१२ पुस, विराटनगर । प्रदेश १ का निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री र भौतिक पूर्वाधार राज्यमन्त्रीका कारण प्रदेश वित्तीय संकटको अवस्थामा पुगेको बताएका छन् ।
शनिबार पदमुक्त भएका उनले मुख्यमन्त्री शेरधन राई र भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले मिलेर स्रोत सुनिश्चतता नगरेको शीर्षकमा बजेट खर्च गर्दा वित्तीय संकटको अवस्थामा पुगेको बताएका हुन् ।
उनका अनुसार राज्यमन्त्री गुरुङको नियुक्ति अघिसम्म प्रदेशको वित्तीय सन्तुलन कायम थियो । ‘मुख्यमन्त्री शेरधन राईले नेतृत्व गरेको भौतिक पूर्वाधार मन्त्रालयमा राज्यमन्त्रीको आगमनपछि बजेट सुशासनको अवस्था सकियो, स्रोत सुनिश्चितता नगरी खर्च गर्दा बजेटमा असन्तुलन सुरुवात भएर अहिलको अवस्थामा आयो,’ उनले भने ।
उनका अनुसार अझै सन्तुलन कायम गर्नसक्ने ठाउँ छ । तर मुख्यमन्त्रीमा सन्तुलन कायम गर्ने इच्छाशक्ति नभएको आङ्बोले बताए ।
गत वर्ष अर्थ मन्त्रालयले स्रोत सुनिश्चिता नगरेको पौने ४ अर्ब रुपैयाँ खर्च भएको उनको भनाइ छ । गैर बजेटरी खर्च पनि एक अर्ब हाराहारी भएको बताउँदै उनले भने ‘विभागीय मन्त्री मुख्यमन्त्रीज्यू नै हो, उहाँका विश्वासपात्रको नियुक्तिपछि असन्तुलन सुरु भयो ।’
वित्तीय सन्तुलन कायम गर्ने प्रयास गर्दा मुख्यमन्त्रीबाटै असहयोग भएको उनले बताए । ‘चालु आर्थिक वर्षका लागि बजेटको तयारी गर्दै गर्दा उपसचिव हरिहर पौडेलको सरुवा भयो’ उनले भने ‘उपसचिवको सरुवा भएपछि अधिकृतको भरमा बजेट बनाउन प¥यो ।’ आङ्बोका अनुसार पौडेल प्रदेशमा बजेट बनाउने एकमात्र अनुभवी कर्मचारी थिए ।
आफू नेतृत्वमा हुँदा सन्तुलन कायम गर्न निरन्तर प्रयास गरेको बताउँदै निवर्तमान मन्त्री आङ्बोले स्रोत सुनिश्चिता गरेर मात्र बजेट खर्च गरे अझै वित्तीय सन्तुलन कायम गर्न सकिने बताए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4