Comments Add Comment

करोड क्लबमा राजनराजका रेकर्ड नै रेकर्ड

सार्वजनिक भएको १८ दिनमा संगीतकार राजनराज सिवाकोटीले तयार पारेको ‘फुलबुट्टे सारी’ बोलको गीतले १ करोड भ्यूज पार गर्यो । यसअघि यति छोटो समयमै १ करोड भ्यूज गायक प्रकाश सपुतको ‘गलबन्दी’ले पाएको थियो । यसको अर्थ, राजनराज र प्रकाशको गीतले एउटै गतीमा करोड भ्यूज पाउन सफल भए ।

नेपाली गीत–संगीत पछिल्लो केही बर्षयता युट्युबको भ्यूज ट्रेन्डिङको दौडमा छ । गीतको सफलता र असफलताको मापन नैै युट्युवलाई आधार मानेर गर्न थालिएको छ ।

कुनै समय एक लाख भ्यूज जाने गीतलाई पनि चलेको भनेर मान्नुपर्ने अवस्था थियो । तर, अहिले एक करोड भ्यूज सामान्य हुन थालिसकेको छ ।

गायक, संगीतकार तथा गीतकार राजनराज सिवाकोटीका दर्जन बढी गीतले एक करोड भ्यूज पाएका छन् । तर, योसँगै उनीसँग केही रेकर्ड पनि छन्, जसलाई उछिन्न अरु संगीतकारले राम्रै मिहिनेत गर्नुपर्ने हुन्छ ।

युट्युवमा सबैभन्दा पहिले एक करोड भ्यूज पाउने चलचित्रको गीत हो, ‘सुर्के थैली खै’ । पाँच वर्ष पहिले सार्वजनिक ‘सुर्के थैली खै’ बोलको गीतलाई राजनराजले तयार पारेका थिए । गीतमा राजनराजकै स्वर, शब्द तथा संगीत छ । चलचित्र ‘वडा नं. ६’को यो गीतले हालसम्म ४ करोड १२ लाख बढी भ्यूज पाइसकेको छ ।

युट्युबमा सर्वाधिक हेरिएको नेपाली गीतको रेकर्ड पनि राजनराजकै नाममा छ । चलचित्र ‘दुई रुपैयाँ’ मा समावेश ‘कुटुमा कुटु’ बोलको गीत युट्युवमा सर्वाधिक हेरिएको गीतमा पर्छ । राजनराजको शब्द तथा संगीत तथा राजनराज, मेलिना राई र राजन ईसानको स्वर रहेको गीतलाई हालसम्म १४ करोड १० लाख बढीपटक हेरिएको छ ।

राजनराजका युट्युवमा एक दर्जन बढी गीतले करोड भ्यूज पार गरेका छन् । यसअर्थमा राजनराज युट्युबमा करोड बढी भ्यूज पाउने गीतका धनी सर्जक हुन् । तर उनी युट्युब भ्यूजलाई आधार मानेर कहिल्यै सिर्जनाहरु नगर्ने बताउँछन् ।

अनलाइनखबरसँग कुरा गर्दै सिवाकोटीले भने–‘मैले कहिलेपनि युट्युबमा कति भ्यूज जाला ? कसरी जाला ? भनेर काम गरेको छैन । जहिले पनि राम्रो श्रृजना नै गर्नुपर्छ भन्नेमा मेरो ध्यान जान्छ ।’ सिवाकोटी युट्युवमा भ्यूज जाँदैमा गीत सफल हुन्छ भन्ने कुरामा विश्वास समेत नराख्ने बताउँछन् ।

उनी भन्छन्–‘युटुबको भ्यूजलाई सफलताको मापन एक हिसाबले त मान्न सकिन्छ । तर भ्यूज गएकै आधारमा मात्रै सफल भयो भन्ने कुरामा म विश्वास राख्दिनँ ।’ कहिलेकाँही भ्यूज गएको गीत पनि दर्शक तथा स्रोताले मन नपराएको हुनसक्छ भने कतिपय राम्रा गीतहरुको भ्यूज नगएको पनि पाउँछौं ।’

समय र धैर्यतालाई महत्व दिएर गीत सिर्जना गर्ने हो भने दर्शक तथा श्रोताले गीत मन पराउने सिवाकोटीको कथन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment