाएको छ । मेक्सिकोले फाइजरको तीन हजार डोज खोप मुलुकमा आइपुगेसँगै खोप कार्यक्रम सुरु गरेको हो ।

९. सर्बिया

सर्बियाले पनि बिहीबारबाट मुलुकमा कोरोना खोप कार्यक्रम सुरु गरेको छ । प्रधानमन्त्री एना ब्रानबिकले फाइजरको कोरोना खोप लिँदै कोरोना खोप कार्यक्रमको सुरुआत गरेका हुन् ।

१०. कुबेत

कुबेतले पनि बिहीबारबाट कोरोना खोप कार्यक्रम सुरु गरेको छ । कुबेतले फाइजरले विकास गरेको एक लाख ५० हजार डोज कोरोना खोप पाइसकेको छ ।

११. चिली

चिली ल्याटिन अमेरिकामा कोरोना खोप कार्यक्रम सुरु गर्ने मेक्सिकोपछि दोस्रो मुलुक बनेको छ । बिहीबारबाट चिलीमा कोरोना खोप कार्यक्रम सुरु भएको हो । बिहीबार राष्ट्रपतिको उपस्थितिमा नर्सलाई कोरोना खोप लगाउँदै चिलीमा खोप कार्यक्रम सुरु गरिएको हो ।

१२. रुस

रुसले गत सेप्टेम्बरदेखि आफ्ना नागरिकहरुलाई कोरोना खोप दिइँदै आएको बताएको छ । रुसी कम्पनीले विकास गरेको स्पुतनिक भी खोप आफ्ना नागरिकहरुलाई दिइँदै आएको रुसले बताएको छ । गत अगष्ट १३ मा राष्ट्रपति भ्लादिमिर पुटिनले स्पुतनिक भीलाई कोरोना खोपको अनुमति दिएका थिए । यद्यपि त्यतिबेला यो खोपको तेस्रो चरणको परीक्षण सकिएको थिएन । यो खोप संक्रमण नियन्त्रणको लागि ९२ प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ ।

१३. कोस्टारिका

कोस्टारिकामा पनि बिहीबारदेखि कोरोनाविरुद्धको खोप कार्यक्रम सुरु भएको छ । कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडोले खोप कार्यक्रमको सहयोगमा यो महामारीको अन्त्य हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment