Comments Add Comment

उपत्यकामा ५० हजार कार्यकर्ता उतार्ने प्रचण्ड-माधव समूहको दाबी

जुलुस निकाल्न ८ वटा केन्द्र तोकियो

१२ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूह १४ गते देशभर गरिने प्रदर्शनको तयारीमा जुटेको छ । १४ गते काठमाडौं उपत्यकामा ५० हजार मानिस उतार्ने सो प्रचण्ड-नेपाल पक्षको योजना छ ।

‘भ्यालीमा ५० हजार जनालाई प्रदर्शनमा उतार्ने लक्ष्य छ । त्यहीअनुसार विभिन्न बैठक, भेला, प्रशिक्षण लगायतका काम भइरहेका छन्,’ युवा संघ संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले अनलाइनखबरसँग भने ।

युवाहरुले १३ गते पनि काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्दैछन् । १३ गतेको प्रदर्शन साँझ ५ बजे हुने छ ।

यी स्थानबाट निस्किँदैछन् जुलुस

१४ गते ११ बजे काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुुस सुरु हुने छ । टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर र नक्शालबाट जुलुस सुरु हुने छ । यसैगरी रत्नपार्कबाट मजदुर, त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थी र प्रदर्शनीमार्गबाट युवाहरुको जुलुस निकालिने छ । ती जुलुसहरु भृकुटीमण्डपमा जम्मा हुने र नेताहरुले सम्बोधन गर्ने युवा संघ अध्यक्ष सापकोटाले जानकारी दिए ।

सरकारले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रचण्ड-माधव समूहले १४ गते देशव्यापी आन्दोलन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । आन्दोलन परिचालनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।

प्रदर्शनलाई सशक्त र व्यवस्थित बनाउने सन्दर्भमा शनिबार युवाहरुको र उपत्यका विशेष प्रदेश कमिटीको बैठक बसेको थियो । १४ गतेको प्रदर्शनलाई लक्षित गरेर आइतबार विद्यार्थीहरुको बैठक बस्न लागेको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

बस्नेतले भने, ‘पार्टीको अहिले सम्पूर्ण ध्यान संसदको असंवैधानिक विघटनविरुद्ध १४ गते गर्ने प्रदर्शनको तयारीमा केन्द्रित छ । त्यसका लागि विभिन्न जनवर्गीय संगठन, मोर्चा, सम्पर्क मञ्च, प्रदेश कमिटी, जिल्ला कमिटीलगायतको बैठक बस्दै आएको छ । त्यहीअनुसार आज हामी विद्यार्थीहरु बस्दै छौं ।’

कार्की ब्यांक्वेटमा दुई दिनसम्म बसेको नेकपा प्रचण्ड-माधव समूहको केन्द्रीय समितिको बैठकले गरेको निर्णयअनुसार आज पुस १२ गते ७७ जिल्लाहरूको भेला तथा बैठक हुँदैछ । १४ गते ७७ वटै जिल्लामा आन्दोलन गर्ने, २० गतेभित्र नगर/गाउँपालिकासम्म बैठक, भेला गर्ने र २५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने निर्णय सो समूहले गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड-माधव दुवै समूहले आधिकारिक नेकपा आफूहरु रहेको दाबी गर्दै आएका छन् । संसद विघटनविरुद्ध परेका रिटहरुमा सर्वोच्चमा बहस चलिरहेको बेला नेकपाको आधिकारिकता विवाद टुंग्याउने तयारीमा निर्वाचन आयोग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment