Comments Add Comment

कमला-कञ्चनरुप सडक चार लेनको बनाउने ठेक्का चिनियाँ कम्पनीलाई

११ पुस,काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तरगत धनुषाको कमलादेखि सप्तरीको कञ्चनरुपसम्मको सडक चार लेनमा विस्तारको लागि ठेक्का लागेको छ । सडक विभागको एडीबी निर्देशनालयका अनुसार करिब १५ अर्बमा काम सक्ने गरी चिनियाँ कम्पनीले ठेक्का पाएको हो ।

चाइना रेल्वे नं. २ इन्जिनियरिङ ग्रुप कम्पनीले यो सडक विस्तारका दुबै खण्डमा ठेक्का पाएको निर्देशनालयका प्रमुख दीपक श्रेष्ठले बताए । करिब ८० किलोमिटरको यो सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का आह्वान गरिएको थियो ।

अनुमानित लागत भन्दा २४ प्रतिशत कम रकममा चिनियाँ कम्पनीले ठेक्का हात पारेको हो । ठेकदार कार्याक्षेत्रमा परिचालित भइसकेको र निर्माण सर्भे गर्ने, क्रसर राख्ने लगायतका काम गरिरहेको प्रमुख श्रेष्ठले बताए । त्यसका लागि २ दर्जन चिनियाँ प्राविधिक फिल्डमा पुगिसकेका छन् ।

यो परियोजनामा एसीयाली विकास बैंक (एडीबी)ले सहुलियत ब्याजदरको ऋण लगानी गरेको छ ।
कस्तो बन्छ सडक ?

विस्तार हुने कमला-कञ्चनरुप सडकको बीचमा ‘मेडियन’ (डिभाइडर संरचना) हुनेछ ।  दुईतर्फ ७-७ मिटरको दुई-दुई लेन हुनेछन् । एउटा लेन ३.५ मिटरको हुनेछ ।

‘मिडियन’ मा गि्रनरी बेल्ट तयार गरेर रुख विरुवा र फूल रोपिनेछ । दायाँ-बायाँ नै साढे २ मिटरको सोल्जर (अतिरिक्त पिच) गर्ने योजना छ । यो खण्डका मुख्य वस्ती र शहरी क्षेत्रमा दुईतर्फ सर्भिस लेन बनाइनेछ । यसअनुसार वस्ती क्षेत्रमा सडक ६ लेनको हुनेछ ।

यो खण्ड विस्तार गर्न पोथ्राबाहेक ४६ सय वटा रुख काट्नुपर्छ । त्यसका लागि सरकारबाट अनुमति पाइसकेको श्रेष्ठले बताए ।

‘वन मन्त्रालयले रुख कटान अनुमति दिइसक्यो, नेपाल विद्युत प्राधिकरणले पनि पोल सार्ने काम गरिरहेको छ,’ उनले भने,’त्यसमा हामी पनि सहयोग गर्छौं ।’

विस्तारका थुप्रै योजना

यो सडक नेपालको पर्यटकीय चहलपहल धेरै हुनेमध्ये एक हो । पूर्वी पहाड तथा मध्य तराई घुम्न जाने पर्यटकका लागि मात्रै होइन, त्यस क्षेत्रका स्थानीयका लागि पनि काठमाडौंसहित पश्चिमतर्फ आवातजावत गर्ने मुख्य मार्ग हो ।

निजगढसम्म काठमाडौंबाट द्रुतमार्गले जोडिँदैछ । वीरगञ्जबाट पथलैयासम्म ६ लेनमा सडक विस्तार भइसकेको छ । बाराको पथलैयाबाट महोत्तरीको ढल्केबर (कमला)सम्म सडक विस्तार भयो भने निजगढ पुग्न झन सहज हुनेछ ।

अहिले यसबाहेक भिट्टामोड (जनकपुर)-ढल्केबर सडक पनि ६ लेनमा विस्तार गर्न निर्माणको काम भइरहेको छ । सबै योजनाहरु पुरा हुँदा सो क्षेत्र आधुनिक राजमार्गहरुले घेरिने र त्यसले स्थानीय आर्थिक गतिविधिलाई काठमाडौंसँग जोड्न सहज हुने विभागको भनाइ छ ।

कमलाबाट पथलैयासम्मसडक विस्तारको लागि विश्व बैंकले लगानी गर्न चासो दिएको  छ । पथलैया-हेटौंडा-नारायणगढ सडक विस्तार गर्न एडीबी सकारात्मक रहेको सडक विभागका प्रवक्ता शिवहरि सापकोटा बताउँछन् । कञ्चनरुपदेखि झापाको काँकडभिट्टासम्माको सडक चार लेनको बनाउने योजना अन्तरगत डीपीआर बनाउने काम भइरहेको छ ।

योजना अनुरुप काम भयो भने केही वर्षपछि वीरगञ्जबाट कञ्चनरुपसम्म कम्तिमा ४ लेनको सडक बन्नेछ । यसले तराईसँग राजधानीको कनेक्टिभिटी सु”ने र आवागमन सहज हुने विभागको भनाइ छ ।

अहिले मुख्य राजमार्ग फराकिलो पार्ने योजनाअनुसार धमाधम बनेका छन् । विश्व बैंकको सहयोगमा मुग्लिन-नारायणगढ सडक डेडिकेटेड दुई लेनमा विस्तार गरिएको छ भने मुग्लिन-नागढुंगा सडक पनि डेडिकेटेड दुई लेन विस्तार गर्न ठेक्का लगाउने तयारी गरिँदैछ ।

यस्तै एसियाली विकास बैंक (एडीबी)को सहयोगमा बुटवल-नारायणगढ सडकखण्ड ४ लेनको बनाउन सुरु गरिसकेको छ । मुग्लिन पोखरा सडक ४ लेनको बनाउने गरी विभाजित तीन वटा खण्डमध्ये मध्य खण्डको ठेक्का लागिसकेको छ । एउटा खण्डको डीपीआर बन्दैछ भने एउटा खण्डको बोलपत्र मूल्यांकन चलिरहेको छ । मुग्लिन पोखरा खण्डको विस्तारमा पनि एडीबीले नै लगानी गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment