Comments Add Comment

एक वर्षदेखि नाकामा चीनको अर्घेलो, अर्बौंका सामान अलपत्र

व्यवसायीको आरोपः चीनले अघोषित नाकाबन्दी गर्यो

१० पुस, काठमाडौं । गत वर्षको जाडोमा बिक्रीका लागि सिल्क ट्रान्सपोर्टले ज्याकेट, जुत्ता, खाद्यान्न लगायतका सामानले भरिएको ३० कन्टेनर सामान चीनबाट नेपाल ल्याउँदै थियो । नेपाली व्यवसायीले खरिद गरेका ती सामान एक वर्ष बित्दा पनि देश भित्रिन सकेका छैनन्  ।

चिनियाँ बजारदेखि काठमाडौंसम्म सामान ढुवानीको जिम्मा लिएको ट्रान्सपोर्टका अनुसार सामान्य अवस्था भए करिब २५ दिनमै ती वस्तु नेपाल आइपुग्थे । तर, कोरोनालाई देखाएर चीनले नाका ठप्प बनाएपछि नेपाली व्यवसायीले ठूलो नोक्सानी व्यहोर्नु परेको छ ।

‘खाद्यान्न र चकलेटहरु त अब कुहिए होलान्, लत्ता कपडा र अन्य सामान आइपुग्छ कि भन्ने झिनो आस बाँकी छ,’ सिल्क ट्रान्सपोर्टका चिफ अपेरेटिङ अफिसर कल्याण सिलवालले अनलाइनखबरसँग भने ।

एक अर्ब रुपैयाँ बराबरका वस्तुहरु रोकिँदा एक वर्षदेखि चिनियाँ नाकामा रोकिएको उनी बताउँछन् । व्यवसायीले सम्वन्धित निकायमा गुनासो गर्दै आएपनि हालसम्म कुनै सुनवाई नभएको उनको भनाइ छ ।

‘मुखले नभने पनि चीनले कोरोनाको बहानामा अघोषित नाकाबन्दी नै गरिरहेको छ,’ सिलवालले भने  ।

व्यवसायी अमर बानियाँ र कुमार पौडेल लगायतको समूहले गत माघमा चीनबाट १३० कन्टेनर स्याउ खरिद गरेका थिए । झण्डै ७० करोड बराबरको ४० हजार टन स्याउ बोकेको ती कन्टेनरहरु काठमाडौं आउन रसुवागढी नाका भएर हिँडे । तर चिनीयाँ नयाँ वर्षका कारण माघ १५ गतेदेखि भन्सार बन्द भएपछि कन्टेनरहरु बाटोमै रोकिए ।

नयाँ वर्ष सकिएला र सामान छुट्लान् भन्दाभन्दै बाटोमा हिउँ पर्‍यो । यसैबीच चीनमा कोरोना भाईरस देखियो । त्यसपछि नेपाल जोड्ने चीनतर्फका दुई नाका अनिश्चित कालसम्मका लागि बन्द भए । व्यवसायी पौडेलका अनुसार ७० करोड रुपैयाँको स्याउ बाटोमै कुहियो । २५ जना व्यापारीले १३० गाडीमा लोड गरेर नेपालतर्फ ल्याउँदै गरेको स्याउ कुहिएुर फ्याँकिएको उनले  बताए ।

‘स्याउ रोकिएपछि सरकारदेखि सबै निकायलाई गुहार्‍यौँ, कतैबाट केही पहल भएन । अन्ततः सबै स्याउ कुहिएर नाश भयो,’ पौडेलले भने ।

चिनियाँ अवरोधका १२ महिना

पछिल्लो एक वर्षमा नेपालसँगको व्यापारमा चिनले कडा व्यवहार देखाइरहेको छ । नेपाल-चीन नाकाहरु धेरैजसो चिनीया पक्षकै कारण यो वर्ष अवरुद्ध भएका छन् ।

नयाँ वर्ष २०२० मनाउन भन्दै चीनले माघ १५ गते केही दिनका लागि आफ्नोतर्फको नाका बन्द गरेको थियो । त्यसलगत्तै कोरोना महामारी देखिएपछि चीनले नाका बन्द गर्ने निर्णय लम्ब्यायो । चीन हुँदै यूरोप र विश्वभर कोरोना फैलिएपछि नेपाल सरकारले पनि चैत ९ गते नेपाल-चीन नाका बन्द गर्ने निर्णय गर्‍यो । तर बाटोमा कन्टेनर अडि्कएको भन्दै व्यवसायीले नाका खोल्न आग्रह गरेपछि सरकारले चैत १२ गते मालवस्तु आयातका लागि नाका खोल्ने निर्णय गर्‍यो ।

नेपालले नाका खोल्ने निर्णय गरे पनि चीनको अर्घेलो जारी रह्यो । अत्यावश्यक वस्तुको ढुवानी र रोकिएको कन्टेनर नेपाल पठाउन चीन सहमत भए पनि झन्झटिलो सर्तहरु उसले तेस्र्यायो । त्यसैले तत्काल नाका सुचारु हुन सकेन । चैत २७ गते स्वास्थ्य सामग्री भित्र्याउँदै तातोपानी नाका सञ्चालनमा आए पनि व्यवसायीक रुपमा यो नाका खुल्न समय लाग्यो । यता प्रक्रिया र चिनीयाँ शर्तकै कारण नखुलेको रसुवागढी नाका असार २२ गतेबाट दैनिक १२० टन सामान नेपाल ल्याउनेगरी एकतर्फी रुपमा सञ्चालनमा आयो ।

दुई हजार कन्टेनर अलपत्र परेको नाकामा दैनिक चार वटा कन्टेनर मात्रै भन्सार जाँच पास हुँदा नयाँ व्यवसायिक कारोबार हुन सकेन । यसैबीच, पहिरोका कारण असार २४ पछि नेपालको आग्रहमा तातोपानी नाका एक महिना बन्द हुन पुग्यो । नेपालले पहिरो पन्छाएर नाका खाल्न आग्रह गरे पनि हिमताल फुट्ने जोखिम देखाएर भदौ तेस्रो सातादेखि तातोपानी नाका खुलेन । यता नेपालबाट सामान ढुवानीका लागि खटिएका श्रमिकमा कोरोना देखिएपछि भदौ १७ गतेदेखि चिनीयाँ पक्षले रसुवागढी नाका पनि चीनले बन्द गरिदियो ।

त्यसयता चीनले नेपालमा कोरोना फैलिएको भन्दै नाकामा कसिलो सर्त राख्ने गरेको छ । चीनले असोज १९ गते खुलेको तातोपानी नाका २० गते नै बन्द गरिदियो । त्यसपछि कात्तिक १३ गतेबाट तातोपानी नाका चीनको सामान ल्याउनका लागि मात्रै खुल्ला गरिएको छ । सामान ल्याउन चिनियाँ पक्षले लगाएको शर्तका कारण दैनिक एक दर्जनभन्दा कम संख्यामा मात्रै कन्टेनरले प्रवेश पाउँदा व्यवसायीहरु हैरान छन् । उता रसुवागढी नाकाबाट आयातका कडा सर्त कायमै छ भने निर्यात शून्य छ ।

नाकाको अवस्था

हाल रसुगढी नाकाबाट दैनिक पाँचवटा चाइनिज कन्टेनरमा सामान आईरहेको रसुवा भन्सार कार्यालयले जनाएको छ । चिनियाँ कन्टेनरमा आएका सामान नेपाली पक्षले तयार पारेको आइसोलेसन यार्डमा आउने र त्यसलाई नेपाली ट्रकमा राखेर भन्सार पास गरिने गरिएको रसुवा भन्सार प्रमुख रामप्रसाद रेग्मीले बताए । नगण्य मात्रामा आयातका कारण राजस्व पनि किनै कम उठ्ने गरेको उनको भनाइ छ ।

‘राजस्व कहिले एकै दिन एक करोड पनि उठ्छ, कहिलेकाहीँ शून्य पनि हुन्छ,’ रेग्मीले भने ।

तातोपानी नाकाको अवस्था भने विगतको भन्दा सुधारउन्मुख रहेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । यसअघि दैनिक ५/६ वटा मात्रै कन्टेनर आउने गरेकोमा अहिले त्यो बढेर ८ वटा पुगेको भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए । नयाँ वर्षदेखि दैनिक २० वटासम्म कन्टेनर पठाउने आश्वासन प्राप्त भएको उनले जानकारी दिए ।

नेपाली चालक गाडी लिएर खासा पुग्ने अवस्था नरहेसम्म चीनसँगको व्यापार सहजीकरण नहुने खत्रीको भनाइ छ । मंसिरमा ८ करोड राजश्व संकलन गरेको कार्यालयले पुसमा १६ करोड राजश्व संकलन हुने अनुमान गरेको छ ।

स्थलगतबाट निर्यात शून्य

अघिल्लो आर्थिक वर्षमा नेपालले चीनतर्फ २ अर्ब १० करोड ९७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो । यस्तै गत आर्थिक वर्षमा नेपालबाट एक अर्ब १९ करोड ११ लाख रुपैयाँको वस्तु चीन निर्यात भएको थियो ।

चालु आवको चार महिनामा भने नेपालबाट चीनतर्फको निर्यात जम्मा ७१ करोडको मात्रै छ । यो मात्राको निर्यातमा रसुवागढी र तातोपानी स्थलमार्गको हिस्सा शून्य भएको भन्सार विभागले जनाएको छ । कोभिडका कारण चीनले स्थलमार्गबाट सामान नल्याउने नीति लिएको छ ।

चीनको अस्पष्ट नीति

नेपालसँगको व्यापार सहजीकरणकालागि नेपाली पक्षले गरेको आग्रहमा चिनीयाहरुले कोभिडलाई नै मूख्य समस्याको रुपमा औंल्याउने गरेको सरकारी अधिकारीहरु बताउँछन् ।

‘नेपालतर्फको कारोनालाई कारण देखाएर चिनियाँहरु हामीसँग भेट्नसमेत अस्वीकार गर्छन्, यस्तो अवस्थामा व्यापारमा कसरी सहजीकरण हुन्छ ?’ भन्सारका एक अधिकारीले भने । व्यापार सहजीकरणका लागि भन्सार र वाणिज्य तहबाट पहलहरु भए पनि चिनियाँहरु सकारात्मक नभएको वाणिज्य मन्त्रालयका अधिकारीहरु बताउँछन् । सन् २०२० को जनवरीदेखि अडि्कएका अझै दुई सयभन्दा धेरै कन्टेनर चीनतर्फकै भूभागमा रहेको व्यवसायीहरुले बताएका छन् ।

कोरोनाको बाहनामा चीनले नेपालसंगको व्यापारमा दोहोरो चरित्र देखाएको भन्दै नेपाल चेम्बर अफ कमर्स आपत्ति जनाएको छ । चीनर्फको नाका प्रभावकारी नहुँदा नेपाली व्यवसायीले निकै दुःख पाएको भन्दै चेम्बरले व्यापार सहजीकरण गर्न चिनलाई आग्रह पनि गरेको छ ।

‘पोहोर साल जाडोका लागि व्यवसायीले किनेको ज्याकेट अझै अझै नाकामै थन्किएको छ, यस्तो तरिकाबाट कसरी दुई देशबीचको व्यापार चल्छ ?’ चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले प्रश्न गरे, ‘न नाका पुरै खुल्छ  न त पुरै बन्द छ ।’

करोडौं मूल्य बराबरको सामानहरु चीनतर्फ नाकामा कुहिन लाग्दा व्यवसायीहरु ब्याजको मारमा परेको अध्यक्ष श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment